‘न्यायपालिकालाई राजनीति गर्ने थलो बनाइयो’

|

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। 

मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने‚ ‘परमादेश एकजनाले गरेको होइन। पाँचैजनाले गरेको हो। किन एकजनाको राजीनामा माग्नुहुन्छ? पाँचैजनाले राजीनामा गर्दा उपयुक्त होइन र? तपाईंहरूको निर्णयको सुगन्ध दुर्गन्ध म भन्न चाहन्नँ।’ 

संविधानमै नभएको असंवैधानिक कदम चालेर एमालेविरुद्ध नाङ्गो नाच देखाएको आरोप लगाए। कानुनव्यवसायीहरूले कानुन र संविधान जान्नुपर्ने उनले टिप्पणी गरे। लोकतन्त्र र संविधानको रक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएको अध्यक्ष ओलीले बताए। 

‘कुन पक्ष हार्‍यो कुन पक्ष जित्यो भन्ने मेरो चिन्ता होइन। लोकतन्त्रले जित्नुपर्छ‚’ ओलीले भने, ‘न्यायपालिकाले जनताप्रति विश्वास गुमाउन थालेको छ। अहिले अदालतबाट न्याय पाइन्छ भन्ने केही छ र? न्यायपालिकालाई राजनीति गर्ने थलो बनाएपछिका अहिले देशमा यस्तो परिणाम आएको हो।’ 

अध्यक्ष ओलीले एमालेले एक्लैले विकासको बाटो तय गरेको दाबी गर्दै अहिले पाँच दलीय गठबन्धनका सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। सरकार पूर्ण रूपमा असफल भएको उनको आरोप छ। 

‘तीन वर्ष लगाएर नेकपा एमालेलाई हटाए। सरकार बनाउन रोक्ने प्रयास भएको थियो। त्यसपछि ढालिहाल्न खोजेका थिए। सकेनन्‚’ उनले भने‚ ‘अस्थायी रूपमा साढे तीन वर्षपछि ढाले‚ त्यो पनि परमादेशबाट। हामीले केही समयमा निर्वाचनपछि फेरि सरकारमा एक्लै जान्छौँ।’ 

सभामुख अग्निप्रसाद सापकोटाको असंवैधानिक कदमकै कारणले अहिले संसद् चल्न नसकेको ओलीले आरोप लगाए। ताजा जनादेशमा जान रोक्नु भनेको सूर्यलाई हत्केलाले छेकेजस्तो भएको उनको भनाइ छ। चुनावतर्फ पार्टी गइसकेको भएकाले पार्टीले बहुमत ल्याउने वातावरण तयार गर्ने निर्देशन समेत दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.