|
प्रदेश २ सरकारको मंगलवार जनकपुरधामस्थित मधेस भवनमा बसेको मन्त्रिपरिषदको बैठक

जनकपुरधाम : प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश ल्याउने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले उक्त दुईवटा अध्यादेश प्रदेश प्रमुखकहाँ सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए। प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ।

कृषि तथा प्राविधिकसम्बन्धी जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो।

जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो। यसै गरी प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटीअन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाई, बिजुली बत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए।

मन्त्रिपरिषदले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहीन काम गरिरहेको पाइए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.