|
फाइल फोटो

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बंगुरपालन गर्न निषेध गरेको छ। नगरसभाले नगर क्षेत्रमा बंगुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो।

नगरपालिकाले हालै सूचना जारी गरेर आगामी मंसिर ५ गतेभित्र सबै बंगुर फार्म हटाउन निर्देशन समेत दिएको छ। फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएको, प्राकृतिक सौन्दर्यतामा असर पुर्‍याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको  सूचनामा जनाइएको छ।

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बंगुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बंगुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेका छन्। मंसिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उनले बताए।

चाँगुनारायणका विभिन्न ठाउँमा व्यावसायिकरूपमा बंगुर फार्म सञ्चालनमा छन्। सरकारको नियमानुसार पनि यस्ता बंगुर फार्म सम्बन्धित स्थानीय तहसँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ। चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.