‘दलित केटासँग प्रेम गरेको विषयमा युवाहरू मारिनु ठूलो पीडाको विषय’

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर प्रचण्डलाई अपराधी नै हो भनाउन चाहेका बताएका छन्। 

आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टीहरू, जुन नेताहरू, जुन व्यक्तिहरू पुरानै समाजमा दुईचार वटा सुधारका कुरा गरेर भोट तान्ने मात्रै राजनीति गर्ने तिनीहरूलाई त केही फरक परेको छैन। दलितहरू दलित नै रहिराखुन्, बाहुन क्षेत्री बाहुन क्षेत्री नै भइराखुन्, माथि नै भइराखुन्।’

शासन गर्ने अधिकार माथिकालाई मात्र हुन्छ भन्ने पार्टी समेत रहेको उनले बताए। प्रचण्डले भने, ‘तिनीहरूको लागि त केही फरक परेको छैन बरू राम्रो भएको छ। तिनीहरूले यो संघीयता उल्ट्याउन चाहेका छन्। यो जातिय विभेदको अन्त्य गर्ने भनेर भएको विद्रोहलाई बदनाम गर्न चाहेका छन्। सबैले मिलेर प्रचण्डलाई अपराधी नै हो भनाउन चाहेका छन्।’

सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरूले माओवादीको विरोध गरेका समेत उनले बताए। प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहनेहरूले माओवादी पार्टीको विरोध गरिरहेकाे बताए। 

माओवादीले दलित, जनजाति, आदिवासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनले दलित समुदाय आफूलाई अत्याचार गर्नेहरूको पछाडी लागेर हिड्दा भने आफूलाई नमिठो लाग्ने तर्क गरे। 

उनले भने, ‘तपाईहरूले देख्नुभयो नि हिजोका सरकारका कतिपय ठूलठूला महान विद्धान कर्मचारीतन्त्रका ठूला भन्नेहरू चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै। को हुन् ति मान्छेहरू? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुर्नस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के?’

पूर्व अर्थसचिव खनालले केही दिन अघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला? कसैको अनुमान? नाटक अली लामै भयो त।’ भनि ट्वीट गरेका थिए। अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातिय विभेद हटाउन अन्तरजातिय  जातिय विवाह गर्ने क्रम सुरु भएको भएपनि अझै जातिय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे। रोल्पा, रुकुममा अन्तरजातिय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे। 

प्रचण्डले भने, ‘अहिले बिस्तारै फेरि उपल्लो जात र तल्लो जात, अझ मलाई सबभन्दा बढी पीडा हुने त रोल्पा, रुकुमजस्ता ठाउँहरू जहाँ सबभन्दा बढी दलितहरूलाई उन्मुक्ति दिनका लागि धेरै नेता कार्यकर्ताहरू जन्मिए, धेरै त्यसखालका विद्रोहका कीर्तिमानहरू कायम भए। अन्तरजातिय विवाहहरू भए त्यहीँ अहिले दलित केटासँग प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवाहरू मारिए त्यही ठाउँमा। मेरो लागि यो निकै ठूलो पीडाको विषय भएको छ।’

कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको विद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको उनले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.