|
नेकपा एमालेको प्रथम माई नगर अधिवेशन उद्घाटन गर्दै एमाले नेता सुभाष नेम्बाङ। तस्वीर : नमिन ढकाल

इलाम : नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सय दिनको अवधिमै असफल भइसकेको बताएका छन्।

उनले देउवा सरकार परमादेशको सरकार भएको बताउँदै ८८ दिनमा सरकारलाई पूर्णता दिए पनि विस्तारित मन्त्रिपरिषद्‍ ३ दिनसम्म पनि नटिकेको आरोप लगाए।

एमालेको प्रथम माई नगर अधिवेशन उद्घाटन गर्दै भूमि आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना खारेज गरेर देउवा सरकारले जनविरोधी काम गरेको आरोप नेम्बाङले लगाए।

उनले वर्तमान सरकार जनादेशबाट नआएको भन्दै विश्वकै इतिहासमा सर्वोच्च अदालतको आदेशमा नेपालमा सरकार बनेकोमा सर्वोच्चको भूमिकामाथि आफूले केही भनिरहनु नपर्ने बताए।

जनताले एमालेलाई झ्याल र भेन्टिलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मूल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा पनि नेम्बाङले गरे।

इलाम क्षेत्र निर्वाचन क्षेत्र २ का सांसदसमेत रहेका उनले इलामको कर्णाली भनेर चिनिने आफ्नो क्षेत्रमा विकासले उज्यालो बनाएको दाबी गरे।

'पार्टी व्यवसाय होइन, सामाजिक सेवाको क्षेत्र हो। त्यसैले व्यक्तिभन्दा पार्टी ठूलो हो र पार्टीभन्दा देश ठूलो भएकाले देश विकासका पक्षमा एमाले कार्यकर्ता लाग्नु पर्छ,' उनले भने।

०२८ सालमा इलाम क्याम्पसको विधार्थी जीवनबाट राजनीति सुरु गरि ०३१ सालमा केपी शर्मा ओलीसँगै काठमाडौंको कारागारमा संगठित सदस्य भएयता अहिलेसम्म आफू कतै नहल्लिएको उनले बताए।

नेम्बाङले व्यंग्य गर्दै भने, ‘म कार्टुन हेर्दै थिएँ, माधव कमरेडलाई कसैले तान्दै थिए, कसैले ठेल्दै रहेछन्, घचेट्ने र ठेल्ने साथीहरूको अनुहार बिर्सें तर पनि वहाँ भन्दै हुनुहुन्थ्यो मलाई घचेटियो।’

माई–८ को विष्णेटारमा सुरु भएको नगर अधिवेशनलाई नेम्बाङले सहमति र सहकार्यमा सफल बनाउन आग्रह गरे।

एमाले सरकारले जनमैत्री काम गरेको र माईमा पनि विकासले फड्को मारेको एमाले जिल्ला कमिटी अध्यक्ष राम रानाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.