‘प्रकाशनमा विविधता नहुँदा नेपालका सन्दर्भमा आख्यान पढ्नु मात्र पठन संस्कृति जस्तो देखियो’

|

काठमाडौं : पुस्तक पढ्नु आफूलाई बुझ्नु हो। आफूले अरूलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनु हो। पुस्तक पढ्नु सिकाइ हो। बुझाइ हो। कल्पनाको दुनियाँमा आफूलाई बेफिक्री छोडिदिनु हो। असल पुस्तकले मान्छेको दैनिकी, जीवनशैलीलाई परिवर्तन गरिदिने सामर्थ्य राख्छ। विकास बस्नेत पुस्तक अध्ययनमा रूचि राख्छन्।

बस्नेतले अरुन्धती रोयको पुस्तक माओवादी कमरेडहरूसँग, फिडेल क्यास्ट्रोको मेरो युवाकाल अनि स्टेफेन हकिङ र लुसी हकिङको जर्जको ब्रह्माण्ड यात्रा नेपालीमा अनुवाद गरेका छन्। ​कहिले काहीँ अखबारका पानामा उनको बौद्धिकताले ठाउँ ओगट्छ। कुनै बेला उनी फिल्मी समीक्षकको रुपमा चिनिन्थे। चार वर्षे फिल्मी समीक्षाबाट अस्थायी रुपमा बिदा भइसकेका छन्। फिल्म हेर्नु, वाइल्डलाइफ फोटोग्राफी र पुस्तकमा अम्मल बस्नेतलाई थाहाखबरकर्मी राजु पौडेलले पुस्तकवार्ताका लागि निम्ताएका छन्।

फिल्म, फोटोग्राफी र पुस्तक तपाईंको हकमा के हुन्? के होइनन्?

फोटोग्राफी, पुस्तक पठन, चलचित्र हेर्ने कुरा मेरा लागि दैनिकीको एक हिस्सा हो। लगाव हो, नशा हो। योबिनाको मेरो दैनिकीको कल्पना पनि गर्न सक्दिनँ। यो मेरा लागि कुनै पेशा हैन। जीविकोपार्जनको स्रोत हैनन्।

एक पाठकले पुस्तकमा के खोज्छ? अथवा विकास बस्नेतले कुनै पुस्तकभित्र खोज्ने आयामहरू के के हुन्?

त्यो चाहिँ म कुन विधाको पुस्तक पढ्दैछु भन्नेले निर्धारण गर्छ। जस्तै बीचमा मैले आख्यान पढें। विश्वभरका उत्कृष्ट ठानिएका आख्यान अघाइन्जेल पढें। तिनमा मैले पृथक पृष्ठभूमिका जीवन र जगतको कलात्मक प्रतिबिम्ब खोज्थेँ। पछिल्लो समय जीव विज्ञान, इभोलुसनरी बायोलोजी, एन्थ्रोपोलोजी, प्राग र प्राचीन इतिहास र ऐतिहासिक विषयवस्तुलाई  महत्त्व दिएर पढिरहेको छु। तिनमा म लम्बेतान समय र बृहत्तर स्पेसमा हाम्रो वर्तमान स्थानको समीक्षा खोज्छु। अर्थात् स्पेश र टाइमको बृहत् क्यानभासमा जीवनलाई हेर्ने ‘बर्ड आइभ्यु’ खोज्छु।

त्यस्ता किताबहरूमा म तथ्य, तथ्यांक, शोधको आधिकारिकता हेर्छु। अचेल त कसैका कविता पढ्दा पनि त्यो कविता तथ्यगत छ कि छैन भन्ने लाग्ने रहेछ। (हेहे….) कुनै पनि पुस्तकमा तथ्य र वस्तुगत प्रमाण र अनुसन्धानको समष्टिगत आयामहरू मेरा लागि सबैभन्दा महत्त्वपूर्ण हुन्। 

तपाईंको अध्ययनको रोजाइ ज्यादातर मानव सभ्यता, मानव तथा जैविक इतिहाससँग बढी लगाव देखिन्छ। कहिले काहीँ लेख पनि पढ्ने अवसर पाइन्छ। ती पुस्तकको अध्ययन र तपाईंले लेख्ने लेखबीचको सम्बन्धलाई कसरी सम्बोधन गर्नुहुन्छ?

