|

पर्सा :  कोरोनाबाट बच्ने उपाय र स्वास्थ्य सुरक्षा सतर्कता पर्सामा फोस्रो सावित भएको छ। हाट बजार होस् वा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अध्यक्षको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा  स्वास्थ्य सुरक्षा सतर्कतालाई बेवास्ता गरिएको छ।

कोरानाबाट बच्न दूरी कायम गरिएको छैन। जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरू बिनामास्क उपस्थित हुन्छन्। नियम पालना गराउने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भने आफ्नो कक्षमा मास्कमा भेटिए। 

निर्वाचन लक्षित भीड! 

निर्वाचन नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयमा निर्वाचनलाई लक्षित गरी नागरिकता बनाउनेको भीड लागेको कर्मचारीहरु बताउँछन्। नागरिकता बनाएर मतदाता परिचयपत्र बनाउनका सेवाग्राहीहरु आएको कर्मचारीहरु बताउँछन्।

सेवाग्राही धेरै आउन थालेकाले साविकका जनशक्तिले मात्र सेवा प्रवाह गर्न सकश भएको उनीहरुको तर्क छ।  विभिन्न स्थानीय तहबाट ट्याक्टर रिजर्भ गरेर पनि स्थानीय केही नेताहरुले सेवाग्राही लिएर आउन थालेका छन्। ​

गाडी रिजर्भ गरी एकै पटक धेरै सेवाग्राही आउँदा कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र कार्यालयले प्रवाह गर्ने सेवामा केही तालमेल नमिलेको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले स्वीकारे। आए जति सबै सेवाग्राहीको काम एकै दिन नसकिने उनीहरुले बताए।

स्थानीय नेताहरुले आफूलाई भोट दिने खालको उमेर समूहका युवायुवती र महिलालाई गाडी रिजर्भ गरी जिल्ला प्रशासन कार्यालयसम्म नागरिकता बनाउन ल्याउने र मतदाता परिचयपत्र बनाइ फर्काउने गरेको कर्मचारीहरु बताउँछन्। 

८-९ दिनमा नागरिकता

पर्साको बहुदरमाई नगरपालिका-६ का सराजुल मियाले ८/९ दिनमा बल्ल नागरिकता बनेको बताए। यही कुराले पनि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको कत्तिको भीड छ भन्ने अनुमान लगाउन गाह्रो नभएको जिल्ला प्रशासन कार्यालयमा भेटिएका स्थानीय सुभाष साहले बताए।

‘सेवाग्राही कसरी आएका छन्? बाहिरी कुरा त खासै थाहा हुन्न, तर भीड बढेको छ‚’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भने। अहिले दैनिक ८० वटा नागरिकता बनिरहेको उनले बताए। 

दैनिक नागरिकता बनाउन आउने मानिसको संख्याभन्दा नागरिकता बन्ने संख्याभन्दा निकै कम रहेको छ। पछिल्लो समयमा कोरोनाबाट संक्रमित हुनेको संख्या खासै नभएकाले पहिले जति कडाई कतै पनि छैन। जिल्ला प्रशासन कार्यालयमा पनि अवस्था तेस्तै भएको उनीहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.