|

दाङ : पछिल्लो समय दाङका युवाहरु व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्। घोराही उपमहानगरपालिका केही वडामा युवाहरूले व्यावसायिक फूलखेती गर्दै आइरहेका छन्।

यस्तै‚ तुलसीपुर उपमहानगरपालिका-८ दुधेनाका पाँच जना युवाहरूले फूल खेती गरेका छन्। सात कट्ठा जमिन मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर सयपत्री फूलखेती गरेको आहा अभियानका संयोजक दीपक काफ्लेले बताए।

तिहारलगायत अन्य कुनै कार्यक्रममा फूल नहुँदा समस्या हुने भएकाले परीक्षणका लागि पहिलो पटक फूल खेती गरेको काफ्लेले बताए। खेतीका लागि अहिलेसम्म करिब एक लाख रुपैयाँ खर्च भएको उनले जनाकारी दिए। केही फूल अगाडि नै फुलेकाले र तिहार ढिला भएकाले खेरो गएको उनको भनाइ छ। त्यस्तै उनले तुलसीपुरमा कोल्ड स्टोर नहुँदा पनि फूल व्यवसाय गर्नेहरूलाई समस्या हुने गरेको अनुभव सुनाए।

‘गाउँ ठाउँ मै केही गरौँ भनेर हामी युवाहरू लागेका छौँ,’ उनले भने, ‘तर, यहाँ धेरै समस्या भोग्नु परेको छ। तुलसीपुरमा कोल्ड स्टोर भएको भए पनि राख्न सकिन्थ्यो। थोरै फूलहरू फुल्दा बाहिर पनि पठाउँन नमिल्ने जसले गर्दा समस्या भयो।’

यस पटक तिहारमा करिब १ हजार सयपत्री फूलको माला बिक्री गर्ने लक्ष्य रहेको र प्रति माला २०० रुपैयाँ तोकेको समेत काफ्लेको भनाइ छ।

तुलसीपुर–१७ मा पनि घनश्याम केसी लगायतका युवाहरू मिलेर व्यावसायिक फूलखेती गरिरहेका छन्। तिहार आउन करिब दुई साता दिन बाँकी नै छ। तर, आफ्नो बारीमा फूल तयार भइसकेको र सोचे अनुरूप बजार नपाएको हुँदा उत्पादित फूल टिपेर बुटवल पठाउन थालेको उनले बताए।

घोराही उपमहानगरपालिका-१४ लामो समयदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका लोकेन्द्र मगरले पनि यस पटक १८ कट्ठा जमिनमा कलकत्ते सयपत्री फूलको खेती गरेको बताए। गतवर्ष फूलमा रोक लाग्दा करिब तीन हजार वटा माला बिक्री गर्दा करिब तीन लाख आम्दानी भएकोमा यस पटक करिब आठ हजार माला बिक्री गर्ने लक्ष्य रहेको उनले सुनाए। गतवर्षको भन्दा यसपटक फूल राम्रो फुलेको समेत उनले बताए।

गतवर्ष कम उत्पादन हुँदा माग अनुसार पुर्‍याउन नसकेको भन्दै यस पटक भने पुग्ने  बताए। उनले एउटा मालाको मूल्य माला अनुसार १०० देखि १५० रुपैयाँसम्म रहेको समेत बताए। उनले कात्तिक १५ गतेदेखि माला बनाउने तयारी रहेको समेत सुनाए। तयार माला राम्रोसँग राखेमा एक सातासम्म केही पनि नहुने उनको भनाइ छ। विगतका वर्षहरूमा फूल जिल्लाबाहिर पठाउँदै आए पनि यस वर्ष नपठाउने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.