म पहिले पाठक हुँ अनि मात्रै लेखक। हाललाई लेखनी मेरो अध्ययनसँग जोडिएको बाइप्रडक्ट कर्म मात्रै हो। तर‚ कुनै कुरा लेख्दैछु भनेर पढ्न थालियो भने पढाइ अझै गम्भीर र व्यवस्थित हुने रहेछ। जस्तो मैले केही समयअगाडि 'सिन्धुघाटीको सभ्यता'बारे लेख्नु अघि केही किताब मात्रै पढेको थिएँ।

दीपक सापकोटासँग यसबारे लेख्ने कुरा भएपछि यस विषयमा मेरो अध्ययन अलि व्यवस्थित हुन थाल्यो। जस्तो रक्सीबारे कतै आर्टिकल पढेको थिएँ। त्यसलाई आफूले पनि लेखौं न भन्ने लाग्यो। हजारौं वर्षअघि देखिको रक्सीको इतिहासबारे आर्टिकल लेखेर तयार पार्दासम्म रक्सीको सांस्कृतिक इतिहासबारे मेरो बुझाइ फराकिलो भयो। मेरा लागि लेखाइ भनेको आफ्नो अध्ययनको आयाम फराकिलो पार्ने प्रयास मात्र हो। साथै आफ्नो बुझाइबारे पाठकसँग अन्तरक्रिया गर्ने मेसो हो।

तपाईंको जीवनको महत्त्वपूर्ण पक्ष निजामती क्षेत्रमा बितिरहेको छ। पछिल्लो समय कर्मचारी समायोजनको गरम र चरम मोडलाई एकातिर छँदैछ। समय व्यवस्थापन, जीवनको लय र पुस्तक पठनबीच त समय व्यवस्थापनको तारतम्य कस्तो छ? कि पढ्ने लत लागेपछि समयको व्यवस्थापन आफैँ मिल्दो रहेछ?

पछिल्लो दुई वर्षमा मैले गर्ने कामको प्रकृति अलि फरक छ। दुई वर्षअघि अलि बढी व्यस्त हुन्थेँ म। अहिले मसँग पर्याप्त समय छ। घरभन्दा टाढा छु। पारिवारिक व्यस्तता पनि छैन।  दिनको पाँच घण्टा त पढाइका लागि छुट्याउँछु। उसमाथि यो जीवनशैली वा दिनचर्याको हिस्सा बन्नसके समय त्यसै निस्कन्छ। 

पढ्नका लागि कयौं विकल्प हामीकहाँ छन्। तपाईंका लागि कुन विकल्प सहज छ? यसैमा अर्को कुरा पनि थपिहालें, ज्यादै सुनिएको तर  उक्त पुस्तकले नमज्जा लागेको कुनै क्षण?

नेपाल र नेपालीमाथि लेखिएका पुस्तक दुर्लभ नै छन्। कम्तीमा म कार्यरत भूगोलबाट पहुँच बाहिर छन्। कुनै अर्काइभ वा लाइब्रेरीबाट टाढा छु। पछिल्लो समय मैले अध्ययन गर्ने विषयको पुस्तकहरू अंग्रेजी माध्यमका हुन्। केही समयअगाडिसम्म 'अमेजन'बाट हार्डकपी किन्थें‚ विदेशमा रहेका आफन्त वा साथीभाइको सहयोगमा। अमेरिका बस्ने साथी प्रकाश बुढाथोकीजीले धेरै किताब पठाइदिनु भयो/हुन्छ। अहिले चाहिँ अमेजनको किन्डलबाट म अधिकांश पुस्तक किन्छु।

