|
REUTERS

काठमाडौं : कोलम्बियाको सबैभन्दा कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख पक्राउ परेका छन्।​ ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो।​

कोलम्बियाले ओटोनियल भनिने डेरो एन्टोनियो उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै भने, ‘हाम्रो देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता हो।’

ओटोनियल पानामाको सिमाना नजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन्। गिरफ्तारीको बारेमा विस्तृत विवरण आउन बाँकी रहे पनि घटनामा एक प्रहरी मारिएको राष्ट्रपतिले बताएका छन्।

कोलम्बियाको सशस्त्र सुरक्षा निकायले जारी गरेको एउटा तस्बिरमा हतकडी लगाएका ओटोनियललाई सैनिकहरूले सुरक्षा दिएको देखिन्छ।

५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्।

दश वर्षअघि उनको दाइ नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीबाट मारिएपछि ओटोनियल गल्फ क्लान नामक समूहको प्रमुख बनेका थिए।

कोलम्बियाका सुरक्षा निकायले सो गिरोहलाई देशको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन बताएको थियो भने अमेरिकी निकायले यसलाई सशस्त्र रे अत्यन्त हिंसात्मक समूहको रूपमा हेरेका थिए।

कोलम्बियाको धेरै प्रान्तहरूमा सङ्गठन र व्यापक अन्तर्राष्ट्रिय सम्बन्ध रहेको सो गिरोह लागू औषध र मानिसहरूको तस्करी, अवैध सुन उत्खनन र पैसा असुलीमा संलग्न छ।

गल्फ क्लानमा लगभग १,८०० सशस्त्र सदस्यहरू रहेको बीबीसीले उल्लेख गरेकाे छ। यसका सदस्यहरू आर्जेन्टिना, ब्रजिल, होन्डुरस, पेरु र स्पेनजस्ता टाढा रहेका देशहरूमा गिरफ्तार भएका छन्।

सो गिरोहले कोलम्बियाबाट अमेरिका र रुससम्म लागुऔषध तस्करीको लागि प्रयोग गरिने मार्गहरू नियन्त्रण गर्ने बताइन्छ।​ ओटोनियललाई अमेरिका कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोप लगाइने बताइएको छ।

सन् २००९ मा अमेरिकामा उनीलाई आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकाले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चलेर अन्ततः न्यूयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.