|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ।

आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५-० गोल अन्तरको  जित निकालेको हो। युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे।​ नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे। 

खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। १३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता २-० को बन्यो। खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३-०को बनाए । पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५-० ले विजयी भयो।

यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो।​ ​केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन्। चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.