मैले सबैभन्दा मह्ँगोमा बसाइँसराइसम्बन्धी एउटा किताब किनेको थिएँ। प्राग्ऐतिहासिक मानव बसाइँसराइबारे 'द हिस्ट्री एण्ड जिओग्राफी अफ ह्युमन जिन' भन्ने। रक्त समूहको आधारमा गरिएको विश्लेषण रहेछ त्यो। उक्त पुस्तक नेपालसम्म आइपुग्दा १८ हजार रुपैयाँ जति लागेको थियो। तर, ल्याएको  केही दिनमै  त्यो किताब 'आउटटेड' भइसकेको रहेछ भन्ने लाग्यो। खासगरी डिएनए विश्लेषणको बृहत् डाटाबेश  र त्यसमाथि पनि प्राचीन डिएनए विश्लेषण समेतको अभूतपूर्व सफलताले  प्राग्ऐतिहासिक मानव बसाइँसराइबारे नयाँ तथ्यहरूको सन्दर्भमा मैले उक्त किताब किन्नु मूर्खता नै थियो।  त्यसबेला बडो नमज्जा लागेको थियो। 

नेपालमा पुस्तक लेखिन्छन्‚ आउँछन्‚ जान्छन्। कति पुस्तक आएको कुरा लेखक र प्रकाशकलाई मात्र थाहा हुन्छ। पुस्तकले दिगो असर पाठकमा पर्न नसक्नुमा को कति जिम्मेवार छ

लेखक, मिडिया र प्रकाशकहरू आफैं जिम्मेवार छन्। यो स्वीकार गर्नुपर्छ। हामीकहाँ पठन संस्कृति साह्रै खस्किएको छ। अखबारका पाना र पुस्तक हेर्ने हो भने निबन्ध र आख्यानबाहेक केही पनि छैनन्। पाठकलाई अन्य विधाका पुस्तक पढ्ने विकल्प नै छैन। जीव विज्ञान, समाजशास्त्र, भूगर्भशास्त्र, मानवशास्त्र वा अन्य आम चासोका विषयलाई सम्बोधन गर्न सक्ने किताब कमै निस्केका छन्। पपुलर साइन्समा खडेरी नै छ। विदेशमा साइन्टिफिक अमेरिकन, न्यू साइन्टिस्टजस्ता म्यागजिन अझै निरन्तर प्रकाशित भइरहँदा हाम्रोमा विज्ञान विषयमा प्रतिबद्ध पत्रिकाका त कुरै छाडौं, नियमित पत्रिकाको कुनै कोलम समेत दुर्लभ छन्।

लेख्नु भनेको आत्मपरक निबन्ध लेख्नु, समीक्षा लेख्नु, कथा कविता लेख्नुबाहेक अन्य केही लेख्नु होइन भन्ने देखिएको छ। पाठकलाई भिन्न स्वाद पनि छ है भनेर रूचि जगाउन सकेका छैनौं। लेख्नुपर्ने धेरै विषय छन्। रूचिकर हिसाबले तिनलाई प्रस्तुत गर्ने हो भने पाठकलाई प्रभाव नपार्ने  कुरै हुँदैन। केही समय अगाडि मैले पसिनाको विज्ञानबारे बेजोड किताब पढेको थिएँ। पसिना जस्तो विषयमा रूचिकर हिसाबले लेख्न सकिँदो रहेछ।

यसको मतलव क्षमताका हिसाबले हाम्रा पाठक अब्बल छन्। तर, हामीकहाँ निस्किने पुस्तक, अखबारीय लेखनले पाठकका क्षमतालाई नै नजरअन्दाज गरिदिए भन्दा फरक नपर्ने रै’छ?

संसारभर छापिएका किताबमा पाठकको पहुँच र प्राप्त गर्ने ल्याकत छ। तर, प्रकाशनमा विविधता नभएकाले गर्दा नेपालका सन्दर्भमा आख्यान पढ्नु मात्र पठन संस्कृति हो जस्तो देखिएको छ।

अहिले केही गम्भीर पुस्तकहरू आएका छन। जस्तो सुजित मैनालीको सती, केदार वाशिष्ठको नेपाल विद्या इत्यादि। तर‚ अझै पर्याप्त छैनन। पाठकलाई रूचि जगाउन नसक्ने अनि पुरानै विषयवस्तुमा लेखिरहने हो भने पाठकसँग विकल्प हुन्न। कसरी पठन संस्कृति बढ्छ? परम्परागत शैलीबाट पढेकोबाहेक समाज, भूगोल, विज्ञान, संस्कृति, मानवशास्त्र बुझाउने गरेर कसले लेखिरहेको छ? नोहाल हरारीको किताब 'चिल्ड्रेन भर्सन'मा आइसकेको छ। त्यही स्वादमा नेपालीमा पनि दिन सकिन्थ्यो होला। तर, गर्ने कसले? 

