|

धनकुटा : झिलिमिलीको चाडको रुपमा चिनिने तिहार आउन केही दिन मात्र बाँकी छ। तिहारको आगमनसँगै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएका छन्। दशैंलगत्तै गाउँघर फुलेको फूलले गाउँघर ढकमक्क भए पनि कात्तिक पहिलो साता आएको बेमौसमी झरीले फूल कुहिन थालेको छ।

जसका कारण तिहार लक्षित फूल खेती गर्दै आएका धनकुटाका किसानले यस वर्ष फूल बिक्रीबाट सोचे जस्तो आम्दानी लिन नसक्ने भएका छन्। धनकुटा नगरपालिका-३ सिप्तीङका किसान राजेन्द्र राईले विगतका वर्षहरूमा तिहारको समयमा फूल बिक्री गरेर ६ महिनाको लागि परिवारको सबै खर्च जुटाउँदै आए पनि यो वर्ष भने अत्याधिक वर्षाका कारण फूल कुहिएर तिहार खर्च पनि धान्छ कि धान्दैन भन्ने अवस्थामा रहेको बताए। वर्षाका कारण फूल सबै ढलेको कारणले समस्या भएको उनले बताए।

यस वर्ष फूल रोप्ने समय र गत साताको झरीको कारण उत्पादनमा कमी आएको किसान विनिता श्रेष्ठ बताउँछिन्। उनका अनुसार गत वर्ष लकडाउनका कारण बिउ‚ मल नपाएर उत्पादनमा कमी आएको र यो वर्ष वर्षाका कारण फूल किसान मारमा परेको उनको भनाइ छ। फूल लगाउने समय फागुनदेखि साउनमा पनि अत्याधिक वर्षा भएको र फूल टिप्ने बेलामा आएको बेमौसमी वर्षाले फूल उत्पादनमा असर परेको श्रेष्ठको भनाइ छ।

तिहारको लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल सिँगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै, भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर गलाभरिको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्व रहेको छ।

तर, नेपालमा उत्पादित फूलभन्दा भारतबाट आयात गर्ने प्रवृत्ति बढेकाले फूल खेती गर्ने किसानलाई समस्या भएको किसान रेशबहादुर राईको गुनासो छ। १५ रोपनीमा जमिनमा फूल खेती गरेका राईले भारतीय फूलले निकै असर गरेको र भारतको तुलनामा उत्पादन गर्न नसक्ने र गरे पनि बजारको पहुँच नै नभएको बताए। २० वर्षदेखि फूल खेती गर्दै आएका राईले यो वर्ष खेती लगाउने बेला वर्षा भएकाले फूल बढ्न नपाएको र हालै भएको बेमौसमी वर्षाले पनि असर गरेको बताए।

लाखौँ आम्दानी

तिहारमा पूर्वका अधिकांश ठूला शहरमा फूलको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका किसानले यस पटक पनि लाखौं रुपैयाँ बराबरको फूल बिक्रीका लागि तयारी गरेका छन्।

धनकुटा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र १० मा फूलको व्यावसायिक खेती हुन्छ। धनकुटाको लाँकुरे, चिउरेबोटे, सिप्तिङ, स्याउले, निगाले, कागते, भीरगाउँ लगायतका ठाउँमा फूलको व्यावसायिक खेती हुने गरेको छ। उक्त क्षेत्रका करिब १०० जना किसानले सयपत्री फूलको व्यावसायिक खेती गर्छन्। यहाँ उत्पादित फूल धनकुटासहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा पुग्ने गरेको छ।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रतिरोपनी जग्गाबाट ७० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ।

तर‚ पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको किसानहरू बताउँछन। १० वर्षदेखि खेती गर्दै आएका जितेन्द्र राईले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने बताए। व्यापारीहरू बारीमा नै आएर अग्रिम बुकिङ गर्दै रकम दिने गर्दछन्। तिहारका लागि फूलको व्यावसायिक खेती गर्दै आएका धनकुटाका किसानहरूले यस वर्ष भने सोचेजस्तो फूल उत्पादन गर्न सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.