|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले गत कात्तिक १ मा धनकुटा जिल्ला अस्पताललाई १०० शय्याको स्तरोन्नति गरिएको भनेर उद्धाटन गरे। उक्त अवसरमा उनले १५ शय्या रहेको अस्पताललाई १०० शय्याको बनाएर विस्तारै शिक्षण अस्पतालको रुपमा विकास गरिने बताए।

प्रदेश सरकारको लगानीमा स्तरोन्नति गरिएको भनिएको छ। १०० शय्याको अस्पताल उद्धाटन गरिए पनि सोही बमोजिम सेवा दिने अवस्था नरहेको अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले बताउँछन्। उनका अनुसार अस्पताललाई १०० शय्याको बनाउन न त विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै बनाइएको छ न अन्य कुनै काम नै शुरु गरिएको छ। १०० शय्या अस्पताल बनाउन आवश्यक जग्गाको व्यवस्थापन नै भएको छैन।

हाल अस्पतालको नाममा १६ रोपनी जग्गा रहेको र १०० शय्याको अस्पताल चलाउन कम्तीका ५० रोपनी जग्गा चाहिने अस्पतालका निमित्त प्रमुख डा. विश्वकर्माले बताए। उनले धनकुटा अस्पताललाई स्तरोन्नति गर्न डिपिआरका लागि १५ लाख र भवन निर्माणमा १ करोड रुपैयाँ बजेट विनियोजन भए पनि जग्गा नभएकाले डिपिआरको काम नै अघि नबढेको बताए

धनकुटा अस्पतालसँगै रहेका कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको जग्गा अस्पतालले लिएर काम गर्ने कि भन्ने कुरा भए पनि यकिन भने नभएको उनको भनाइ छ। १५ शय्याको अनुमति भए पनि जिल्ला अस्पताललाई ४० शय्यासम्म चलिरहेको अस्पतालले जनाएको छ। धनकुटा अस्पताललाई १०० शय्याको सञ्चालन गर्न हाल रहेको पूर्वाधारले मापदण्ड अनुसार नसकिने अस्पतालका निमित्त प्रमुख डा. विश्वकर्मा बताउँछन।

सरकारी मापदण्ड अनुसार १०० शय्याको अस्पताल सञ्चालन गर्न विभिन्न ८ वटा विभाग सञ्चालन गर्नुपर्ने हुन्छ। १०० शय्याको अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाड रोग, नाक कान घाँटी रोग विशेषज्ञको आवश्यकता हुन्छ। तर, धनकुटा अस्पताल दुई वर्षदेखि नै निमित्तको भरमा सञ्चालन भइरहेको छ। नवौँ वा दशौँ तहको मेडिकल सुपरिटेण्डेनको दरबन्दी रहे पनि हाल आठौँ तहको भरमा सञ्चालन भइरहेको हो।

अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने चर्चा २०७२ सालदेखि नै चल्दै आएको हो। अहिले पनि कुनै पूर्वाधारविना नै मुख्यमन्त्री आचार्यले १०० शय्याकै उद्घाटन गरेका हुन्। धनकुटा अस्पताल थप स्तरोन्नति हुँदा पूर्वी पहाडिका धनकुटा सहित तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाबासीलाई निकै सहज हुने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.