अन्तर्वार्ता लिने क्रममा पनि तपाईंको हातमा पुस्तक नै छ। त्यसैले अचेल के पढ्दै हुनुहुन्छ भनेर सोध्नु मेरा लागि नै हानिकारक हुने देखियो। (हेहे...) ‘इभोल्युसनरी बायोलोजी’सम्म आइपुग्न पनि लामो कालखण्ड लाग्यो।  सुरुवाती दिनमा पुस्तकप्रति लगाव दिलाउन कस्ता कस्ता पुस्तकको प्रेरणादायी भूमिका छन्?

सानोमा कथा पढ्न रूचि थियो। आख्यानले निर्माण गर्ने दुनियाँले मेरो बाल मस्तिष्कमा अमीट छाप बनाउँथें। जस्तो मधुमालतीको कथाले धेरै दिनसम्म मेरो मथिङ्गल हल्लाएको थियो। मसँग उपलब्धताको हिसाबले कथाहरू हुन्थे। महेन्द्रमालामा भएको आफ्नो भाग तुरेपछि म माथिल्लो कक्षाका दाइदिदीहरूको नेपाली किताब मागेर पढ्थें।

कताबाट हो त्यसबेलाको प्रौढ शिक्षाको नयाँ गोरेटो पनि घरभरि थियो। म त्यो पनि पढ्थें। पढाइप्रतिको मेरो आरम्भिक रूचि यही थियो। यसरी मेरो पठन लगाव कथा र आख्यानबाट सुरु भएको हो। पछि तराईमा हुर्किएँ। पठनको दायरा अलि फराकिलो भयो। कमिक्स, हिन्दी बालपत्रिका, प्रकाश कोविद टाइपका साहित्यले त्यहाँ मलाई इङ्गेज गरायो। काठमाडौं छिरेपछि म बल्ल कुवाबाट समुद्रमा पुगें झैं भयो।

विद्यार्थी काल, काठमाडौंको बसाइ अनि पुस्तकप्रति लगाव। आर्थिक अभाव, अभावले सिर्जना गरेको तनाव। तनावबीच पुस्तक खरिद। रोचक किस्साका खजाना त पक्कै कम्ती छैन होला?

५८ सालतिर भैंसेपाटीस्थित अस्मिता स्कुलमा पढाउँथे। स्कुलको तलब आएको दिन म पुस्तक किन्न जान्थें। तर, पैसा पर्याप्त नहुने। त्यसबेला भोगीराज चाम्लिङलगायतका साथीहरूले रकम संकलन र कोष खडा गर्ने अभियान चलाउनुभएको थियो। किस्तामा किताब किन्ने। त्यहाँ जम्मा भएको रकमले किस्तामा पुस्तक किन्ने योजना थियो।

त्यो बेला स्टेफेन हकिङको 'द युनिभर्स इन नटशेल' लगायत तीनवटा किताब भोगीराजजीको पैसाले किनेको थिएँ। सायद यो योजनाको पहिलो र अन्तिम ग्राहक मै थिएँ। भोगीराजजीको बाँकी पैसा आजसम्म सायद तिरेको छैन। अब भोगीराजजीलाई सम्झाउनुपर्ला। हेहे…।

पढ्दै जाँदा कुनै त्यस्तो पुस्तक छ, जुन पुस्तकका रुपमा होइन फिल्मका रुपमा आउनुपर्छ वा पर्थ्यो?

जोशे सारागामोको 'गोस्पेल अर्कोर्डिङ टु जिसस क्राइस्ट' भन्ने एउटा पुस्तक छ। एक लौकिक जिजसको जीवनी जस्तो। ईश्वरत्वको कपडा फ्याँकेर नाङ्गिएका आम जिजसबारे। पुस्तक यति सरल र बेजोडसँग लेखिएको छ कि यो फिल्ममा आए क्या गजब हुन्थ्यो भन्ने लाग्छ। कतै आएर मैले मेसो नपाएको पनि हुन सक्छ। मैले फिल्म बनाउन पाए यसरी बनाउथेँ होला भनेर कल्पना पनि गर्थें/गर्छु।

