एमालेमा ओलीको विकल्प छैन, देउवाको दोहोरिने अडान

|

काठमाडौं : यतिबेला सबै नेपाली राजनीति वृत्तका सबै राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पार्टी विभाजनपछि पनि अझै पहिलो शक्ति रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महाधिवेशनको तयारी तीव्र पारेको छ। 

एमालेको शनिबार देशभर वडा अधिवेशन गरिसकेको छ। एमालेले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीको लागि यही ९ गते पालिकास्तरीय अधिवेशन गर्दैछ।

आगामी मंसिर १०-१२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। 

देशभर एकसाथ वडा अधिवेशन भएकाले पार्टीमा उत्साह भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ बताए। सबै ठाउँमा सर्वसम्मत वडा अधिवेशन सम्पन्न भएकाले पार्टी एकताबद्ध भएको सन्देश दिएको उनको भनाइ छ। 

यस्तै, नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९-१३ मा तोकिएको छ। क्रियाशील सदस्यता विवादको कारणले अझै करिब १३ जिल्लामा कांग्रेसले अधिवेशनसमेत गर्न सकेको छैन। 

रसुवा, सप्तरी, बारा, सप्तरीलगायत जिल्लामा क्रियाशील सदस्यता विवाद अझै किनारा लगाउन सकेको छैन।

पछिल्लो समय अधिवेशन बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता छानबिनका लागि पार्टी अध्यक्ष शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मीनेन्द्र रिजाल र कृष्णप्रसाद सिटौलाको एउटा समिति बनेको छ। तर, समितिले पनि तीव्र गतिमा काम गर्न सकेको छैन।  

चितवनमा हुने एमालेको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अध्यक्ष चयन गर्ने लगभग पक्का छ। ९ औँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका माधव नेपालले एमालेबाट ‘विद्रोह’ गरेपछि ओलीको विकल्पमा अर्का नेता देखिएका छैनन्।

यस्तै, सत्तारुढ घटक (माओवादी केन्द्र)ले पनि राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्रता दिइरहेको छ।

राष्ट्रिय सम्मेलनको लागि पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने, टोल भेला ६ कात्तिकसम्म, वडा सम्मेलन १३ कात्तिकमा र स्थानीय तहको सम्मेलन ४ मंसिरमा गर्ने तय गरेको छ। 

माओवादीको राष्ट्रिय सम्मेलन ११-१३ पुस गर्ने तय गरिएको छ। माओवादीमा पनि अध्यक्ष प्रचण्डको विकल्प तत्कालै खोज्ने अवस्था नभएकाले राष्ट्रिय सम्मेलन गर्न लागेको हो। 

‘एमालेमा ओलीको विकल्प छैन’ 

चितवनमा हुने एमालेको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अध्यक्ष चयन गर्ने लगभग पक्का छ। ९ औँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका माधव नेपालले एमालेबाट ‘विद्रोह’ गरेपछि ओलीको विकल्पमा अर्का नेता देखिएका छैनन्।
 
नेपालसँगै झलनाथ खनाल, वामदेव गौतमसमेत पार्टीबाट बाहिरिएपछि ओलीसँग प्रतिस्पर्धा गर्ने अर्को नेता नभएपछि ओली नै सर्वसम्मत अध्यक्षको रुपमा चयन हुने पक्का छ।

अध्यक्षको आकांक्षी रहेका ओली खेमकै महासचिव ईश्वर पोखरेलले पनि एक कार्यकाल ओलीलाई साथ दिने वचन दिइसकेका छन्। 

नेपाललाई पार्टी विभाजनका बेलामा साथ नदिएका तेस्रो धारका नेताहरूले पनि अहिलेसम्म महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिनेबारे मुख खोलेका छैनन्।

तेस्रो धारको तर्फबाट उपाध्यक्ष भीम रावल नै अध्यक्षको दावेदार मानिन्छन्। 

तर, ओलीसँग एकल बहुमत रहेकाले उपाध्यक्ष रावलले प्रतिस्पर्धा गर्ने सम्भावना न्यून देखिन्छ। ओलीले पार्टीमा दशबुँदे सहमति कार्यान्वन नगरेको भन्दै उपाध्यक्ष रावल रुष्ट छन्। 

एमालेले असोज १५-१७ गतेसम्म गरेको विधान महाधिवेशनले ओलीलाई फेरि अध्यक्ष बन्न ‘कम्फर्टेबल’ हुने गरी विधान संशोधन गरेको छ। पार्टीमा ७० वर्षे उमेर हद कायमै राखेको छ। 

यद्यपि, ओलीलाई उमेर हदले फेरि अध्यक्ष बन्न रोक्दैन। ओली यही फागुनमा ७० वर्ष पुग्दैछन्। त्यसैले मंसिरमा हुने महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने बाध्यात्मक अवस्था छ। 

त्यसो त सरकार बहिर्गमन र पार्टी विभाजनपछि ओली व्यस्त भएका छन्। फागुनबाट हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर उनी देश दौडाहामा छन्। 

कांग्रेसको माघमा सर्ने ! 

