|

इलाम : प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढीपहिरो पीडितलाई भेट्दै जनजीवन सहज बनाउन सरकार सधैँ साथमा नै रहने आश्वासन दिएका छन्।

उनले पीडितहरूसँग भेट्दै सरकारले यसअघि नै राहत घोषणा गरेको पनि थप प्याकेज अघि सार्ने बताएका हुन्। अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउने सरकारको तयारी रहेको उनले बताए। मन्त्रिपरिषदको बैठक राखी राहत प्याकेज घोषणा गर्ने उनको भनाइ थियो।

‘काठमाडौं गएर आगामी मन्त्रिपरिषदमा तपाईहरुको लागि दीर्घकालीन राहतको व्यवस्थापन गर्छु’, उनले भने, ’सरकार तपाईंहरूको साथमा छ।’ इलाम र पाँचथर लगायतका जिल्लामा बेमौसमी झरीका कारण ठूलो क्षति पुगेको भन्दै देउवाले राहत र पुनः स्थापनाका कार्यक्रम ल्याउने बताए।

पहाडमा अध्ययन विना जथाभावी सडक र विकासका संरचनाहरु बनाउँदा क्षति पुगेको उनले बताए। उनले अव्यवस्थित रुपमा हुने गरेका सडक निर्माणका कामहरु रोक्नुपर्ने बताए। ‘यहाँमात्र हैन् देशभरका पहाडमा जथाभावी सडक बनाइएको छ। पहाडमा जतासुकै डोजर कुदाएर समस्या परेको छ। जहाँ पनि बाटो लगेर पहिरोको जोखिम बढ्यो यो रोक्नुपर्छ।’ देउवाले भने

महाधिवेशन चाँडै हुन्छ, मिलेर अघि बढ्नुस्

फरक प्रसंगमा बोल्दै देउवाले नेपाली कांग्रेसको महाधिवेशन चाँडै हुने बताएका छन्। अधिवेशन पछि हुने, पछि सर्ने भन्ने नभएको उनले बताए छन्।

‘अधिवेशन पछि हुन्छ, सर्छ भन्ने कुरा होइन अधिवेशन हुन्छ हुन्छ’ देउवाले भने ‘निर्वाचन समिति बनाएका छौँ, काम अघि बढेको छ। क्रियाशिलको समस्या समितिले समाधान गर्छ। तपाईहरु मिलेर अधिवेशनमा लाग्नुस्।’

अधिवेशनमा राम्रो हिसाबले प्रतिस्पर्धा गर्न उनले आग्रह गरे। बेमौसमी बाढी पहिरोबाट इलाममा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ३ जना बेपत्ता रहेका छन्।

त्यसैगरी पाँचथरमा पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। सयौँ परिवार विस्तापित छन्। देउवाले इलाम र पाँचथरका पहिरो प्रभावित अन्य क्षेत्रको हवाई निरिक्षण गरेका थिए।

यसैबीच फाल्गुनन्द गाउँपालिका–३ का पहिरो प्रभावितले तत्काल बासको व्यवस्था मिलाउन माग प्रधानमन्त्री समक्ष माग गरेका छन्। त्यहाँका पहिरो प्रभावित १ सय ५० भन्दा बढी विस्थापित विद्यालयमा बस्दै आइरहेका छन् । प्रधानमन्त्रीले यसअघि इलामको माङ्सेबुङ गाउँपालिका–६ को चिसोपानी र पाँचथरको  मिक्लाजुङ –६ को स्थलगत निरीक्षण गरेका थिए।

निरीक्षणमा ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.