समय, परिस्थिति र उमेरको परिवर्तनले जीवनमा ठूलो अर्थ राख्छ। कुनै कुनै पुस्तक यस्ता बनिदिन्छन् जसले दैनिकीलाई नै परिवर्तन गर्ने सामर्थ्य राखिदिन्छन्। तपाईंका हकमा पक्कै लागू भए होलान्।

समय कालखण्डले फरक पार्ने विषय हो यो। कुन कालखण्डमा मैले कुन पुस्तक पढेँ भन्ने कुराले परिवर्तनको सामर्थ्य जोड घटाउ गर्न सक्छ। युवाकालमा म्याक्सिम गोर्कीको आमाले ज्यादै प्रभाव पारेको हो। पछिल्लो समय मलाई ज्यादै प्रभाव पारेको पुस्तकहरू भने डार्विनको क्रमविकासको सिद्धान्त र यही सिद्धान्तको फ्रेमवर्कभित्र रहेर जीवन र जगतको व्याख्या गरिएका पछिल्ला पुस्तकहरू हुन्। यस्ता पुस्तक पढ्दा जीवनलाई बृहत् ल्याण्डस्केपभित्र राखेर सापेक्षमा हेर्न  सिकाउने रहेछ।

मुल कुरो यस धरतीमा अस्तित्वमा आएर लोप भएका, अहिले अस्तित्वमा रहेको तथा अब अस्तित्वमा आउने जीवको विविधताको सटिक र वस्तुगत व्याख्याले मलाई चकित पार्छ। त्यति मात्रै हैन, मानव अस्तित्व कुनै विशिष्ट घटना हैन भन्ने बुझाएर मेरो अस्तित्वको अहंकार चकनाचुर हुँदा म आनन्दित हुन्छु।

अहिलेको पुस्ताले पढ्ने पुस्तकको सूची भन्नुपर्‍यो भने दिमागमा आउने केही पुस्तकको नाम?

रिचार्ड डकिन्सको द ग्रेटेस्ट शो अन अर्थ, मार्सिया जोर्नेरुडको टाइमफुलनेस, पिटर फ्र्याङकोपनको द सिल्करोड, जिम अल खलिलिको द वल्ड एकोर्डिङ टु फिजिक्स र  मिचियो काकुको द फ्युचर अफ ह्युम्यानिटी।

पुनर्लेखन गर्न मन लागेका कुनै पुस्तक?

मलाई ओरिजिन अफ स्पेसिजलाई अहिलेका नवयुवा पाठकहरूका लागि हुने गरी नेपालीमा पुनर्लेखन गर्न मन छ। अंग्रेजीमा चाहिँ यो पर्याप्त छ। 

कुनै कुनै पुस्तक पढ्दा–पढ्दै बीचैमा छोड्नु पर्ने अवस्था पनि आइदिन्छ है?

पुस्तक फालिहाल्न मन नलाग्ने, कतै थन्काएर राखिदिने अनि मन परेका पुस्तकले ति पुस्तक छोपिदिने गरिदिन्छु। 

तपाईंका धेरै मित्रहरू छन्। तीमध्ये दुई मित्रको  कोठाबाट सुटुक्क पुस्तक उठाएर झोलामा हाल्न पाउनुभयो भने कुन कुन पुस्तक चोरीको शिकार बन्थे होलान्?

विनोद विक्रम केसीको कोठामा गएर किताब चोर्न मन छ। अफसोच उसका कोठामा कुन कुन किताब होलान् भन्ने मलाई ठ्याक्कै थाहा छैन। उसले एक पटक एक आख्यान दिएको थियो। मैले आजसम्म पढेको पनि छैन। त्यसैले अब जुन किताब चोर्छु त्यो चाहिँ पढ्छु।

अर्को साथी गणेश पौडेलले एक पटक सरुभक्तको 'समय त्रासदी'  भन्ने किताब फोटोकपी गरेर साथी राजन गोदारकोमा छोडिदिएको थियो। उसले मलाई समय त्रासदीको सक्कल प्रति दिएन। मैले फोटोकपीको पैसा पनि दिइनँ। अब मौका मिल्यो भने गणेशसँग भएको त्यो मुल किताब नै चोरिदिने हो।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.