‘पदाधिकारी र पूर्वपदाधिकारीको बैठक नै विधानविपरीत’

|

काठमाडौं : सत्तासीन नेपाली कांग्रेसलाई पार्टीको महाधिवेशन गर्नै ‘महाभारत’ बनेको छ। क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेकै कारणले तोकिएको समयमा महाधिवेशन गर्नबाट नेतृत्व असफल भएको हो। 

कांग्रेसले चौथोपटक तय गरेको १४ औँ महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेको कार्यतालिका प्रभावित भएपछि फेरि मिति सार्ने तयारी गरिरहेको छ। यसअघि पनि चारपटक मिति सारेको कांग्रेसले अझै केही जिल्लाको क्रियाशील विवाद समेत समाधान गर्न नसकेपछि मिति सार्न लागेको हो। 

यही ३० साउनको कांग्रेसको केन्द्रीय समिति बैठकले मंसिरका लागि मिति तय गरेको थियो तर महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेपछि पाँचौँपटक कार्यतालिका परिवर्तन गर्ने पक्का भएको छ। सभापति शेरबहादुर देउवाले कार्यकाल लम्ब्याउँदै लगेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले दबाव दिनका लागि केन्द्रीय कमिटीको बैठक राख्न माग गरिरहेको छ। 

कांग्रेसको विधानमा प्रत्येक चार वर्षमा महाधिवेशन हुनुपर्ने उल्लेख छ। विधानको धारा १७ मा भनिएको छ, ‘पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ।’

महाधिवेशनका लागि कम्तीमा चार वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका सदस्य मध्येबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन प्रतिनिधिले आफूमध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिसहित पच्चीसजना हुने विधानमा उल्लेख छ। 

विधानअनुसार महाधिवेशनले कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री तथा एक कोषाध्यक्ष गरी १४ पदाधिकारी र १६८ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। 

सभापति देउवा नेतृत्वको २०७६ फागुन महिनामै आफ्नो कार्यकाल गुजारिसकेका थिए तर कार्यकाल सकिएपछि पनि विधानलाई टेकेर एक वर्ष थप गर्नुका साथै संविधानको सहारामा ६ महिनाको समयसीमा समेत काटिसकेको छ। अझै देउवाले महाधिवेशन गर्न सक्ने परिस्थिति बनेको छैन। 

भदौदेखि नै पार्टीको वैधानिकतामाथि प्रश्न उठ्न थालिसकेको छ। मंसिरमा समेत महाधिवेशन गर्न नसक्ने अवस्था बनेपछि देउवा नेतृत्वको असफल भएको नेताहरूले बताउन थालेका छन्। 

विधान अनुसार कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री तथा एक कोषाध्यक्ष गरी १४ पदाधिकारी र १६८ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। 

त्यसो त सभापति देउवाले मंसिरभित्र महाधिवेशन गर्न सक्नेगरी कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने निर्देशन दिन भ्याए। 

‘पार्टी सभापतिले निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ। तपाईँहरूले यो प्रक्रिया चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ भन्नुभयो’  बैठकपछि पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले भनेका थिए। 

कहाँ अल्झियो? 

तोकिएको समय प्रभावित भएपछि महाधिवेशन माघको पहिलो सातासम्म सार्ने तयारी गरेको केन्द्रीय सदस्य मीन विश्वकर्मा बताइसकेका छन्। 

नेता विश्वकर्माले आइतबार थाहाखबरसँग भनेका थिए, ‘महाधिवेशन कार्यतालिकाअनुसार कुनै पनि तहको हुन नसकेपछि सबै प्रभावित हुने भइसक्यो। क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर जानुपर्छ।’ 

कांग्रेसको कार्यतालिकाअनुसार तीन महिनासम्म प्रदेश २ र अन्य गरी १३ जिल्लामा अझै वडा अधिवेशन समेत सुरु हुन सकेको छैन। सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबीचको विवादका कारण प्रदेश २ सहित रसुवा, बारालगायत केही जिल्लामा क्रियाशील सदस्यता समेत टुंग्याउन सकिएको छैन। 

चाडपर्व र बेमौसमी वर्षाका कारण महाधिवेशन कार्यतालिकाअनुसार गर्न नसकेको कांग्रेसको निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए। 

उनले भने, ‘अझै तिहार र छठ आउँदै छन्। बेमौसमी वर्षाले पनि कार्यतालिका प्रभावित बनायो। अब हामीले छठपछि मात्रै महाधिवेशन गर्नेगरी कार्यतालिका बनाउँछौँ।’

‘महाधिवेशन सार्न दिँदैनौँ’

पार्टीको वैधानिकतामै प्रश्न उठ्न थालिसकेको भएकाले अब पनि महाधिवेशन सार्न नदिने नेता अर्जुननरसिंह केसी बताउँछन्। 

