|

इलाम : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले ११–० गोल अन्तरले जितेको छ। रोङले समूह चरणको अन्तिम खेलमा हुम्लाको सिमकोट गाउँपालिकालाई पराजित गरेको हो।

पहिलो हाफमा ५ गोल गरेको रोङले दोस्रो हाफमा ६ गोल थप्यो। रोङको जितमा इन्दिरा राईले ५ गोल र कप्तान अनिता राईले ३ गोल गरिन्। अनिशा राई, दीपा राई, विमला विकले समान १/१ गोल गरे।

पहिलो हाफमा ह्याट्रिक गरेकी इन्दिराले दोस्रो हाफमा २ गोल गरिन्। कप्तान अनिताले दोस्रो हाफमा ह्याट्रिक गरिन्। खेलको ९ औँ मिनेटमा रोङले सुरुवाती अग्रता बनाएको थियो। अनिता राईको प्रहार बारमा लागेर फर्किएपछि अनिशा राईले पहिलो गोल गरिन्। २० औँ मिनेटमा इन्दिरा राईले अग्रता दोब्बर बनाइन्। विमला विकको पासमा इन्दिराले गोल गरेकी हुन्।

पुनः ३० औँ मिनेटमा इन्दिराले व्यक्तिगत दोस्रो गोल गर्दा रोङले ३ गोलको अग्रता बनाएको हो। कप्तान अनिता राईको पासमा इन्दिराले जाली चुमाइन्। ४२ औँ मिनेटमा इन्दिराले ह्याटिक पूरा गरिन्। दीपा राईको पासमा डिबक्सभित्र गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो।

इन्जुरी समयमा सिमकोटको डिफेन्डरको गल्तीको फाइदा उठाउँदै दीपा राईले गोल गर्दा रोङले पहिलो हाफमा ५–० को अग्रता बनायो। ५० औँ मिनेटमा अनिताले व्यक्तिगत पहिलो गोल गरिन्।

७३ औँ मिनेटमा दीपा राईको पासमा अनिताले गोल गर्दा रोङले ७–० को अग्रता बनायो। ७५ औँ मिनेटमा विमला विकको लामो प्रहारले जाली चुम्यो। खेलको ८१ औँ मिनेटमा दीपा राईको फ्रीकिक प्रहारलाई इन्दिराले जाली चुमाइन्। ८२ औँ मिनेटमा अनिताले ह्याट्रिक पूरा गरिन्।

८७ औँ मिनेटमा सिमकोटकी गोलरक्षकको हातबाट फुत्किएको बललाई इन्दिराले गोल गरेपछि रोङले ११–० को अन्तरले जीत निकाल्दै नकाउट प्रवेशलाई बलियो बनाएको छ। खेलकी प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई घोषित भइन्।

अब काठमाडौँ र सिमकोटबीचको खेलले नकआउट प्रवेशको टुंगो लगाउनेछ। काठमाडौँले सिमकोटलाई ११ भन्दा कम गोल अन्तरले हराएको खण्डमा रोङ गोल अन्तरको आधारमा नकआउट चरण प्रवेश गर्नेछ। यसअघि काठमाडौँसँग गोलरहित बराबरी खेल्दै रोङले अंक बाँडेको थियो।

सिमकोटको जारी प्रतियोगिताको पहिलो खेल हो। यसअघि गत ५ गते काठमाडौँसँग प्रतिस्पर्धा गर्ने तय भए पनि प्राविधिक कारणले खेल ११ गते सारिएको छ। प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्। यस्तै प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद पुरस्कार पाउनेछ। यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउनेछन्। प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.