|

गुल्मी : स्याङजाको कालीगण्डकी गाउँपालिकाले आफ्नै लगानीमा १९ रोपनीमा सयपत्री पुष्पखेती गरी रोजगारीको व्यवस्था गरेको छ। उक्त पुष्पखेती हेर्न दैनिक ३० देखि ५० जना आउने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर ७ बारीचौरमा ५ रोपनी र वडानम्बर ४ बिर्घापुछारमा १४ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए।

बारीचौरमा भर्खरै खुलेको लालीगुराँस होमस्टेलाई फूलैफूलको होमस्टे बनाउन र कृषकलाई पुष्पखेतीको महत्त्व बारे जानकारी गराउन पनि पुष्पखेती गरिएको पौडेलको दाबी छ।

दैनिक ज्यालादारीमा काम गर्नेलाई सोहीअनुसारको ज्याला दिँदा रोजगारी सृजना हुने र कृषिप्रति आकर्षण पनि बढ्ने भएकाले करिब ४ लाख रुपैयाँको लगानीमा पुष्पखेती गरिएको पौडेलले बताए।

पुष्पखेतीसँगै कृषिप्रति कृषकको आकर्षण बढाउन र व्यावसायिक कृषक उत्पादन गर्ने गाउँपालिकाको उद्देश्य रहेको पालिकाले जनाएको छ।

माला बनाएरै बिक्री

गाउँपालिकाले ज्यालादारीमा काम लगाई माला बुनेर बेच्ने गरेको छ। फूलभन्दा मालाको माग बढी भएकाले माला बनाएर बेचिएको पौडेलले बताए। विभिन्न कार्यक्रमका लागि माला किनेर लैजाने गरेको पौडेलले बताए।

माला र फूलको मूल्य अहिले आपसी समझदारीमै हुने गरेको बताउँदै तिहारका लागि मूल्य तोक्ने तयारी भएको पौडेलले दाबी गरे। गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले फूलबाट पनि आम्दानी हुन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्न पुष्पखेती गरिएको बताए।

गाउँमा अझै पनि कृषकहरूलाई फूलबाट आम्दानी गर्न सकिने यो गतिलो उदाहरण भएको थापाको दाबी छ। कृषकलाई व्यावसायिक र आत्मनिर्भर बनाउन गाउँपालिकाले विभिन्न काम गरिरहेको थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.