उनी भन्छन्, ‘महाधिवेशन तोकिएको समयमा हुनुपर्छ भनेर हामीले स्पष्ट रूपमा सभापतिज्यूलाई भनिसकेका छौँ। विधानअनुसार चार वर्षमा गर्न सकिएन। विधानमा उल्लेखित भएको विशेष परिस्थितिमा एक वर्ष बढाइयो। त्यस्तो कुनै विशेष परिस्थिति त थिए तर विधानअनुसार हाम्रो असहमतिका साथ बहुमतको साथ बढाएपछि हामीले त्यसलाई स्वीकार गरेका थियौँ। त्यसपछि पनि अझै गर्न सकेको छैन।’

संविधानको सहारा समेत लिँदा समेत अझै नेतृत्व महाधिवेशन गर्न असफल भएकाले पार्टीको वैधानिकतामा प्रश्न उठेको उनको भनाइ छ। 

‘पाँच वर्षमा नभएपछि नेपालको संविधानको २६९ अनुसार भदौ २३ मै महाधिवेशन हुनुपर्ने हो। त्यसपछि अहिलेसम्म पनि हुन सकेको छैन। कुनै ढंगले पनि अधिवेशन सार्न हुँदैन। सम्भावना पनि छैन’‚ उनले थाहाखबरसँग भने, ‘वैधानिकता र राजनीतिक हिसाबले पनि हुँदैन। निर्वाचन समितिले दुईचार दिन तलमाथि गर्न सक्ला। त्यो बेग्लै कुरा होला।’

पार्टीको विधानले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक नचिन्ने उनले बताए। अझै पनि महाधिवेशन सार्न खोज्नु भनेको स्वार्थ र गैरजिम्मेवारपूर्ण भन्दा केही नभएको उनी बताउँछन्। 

‘पदाधिकारी र पूर्वपदाधिकारी बैठकलाई विधानले चिन्दैन। त्यो पार्टीको विधानविपरीत हो। माघमा सार्ने कुरा स्वार्थी पूर्ण र गैरजिम्मेवार हुने भएकाले हामीले स्वीकार गरेका छैनौँ। हेरौँ के हुन्छ?’‚ नेता सिंहको भनाइ छ। 

महाधिवेशन वेलामा हुन नसक्नुले नेतृत्व असफल भएको उनको आरोप छ। 

‘पदाधिकारी र पूर्वपदाधिकारी बैठकलाई विधानले चिन्दैन। त्यो पार्टीको विधान विपरीत हो। माघमा सार्ने कुरा स्वार्थी पूर्ण र गैरजिम्मेवार हुने भएकाले हामीले स्वीकार गरेका छैनौँ। हेरौँ के हुन्छ?’

‘मंसिरभित्रै हुन्छ’

केही जिल्लामा अझै वडा अधिवेशन नै सुरु नभएकाले महाधिवेशन केही दिन पर सर्नसक्ने नेतृ पुष्पा भूसाल बताउँछिन्। 

उनी भन्छिन्, ‘दुई नम्बर प्रदेश र केही जिल्लाको अझै वडा अधिवेशन सुरु हुन बाँकी छ। त्यो टुंग्याएपछि सबै जिल्लाको महाधिवेशन एकैपटक गर्ने भनेकाले केही ढिलाइ भएको हो तर मंसिरभित्र महाधिवेशन सक्ने योजना पार्टीको छ।’

महाधिवेशनको हाल तय भएको मितिभन्दा केही दिन पर जानसक्ने उनको ठम्याइ छ। 

‘केही जिल्लामा भएको विवादका कारण महाधिवेशनमा केही दिन ढिला हुन सक्छ तर विवादित जिल्लाको सकिएपछि मंसिरको माघमा होइन। मंसिरमै महाधिवेशन हुनेमा हामी विश्वस्त छौँ’‚ उनले भनिन्।  
  
महाधिवेशनको अन्योलबीच सभापतिमा सभापति देउवासहित  वरिष्ठ नेता पौडेलसहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापतिमा दाबी गरिरहेका छन्।

१३ औँ महाधिवेशनमा पराजित भएका पौडेलको दाउ योपटक सभापति हत्याउनेछ। संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्ने स्थिति नरहेकाले पौडेललाई पनि मुस्किल छ तर पौडेल समूहले एकल उम्मेदवार ल्याउने घोषणा गरिसकेको छ।

संस्थापनइतर समूहमा सबैले दाबी गरिरहेकै कारणले संस्थापनइतर पक्षबाट एकल उम्मेदवार तय हुने सम्भावना न्यून छ। देउवा र पौडेल मात्रै नभएर १३ औँ महाधिवेशनबाट तेस्रो शक्तिको रूपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ। सभापतिमा तेस्रो धारबाट सिटौला पनि दाबेदार हुने देखिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.