|
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले अदालतमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ। 

युनियनको तर्फबाट अध्यक्ष प्रकाश पराजुली, उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराई, नेपाल निजामती कर्मचारी युनियन सर्वोच्च अदालतका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठन सर्वोच्च अदालतका अध्यक्ष पुष्पराज तिमल्सिनाले विज्ञप्ति जारी गरी अदालतमा देखिएको समस्या समाधान गर्न माग गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ। न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न सर्वोच्च अदालतमा कार्यरत ट्रेड युनियनहरूले रचनात्मक एवं सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेका कुरा सर्वविदितै छ।’

अदालतभित्र देखिएका विकृति विसंगतिका सम्बन्धमा विगत केही दिनदेखि प्रधानन्यायाधीश एवं न्यायाधीशहरूबीच असमझदारी भई मुद्दाको सुनुवाइ नै प्रभावित भएको उल्लेख गरिएकाे छ। 

विज्ञप्तिमा विभिन्न पत्रपत्रिका, अनलाइन समाचार तथा सामाजिक सञ्जालहरूमा जनताको अन्तिम आस्थाको केन्द्र न्यायालयको जनआस्था खस्काउने प्रकारका प्रकाशित समाचार तथा अदालतमा हालै भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएकाे उल्लेख छ।

‘यस्ता अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएको विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भिरतापूर्वक अविलम्ब समुचित समाधान गर्न जोडदार माग गर्दछौँ’  विज्ञप्तिमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.