पार्टी कार्यकर्ता र जनप्रतिनिधसँग मात्रै भेट

|

धनगढी : बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितको टोली प्रभावित क्षेत्रको अनुगमनका लागि गत बिहीबार सुदूरपश्चिम आए। टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा प्रभावितको अवस्थाबारे जानकारी लिए।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा पुगे पनि आफ्ना समस्या नसुनेको पीडितहरुको गुनासो छ। बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले देउवालाई आफ्नो दुःख सुनाउनै नपाएको गुनासो समेत गरेका छन्।

‘प्रधानमन्त्री प्रभावित क्षेत्रमा आउने अपेक्षा थियो, तर हामीले गरेको अपेक्षा निराशामा परिणत भयो‚’ कञ्चनपुरको दोधाराचाँदनीका किसान दिपक चन्दले भने, ‘किसानका लागि कुनै प्याकेज घोषणा गर्ने अपेक्षा पनि थियो तर केही पनि हुन सकेन।’

बैतडीका पीडितले प्रधानमन्त्रीलाई भेट गर्न पाए पनि राहत पाएनन्। देउवाको गृह जिल्ला डडेल्धुरामा पनि पार्टी प्रतिनिधि र जनप्रतिनिधसँग मात्र भेटघाट गरेको आरोप लागेको छ। प्रधानमन्त्री देउवाले काठमाडौं फर्किनुअघि भने धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै काठमाडौं पुगेर मात्र राहत घोषणा गर्ने बताएका थिए।

सुदूरपश्चिम र कर्णाली प्रदेशको दुई दिने भ्रमण गरेर फर्किएका देउवाले निरीक्षणको औपचारिकता मात्र निभाएको पीडितको गुनासो छ। निरीक्षणका नाममा प्रधानमन्त्रीले औपचारिकता मात्र निर्वाह गर्नुभन्दा पीडितसँग भेटघाट गर्नुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी बताउँछिन्। ‘यस्तो अवस्थामा सरकार प्रमुखको निरीक्षण हुनु राम्रो कुरा हो तर आवश्यक समन्वय गरेर पीडितसँग भेट गर्नुपर्दथ्यो‚’ उनले भनिन्। प्रदेश र स्थानीय तहसँग समेत समन्वय गरेर निरीक्षणको तालिका बनाउनुपर्नेमा त्यसो नभएको मन्त्री जोशीको भनाइ छ।

नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बम पीडितलाई घरघरमा गएर भेट्नुभन्दा राहत घोषणा गरेर कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताउँछन्। ‘निरीक्षणमा आउनु स्वभाविक हो तर तत्काल राहतको प्याकेज घोषणा गरेर कायान्वनयमा जोड दिन सके मात्र प्रभावित क्षेत्रको पुगेको सार्थक मानिन्छ‚’ उनले भने, ‘पीडितलाई घरघरमा गएर भेट्नुभन्दा राहत घोषणा गरेर कार्यान्वयन भएको हेर्न चाहन्छौँ।’

धानबाली भित्र्याउने समयमा परेको वर्षाले ठूलो धनजनको क्षति पुगेको अवस्थामा संघ, प्रदेश र स्थानीय तहले समेत राहत र किसानको हितमा हुने गरी आगामी कार्यक्रम ल्याउनु आवश्यक रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयले बताउँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा बेमौसमी वर्षाका कारण हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। २२ जना अझै बेपत्ता छन्। १७ जना घाइते भएका छन्।

मुख्यमन्त्री पनि व्यस्त छु भन्दै पीडित नभेटी फर्किए

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रदेशका पहाडी जिल्ला पुगेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पीडितलाई नभेटी फर्किएका छन्।

मुख्यमन्त्री भट्टको नेतृत्वमा सभामुख अर्जुन थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोली बझाङ, डोटी र बैतडीको निरीक्षणमा गएको थियो। टोलीले प्रदेशका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो।

टोलीले ठूलो मानवीय क्षति भएको बझाङको थलारा र सबैभन्दा बढी भौतिक क्षति भएको खप्तडछान्ना गाउँपालिकाको अवलोकन गरेको हो। तर, खप्तडछान्नाको कालुखेती पुगेको टोली समय अभाव भएको भन्दै ज्ञापनपत्र बुझेर फर्किएको थियो।

मुख्यमन्त्री कालुखेती आउने भनेपछि आफ्नो पीडा सुनाउन पीडितहरू बिहानै कालुखेती पुगेका थिए। लामो समय पर्खँदा पनि मुख्यमन्त्री नपुगेपछि निरास भएका पीडितहरू मुख्यमन्त्री चढेको हेलिकोप्टर आएपछि भने खुसी भएका थिए। हेलिकोप्टरबाट ओर्लेका मुख्यमन्त्री भट्ट, सभामुख थापा र मन्त्री जोशीसहितको टोली समय अभाव भएको भन्दै गाँउपालिकाले तयार पारेको ज्ञापनपत्र सुनेर पाँच मिनेटमा फर्कियो।

मुख्यमन्त्री भट्टले समय अभाव भएको भन्दै ज्ञापनपत्रमा उल्लेख भएका समस्याको सम्बोधन गर्ने र बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन्। निरीक्षणमा आएका मुख्यमन्त्री भेट्न नपाउँदा पीडितहरू भने निरास भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.