तोकिएको समयमा महाधिवेशन गर्न नसकेर ४ पटक मिति सारिसकेको कांग्रेसले फेरि सार्ने तयारी गरेका छ।

तोकिएको समय प्रभावित भएपछि माघको पहिलो सातासम्म सार्ने तयारी गरेको कांग्रेस सभापति देउवानिकट केन्द्रीय सदस्य मिन विश्वकर्मा बताउँछन्। 

उनी भन्छन्, ‘महाधिवेशन कार्यतालिकाअनुसार कुनै पनि तहको हुन सकेन। त्यसले गर्दा प्रभावित हुने भयो। मंसिरको ९-१३ सम्म त वडा र पालिकाको मात्रै सकिन्छ। मंसिर मसान्तसम्म प्रदेश सम्मको सकेर माघको दोस्रो तेस्रो सातासम्ममा राष्ट्रिय महाधिवेशन गर्न सकिन्छ कि भन्ने छ।’

क्रियाशील सदस्यताको विवाद भएकै कारणले तोकिएको समयमा महाधिवेशन हुन नसकेको उनको भनाइ छ। 

‘क्रियाशील सदस्यता टुंगिएको जिल्लाबाट अधिवेशन गर्दै गरौँ भन्दा केन्द्रीय समितिको अधिकांश नेताले एकैपटक गर्नुपर्छ भन्नुभयो। अहिले तोकिएको समयमा गर्न सकिएन,’ नेता विश्वकर्माले भने। 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्न लाग्नुभएको चर्चा छ नि? थाहाखबरको प्रश्नमा उनले भने, ‘त्यो विषयमा कुनै औपचारिक छलफल भएको छैन। केही व्यक्तिले मनमा लागेको कुरा बोल्नुभएको मात्रै हो।’ 

देउवाले महाधिवेशन सार्ने तयारी गर्दै गर्दा वरिष्ठ नेता पौडेल पक्ष तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने अडानमा छन्। 

पौडेल खेमाका नेता प्रकाशमान सिंह पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैध पार्टीको प्रश्न उठ्न थालेको टिप्पणी गर्छन्। 

‘महाधिवेशन कार्यतालिका अनुसार कुनै पनि तहको हुन सकेन। त्यसले गर्दा प्रभावित हुने भयो। मंसिरको ९ देखि १३ सम्म त वडा र पालिकाको मात्रै सकिन्छ। मंसिर मसान्तसम्म प्रदेश सम्मको सकेर माघको दोस्रो तेस्रो हप्तासम्म राष्ट्रिय महाधिवेशन गर्न सकिन्छ कि भन्ने छ।

जनकपुरमा आइतबार नेपाल प्रेस युनियनको पत्रकार भेटघाटमा उनले भने, ‘१३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको छ। केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको छ।’

कांग्रेसका पदाधिकारीले महाधिवेशनलाई निकै हलुका रुपमा लिएर ४/४ पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने उनको भनाइ छ।

आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको उनको आरोप छ। 

देउवाको दोहोरिने दाउ, आकांक्षी धेरै 

महाधिवेशनको अन्योलबीच देउवाले सभापतिमा दोहोरिने अडान लिइरहेका छन्।

सभापतिमा देउवासहित आधा दर्जनभन्दा बढी नेता आकांक्षी देखिएका छन्। देउवासँग अर्को बलियो आकांक्षीको रुपमा वरिष्ठ नेता पौडेल छन्। 

१३ औँ महाधिवेशनमा पराजित भएका पौडेलको दाउ यसपटक सभापति हत्याउने छ।

संस्थापनइतर समूहबाट एक जनामात्रै उमेदवार बन्ने स्थिति नरहेकाले पौडेललाई पनि मुस्किल छ। तर, पौडेल समूहले एकल उम्मेदवार ल्याउने घोषणा गरिसकेको छ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायत नेता पनि सभापतिमा दाबी गरिरहेका छन्।

सबैले दाबी गरिरहेकै कारणले संस्थापनइतर पक्षबाट एकल उम्मेदवार तय हुने सम्भावना न्यून छ।

यता, १३ औँ महाधिवेशनमा देउवालाई साथ दिएका उपसभापति विमलेन्द्र निधि सभापतिको दाबी गर्दै महाधिवेशनमा होमिइसकेका छन्।

देउवा र पौडेल मात्रै नभएर १३ औँ महाधिवेशनबाट तेस्रो शक्तिको रुपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ। सभापतिमा तेस्रो धारबाट सिटौला पनि दाबेदार हुने देखिन्छ। 

१३ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा पार्टी सभापति निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.