|

काठमाडौं : नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ ले नेपालको सार्वभौमिकतामाथि प्रहार गरेको बताएका छन्।

पूर्वसुरक्षाकर्मी परिषद्‌ले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा खरेलले यस्तो धारणा व्यक्त गरेका हुन्। 

उनले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको विरोध गर्नुपर्ने बताए।

उनले काठमाडौं दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दासमेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे।

यसको सबै दोष राजनीतिक दल र यसका नेताले लिनुपर्ने बताए।

कार्यक्रममा​ पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले सार्वभौम स्वतन्त्रता र स्वाधीनतालाई कुल्चँदै नेपाललाई भुटान बनाउनुपर्छ भन्ने लेखिएकाले यो नेपाल र नेपालीका लागि ठूलो अपमान भएको बताए।

उनले नेपालमा भुटानी मोडलको राजसंस्था आवश्यक नरहेको बताएका छन्।

बस्न्यातले नेपाललाई भुटान बनाएर भारतको अधीनमा राख्ने चर्चा भएको ठाउँमा सरकारमा सहभागी र नेपालको मूलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किताबको अन्तरक्रियामा सहभागी बन्नु नेपालको अपमान भएको बताए।

देश र जनतालाई आवश्यक महसुस भए नेपाली आफैं नै राजसंस्था पुनःस्थापना गर्न सक्षम रहेको उनले बताए।

सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सर्वाधिक कमजोर भएको र नेपाली निर्णायक नभई विदेशी निर्णायक रहँदै आएको उनको भनाइ छ।

नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको पूर्वसुरक्षाकर्मी परिषद्को धारणा छ।

यसैगरी सामाजिक अभियन्ता राजेन्द्रकेशरी पाण्डेले नेपाल कहिल्यै कसैको दास नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाए पूर्वसुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने चेतावनी दिए।

उनले भने, ‘यस्ता किसिमका क्रियाकलापविरुद्ध सदैव खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदान दिनसमेत तयार छौँ।’

घाइते तथा अपांग संघ तथा पूर्वसुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले विकासको नाममा एमसिसी भित्र्याउन र भुटानी मोडेलको राज्य स्थापना गरी सिक्किमे लेन्डुप बनाउने अभियानमा आएकाले लेन्डुपे प्रवृत्तिविरुद्ध कटिबद्ध भई अगाडि बढ्ने चेतावनी दिए। 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.