|
फाइल तस्वीर

सोलुखुम्बू ः मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजी अत्याधुनिक उपकरण सहितको उद्धार टोलीले सुरु गरेको छ।

एभरेस्ट एयरको हेलिकोप्टरमार्फत सोमबार लुक्लाबाट मेरापिक क्षेत्रमा पुगेको उक्त उद्धार टोलीले सोमबार नै आरोही शेर्पाको खोजी थालेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए।

उद्धार टोलीले दुई दिनदेखि खोजी गरिरहे पनि उनको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ।

सोलुखुम्बूको सोलु दूधकुण्ड नगरपालिका–३ तामाखानीका शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणमा गएका थिए।

कात्तिक २ गते आरोहण सकेर ओर्लने क्रममा ५ हजार ८ सय मिटर उचाइबाट उनी सम्पर्कविहीन बनेका थिए।

आरोहणपछि फर्कंदा बेपत्ता शेर्पासहित १० जनाको टोली हिउँमा फसेको थियो। तीमध्ये क्लाइम्बिङ शेर्पाहरूको सहयोगमा ९ जनाको सकुशल उद्धार गरिएको सोलुखुम्बू प्रहरीले जनाएको छ।

पर्यटन प्रवर्द्धन गर्न मेरापिक गएका आरोही शेर्पा बेपत्ता बन्नुमा कम्पनी र गाइडको कमजोरी रहेको जानकारहरू बताउँछन्।

कात्तिक अन्तिम साता नै मौसम पूर्वानुमान महाशाखाले आरोहण प्रतिकूल मौसम हुने सूचना जारी गर्दै सचेत गराएको थियो।

मौसम प्रतिकूल हुने हुँदा उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा नजान सचेत गराउँदा गराउँदै आरोहणमा जानु गलत भएको मेराका एक होटल व्यवसायीले बताए।

शेर्पा इभेन्ट र खारेस्थित माउन्टेन भ्यु होटलले जिम्मा लिएर त्यस क्षेत्रमा लगेको भएपनि कुनै सुविधा उपलब्ध नगराएको आरोही दावा शेर्पाले बताए।

दुई दिनसम्म हिमपातमा भोकै बस्नुपरेको गुनासो गर्दै उनले कुनै सञ्चार र औषधिसमेत नहुँदा त्यसबेला समस्या भएको बताए।

आरोही छेतेन शेर्पा पनि गाइड र कम्पनीको लापरवाहीका कारण नै बेपत्ता भएको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.