|

जनकपुरधाम : उज्यालोको पर्व रुपैयाँ चिनिने तिहार नजिकिएसँगै माटाका भाँडाकुडा बनाउने कुमाल समुदायलाई यतिबेला माटोको दियो बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा फुर्सदिलो भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ।

झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयभन्दा बढी माटाका दियो‚ धुपोउरोलगायतका समाग्रीहरुको माग हुने गरेको छ।

क्षीरेश्वरनाथ -४ हरैयाका कुमालेहरु यति बेला माटाका दियो बनाउन व्यस्त छन्। उनीहरुले बनाएका माटाका भाँडा सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामका साथै महोत्तरीको बर्दिवाससम्म बिक्री वितरण हुने गरेको छ।

४५ वर्षदेखि माटाका भाँडाकुडा बनाउँदै आएका विष्णु यस सिप हजुरबुवाबाट सिकेको बताउँछन्। उनले एक दिनमा ५०० वटा दियो बनाउँछन्। उनले बताएका दियो होलसेलमा बिक्री हुँदै आएको छ। चिने जानेकाले केही घरमा आएर खरिद पनि गर्ने गरेको उनले बताए।

माटोका भाँडाकुडा बनाउने परम्परागत पेशा भए पनि युवा पुस्ता उक्त पेशामा आकर्षित नभएकाले चाडबाडका बेला माग धान्न गाह्रो हुने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार का ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताए। माटाका भाडा बनाउने पेशाबाट थोरै आम्दानी हुने भन्दै युवा पुस्ताले परम्परागत पेशालाई अवमूल्यन गरेको उनको बुझाइ छ। माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवर्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उनी बताउँछन्।

सखुवाबजारका ६० वर्षीय जयनारायण पण्डितले पुर्खाले अँगाल्दै आएको पेशालाई आफूहरुले छोड्न नसके पनि माटोको भाँडाकुँडा बनाउने पेशाबाट अन्य पेशामा जस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जन मै समस्या हुने गरेको बताउँछन्।

पछिल्लो समय आल्मोनियम र प्लाष्टिकका भाँडासँग माटोको भाँडाले प्रतिस्पर्धा गर्न सकिरहेको छैन। प्लाष्टिकका सामान सस्तोमा पाउँछ। माटोको भाँडाकुडा भने माटो, दाउरा र रंगरोगनका सामग्रीको मूल्य बढेका कारण पनि सस्तोमा दिन नसकेको वटेश्वर गाउँपालिका-५ शान्तिपुरका दशरथप्रसाद पण्डितले बताउँछन्।

त्यसैगरी यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्ज्वलित गर्ने चलन रहे पनि छिल्लो समय बिजुलीबाट बल्ने झिलिमिली बत्तीको प्रचलन बढ्दो छ। यसले पनि माटोको भाँडाकुडा बिक्रीमा कमी आएको छ।

‘अलि पहिला पाला नै धेरै प्रयोग गरिन्थ्यो,’ आफ्नो बुबासँगै पाला बनाउन सिकेका महेन्द्रनगरका रामदेव पण्डितले भने, ‘अहिले बिजुलीका बत्ती बाल्ने थालेपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ।’

रामदेवले केही वर्ष पहिलासम्म तिहारमा मात्र एक लाख पाला बेच्ने गरेको अनुभव सुनाए। विगत दुई वर्षदेखि त कोरोनाका कारण पनि आफ्नो व्यवसायमा धक्का दिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.