|

बैतडी : सुदूरपश्चिम प्रदेशमा बुधबार तेब्बरले कोरोना सङ्क्रमण बढेको छ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबारको तुलनामा बुधबार संक्रमण दर तेब्बरले वृद्धि भएको हो। मंगलबार १४ जनामा सङ्क्रमण देखिएकोमा बुधबार ह्वात्तै बढेर ४२ पुगेको छ।

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८ सय ४६  जनाको नमुना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ३६ जनामा आरटी पीसीआर र ६ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ३३ र  महाकाली अस्पतालमा तीनजनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई र कैलालीका १ जनामा सङ्क्रमण देखिएको हो।

यस्तै गएको २४ घण्टामा प्रदेशभर ५ जना सङ्क्रमण मुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा १ जनाको मृत्यु भएको छ। कञ्चनपुरका ६७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दशैँतिहारका लागि जिल्ला बाहिरबाट धेरै मानिस भित्रिनु, मेलापर्वले भीडभाड बढ्नु, केही दिनअघिको अविरल वर्षाका कारण धेरै मानिस एकै ठाउँमा बस्नु, स्वास्थ्यका मापदण्ड पालना नगर्नुले कोरोना सङ्क्रमण बढेको हुनसक्ने सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

उनले भने, ‘पछिल्लो समय स्वास्थ्यका मापदण्ड अपनाउनेको संख्यामा कमी देखिन्छ। यसले सङ्क्रमण बढ्छ, कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना अनिवार्य रूपमा गर्नुपर्छ, कुनै लक्षण देखिए तत्कालै स्वास्थ्य संस्था गइहाल्नुपर्छ।’

ढिलागरी स्वास्थ्यसंस्था जाँदा अकालमै ज्यान गुमाउनुपर्ने हुनसक्ने भएकाले समयमै उपचार गराउन आग्रह गरिएको छ।

यसअघि यो प्रदेशमा मंगलबार १४ जनामा सङ्क्रमण पुष्टि हुँदा ५ जना डिस्चार्ज भएका थिए। सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोनाका कारण ६ सय ४ जनाको मृत्यु भइसकेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.