|

युएईमा जारी टी-२० विश्वकपमा अहिले अनौठो ट्रेन्ड चलिरहेको छ। यहाँको कन्डिसनमा पहिले फिल्डिङ गर्ने टोलीलाई फाइदा भएको छ। सुपर-१२ को भिडन्तमा अहिलेसम्म भएका ७ खेलमा ६ टोलीले पहिले फिल्डिङ गर्दै नतिजा आफ्नो पक्षमा पारेका छन्।

एउटा मात्रै खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ। त्यो खेल (स्कटल्यान्डविरुद्ध अफगानिस्तान)मा अफगानिस्तान १३० रनको फराकिलो अन्तरले विजयी भएको थियो।​

स्लो पिचमा ब्याटिङ मुस्किल

अबुधाबी, शारजहाँ या दुबईमा जहाँसुकै होस् पहिलो ब्याटिङ गर्ने टोलीले ठूलो स्कोर बनाउन सकेका छैनन् किनकि सबै पिच स्लो छन्। यी सात खेलमा केवल दुई खेलमा मात्र पहिले ब्याटिङ गर्ने टोलीले १७० रनको स्कोर पार गरेका छन्।

अफगानिस्तानले स्कटल्यान्डविरुद्ध १९० रन बनाएको थियो भने श्रीलंकाले बंगलादेशले दिएको १७१ रनक लक्ष्य ७ बलअगावै चेज गरेको थियो। पहिले ब्याटिङ गर्ने टोलीले औसत १५० को स्कोर गर्नसमेत हम्मे पर्ने गरेको अवस्था छ।​

ओसिलो भएपछि ब्याटिङ सहज

दोस्रो इनिङमा मैदान ओसिलो भएपछि ब्याटिङ सहज हुने र टोलीले टार्गेट सहज रूपमा चेज गर्ने गरेका छन्। युएईमा अक्टोबरको अन्तदेखि रातमा धेरै शीत पर्ने गरेको छ।

यसले स्पिनर्सलाई बलमा ग्रिप बनाउन मुस्किल पर्छ। यसबाट ब्याट्सम्यानलाई फाइदा पुग्ने गरेको छ। जसले गर्दा पछि ब्याटिङ गर्ने टोलीले फाइदा उठाइरहेका छन्। शीतको असर कम गर्न रसायन प्रयोग गरिए पनि यसको फाइदा देखिएको छैन।​

पिएलमा पनि यही ट्रेन्ड

केही समयअघि सकिएको आइपिएलमा पनि यही ट्रेन्ड देखियो। कोरोना महामारीका कारण रोकिएका सिजनको ३१ खेल युएईमा आयोजना भएको थियो। जहाँ फिल्डिङ गर्ने टोलीको दबदबा रहेको थियो। ३१ खेलमा पहिले फिल्डिङ गर्ने २१ टोली विजयी भएका थिए। यद्यपि फाइनलमा भने पहिले ब्याटिङ गर्ने टोलीले जितेको थियो।

समग्रमा अहिलेसम्मको विश्वकप टी-२० को यो प्रतियोगितामा टसको भूमिका निकै महत्त्वपूर्ण देखिएको छ। त्यसैले टस जित्ने टोलीले खेल जित्ने ट्रेन्ड बढ्दो छ। आगामी दिनमा यसको प्रभाव कस्तो रहला‚ त्यो भने समयले बताउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.