|

काठमाडौं : सवारी चालक अनुमति पत्र  (लाइसेन्स) अनलाइन आवेदन फाराम भर्नका लागि आएको समस्या हटेसँगै आवेदकले आजदेखि फेरि आवेदन दिन सक्ने भएका छन्। 

धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टम बिग्रिँदा फारम भर्न रोकिएको थियो। समस्या समाधान भएकाले आजदेखि फेरि फारम भर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। 

हिजो एकैदिन ८-१० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरे।  सोमवारदेखि खुलेको अनलाईन आवेदन फारम तत्काल बन्द नहुने भएकाले हतार गर्नु नपर्ने उनको भनाइ छ। 

कोरोना संक्रमणको जोखिमका कारण गत बैशाख १६ गतेदेखि बन्द भएको आवेदन फारम सोमवारदेखि खुलेको हो। हिजोसम्म एक लाख भन्दा धेरैले फारम भरिसकेको उनले जानकारी दिए। 

आजभोलि फारम भरेकाले आगामी पुस माघ महिनातिर सवारी साधनको ट्रायल दिन पाउने गरी तयारी गरिएको उनको भनाइ छ। यसअघि नै ट्रायल पास गरेका पाँच लाख भन्दा धेरैको लाइसेन्स आगामी मंसिरभित्र बाँड्ने गरी विभागले काम गरिरहेको पनि महानिर्देशक घिमिरेले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.