|

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन्।

आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताएका हुन्।

उनले खेलाडीहरूको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए। मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरूलाई राष्ट्रका गहना भन्ने र अरू बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताए।

उनले नेपालीहरू कसैको कहिल्यै अधीनमा नबसेको र वीर गोर्खालीहरूको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिए।

खेलकुद मन्त्री गहतराजले भने, ‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रस्तुत हुनुपर्छ, आत्मविश्वाससाथ प्रस्तुत हुनुपर्छ, किनभने हाम्रो इतिहास र विरासत त्यो छ, त्योअनुसार हामी प्रस्तुत हुनुपर्छ। सबै खेलाडी, कोचहरू उच्च मनोबलसाथ प्रस्तुत हुनुहोस्, उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरुको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँपनका साथ काम गर्नेछ।'

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे। उनले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्‍न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताए।

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरुलाई मन्त्री गहतराजले खादा र अविर लगाएर बिदाइ गरेका हुन्। जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.