|
फाइल तस्वीर।

जनकपुरधाम : चुनाव भएको ४ वर्षपछि महोत्तरीमा एक नगरपालिकाको एउटा वडामा दोहोर्‍याएर मतगणना भइरहेको छ।

महोत्तरीको मनरा सिस्वा नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षको मतगणना आइतबार दिउँसोदेखि उच्च अदालत जनकपुरमा भइरहेको हो।

उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार अदालतको आदेशअनुसार फेरि मतगणना भइरहेको हो। 

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले मनरा सिस्वा नगरपालिका–१० को पुनः मतगणना गर्न दिएको आदेशलाई सर्वोच्च अदालतले ४ वर्षपछि सदर गरेपछि फेरि मतगणना भइरहेको हो।

सर्वोच्चको आदेशअनुसार २०७५ असार २१ गतेको उच्च अदालतले गरेको फैसलाबमोजिम दोहोर्‍याएर मतगणना गर्न ०७८ कात्तिक ७ गते बिहान ११ बजे निर्धारण गरिएको थियो।

यस्तो थियो विवाद

नयाँ शासकीय स्वरूपअनुसार स्थानीय तहको निर्वाचन ३ चरणमा गरिएको थियो। ०७४ असोज २ गते गरिएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकाको नतिजा सार्वजनिक गरिएको थियो।

वडा नम्बर १० को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार रमेशकुमार रायले २ सय ६७ मत प्राप्त गरेका थिए। रायलाई तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले २ सय ६४ मत प्राप्त गरेका थिए।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर भएका मतमध्येबाट ३ मत सदर गरी चौधरीका पक्षमा जोडेर उनको मत पनि २ सय ६७ पुर्‍याइदिएको आरोप रायले लगाउँदै आएका थिए।

राय र चौधरी दुवैको मत बराबर भनी घोषणा गरी गोला छान्ने क्रममा चौधरी निर्वाचित भएको थिए।

बदर ३ मतलाई जबरजस्ती सदर गरी गोला प्रथाबाट चौधरीलाई जिताइएको भन्दै आफूले जितेको दाबी गर्दै रायले उच्च अदालत जनकपुरमा पुनः मतगणनाको मागसहित मुद्दा दायर गरेका थिए।

उच्च अदालतले मुद्दाको सुनुवाइ गर्दै ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो। सदर र बदर मतमा विवाद देखिएको भन्दै अदालतले पुनः मतगणना हुनु पर्ने आदेश जारी गरेको थियो।

गोला प्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमा गरिएको भन्दै अदालतले निर्वाचन कसूर तथा सजाय ऐन २०६३ को दफा ४४ को उपदफा ९१० को देहाय (क), (ख) र (ग) बमोजिम बदर हुने मत बदर नगरेको वा कानुनबमोजिम सदर हुने मत सदर नगरेको देखिएकाले दोहोर्‍याएर मतगणना गर्न आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरुद्ध चौधरीले आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत काठमाडौँमा निवेदन दिएका थिए।

सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई नै सदर गरिदियो।

उच्च अदालतका रजिष्ट्रार अधिकारीले सर्वोच्चबाट आदेश जारी भएपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोभिड महामारीले भएको लकडाउनका कारण मिति तोक्न नसकिएको जानकारी दिए।

पछि असोज १० उच्च अदालत जनकपुरले दोहोर्‍याएर मतगणना गर्न ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरेको थियो।

स्थानीय तहको चुनावमा मनरा सिस्वा नगरपालिको वडा नम्बर १० मा वडाध्यक्षमा ९ जना उम्मेदवार रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.