|

डडेल्धुरा : यूएईमा जारी आइसिसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ।

दुबईमा मंगलबार भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ दशमलव २ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो। उसका लागि एडेन माक्रमले अर्धशतकीय पारी खेले।

उनले २६ बलमा ४ छक्का र २ चौकासहित नटआउट ५१ रनको योगदान दिए। यस्तै, रसी भान डर डुसेनले अविजित ४३, रिजा हेन्ड्रिक्सले ३९ रन बनाउँदा कप्तान टेम्बा बाभुमा ३ रनमा आउट भए।

बलिङतर्फ वेस्ट इन्डिजका अकेल होसेनले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो।

उसका लागि इभिन लुइसले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ६ छक्का र ३ चौकासहित सर्वाधिक ५६ रन बनाए।

यस्तै, कप्तान किरोन पोलार्डले २६, लेन्डल सिमन्सले १६, क्रिस गेल र निकोलस पूरनले १२/१२ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ३, केशव महाराजले २ तथा एनरिक नोर्किया र कागिसो रबाडा १/१ विकेट लिए।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो पहिलो जित हो। आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो।

जारी विश्वकपमा साविक विजेता वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो।

यसअघि वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले हारेको थियो।

दक्षिण अफ्रिकाले अब आफ्नो तेस्रो खेल शनिबार श्रीलंकासँग खेल्नेछ।

वेस्ट इन्डिजले शुक्रबार बंगलादेशको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.