|
उपराष्ट्रपति नन्दबहादुर पुनलाई सम्मान गर्दै लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेमकुमार खत्री।

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को दशौँ सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे।

‘मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ। हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ। हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला?’, उनले भने, ‘भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन। राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ – हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ। प्रवर्धन गरौँ र भावी पुस्तालाई हस्तान्तरण गरौँ।’

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, संवर्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताए। ‘यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्छ’, उनले भने।

‘लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नु छ। यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र संवर्धन गर्नुपर्नेछ’, उपराष्ट्रपतिले भने, ‘यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ। विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ।’

लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा संवर्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र प्रज्ञा प्रतिष्ठानको सहयोगको प्रशंसा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि सहयोग गरेको बताए। कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँचवटा पुस्तक लोकार्पण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.