|
कचनकवल– ६ स्थित बनियानी चोक।

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकाका स्थानीयवासीले ट्राफिक प्रहरीको माग गरेका छन्।

भारतीय सीमा नाकासँग जोडिएको कचनकवलमा चालकको लापरबाहीले दुर्घटना बढेको भन्दै स्थानीयवासीले उक्त क्षेत्रमा ट्राफिक प्रहरीको माग गरेका हुन्। 

कचनकवल– ६ स्थित बनियानी चोकमा ट्राफिक प्रहरी बिट राख्नुपर्ने माग गर्दै सय जनाभन्दा बढी स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेका छन्। 

गाउँपालिकाको मुख्य सडकभित्र दैनिक अनधिकृत सवारीसाधन सञ्चालनका कारण दुर्घटना बढ्नु र जसले मानवीय क्षति समेत हुन पुगेकाले तत्काल ट्राफिक प्रहरी बिट उपलब्ध गराइदिन झापाका प्रहरी प्रशासन प्रमुखसमक्ष माग राखिएको स्थानीय अभियानकर्मी सोम चौलागाईंले जानकारी दिए।  

सवारीसाधन चेकजाँचमाथि कडाइ गर्ने ट्राफिक प्रहरी गाउँतर्फ केन्द्रित नहुँदा चालकको लापरबाही दिनप्रतिदिन बढ्दै गएकाले यहाँका राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज, शिक्षक र व्यवसायीले ट्राफिक प्रहरीको माग गरेको स्थानीय शिक्षक रत्नकुमार बुढाथोकीले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय बनियानीसमेत रहेको यस गाउँपालिकामा हालसम्म ट्राफिक प्रहरी नहुँदा यहाँ भारतीय नम्बर प्लेटका सवारीसाधन, चोरी गाडी, लाइसेन्स नभएका चालकले इँटा बोकेका ट्याक्टर, टिप्पर, अन्य सवारीसाधन चलाइरहेको जनगुनासो समेत बढेको उनले बताए।

यातायातका नियम उल्लङ्घन गर्नेलाई कारबाही दायरमा ल्याउन यहाँ खटाइएका प्रहरी एक्लैको प्रयासले सफल नहुँदा ट्राफिक प्रहरीको आवाज उठाएको बाल सञ्जालका अध्यक्ष मनीष बरालले जानकारी दिए। 

मेची राजमार्गअन्तर्गतको चारआली-केचना सडकखण्ड कालोपत्रे भएपछि यहाँ दैनिक ठूला तथा साना सवारीसाधनको चाप पनि ह्वात्तै बढेको उनको भनाइ छ। 

शनिवार साँझ इँटा बोकेको मे १ त ७९९६ नम्बरको ट्याक्टरले शिशुखोला पुल नजिक पार्किङ गरी राखेको बालकृष्ण दंगालको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्याक्टर चालकको लापरबाहीले दुर्घटना हुँदा सडक नजिकै बसेका स्थानीय भीम दंगाल गम्भीर घाइते भएको र उनको ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.