|

काठमाडाैं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दुई ललितपुरे टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा ललितपुरका दुई टोली फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुने भएका हुन्।

कुपन्डोलको क्लब फ्रेन्ड्स ए डिभिजनको रैथाने क्लब हो भने सातदोबाटो यसैपटक मात्र ए डिभिजनमा प्रवेश गरेको टोली हो। सातदोबाटो ‘बी’ लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो।

कात्तिक २९ गते दशरथ रंगशालामा बेलुकी ५ बजे सुरु हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ। लिग फुटबल दर्शकले पनि हेर्न पाउने भएका छन्। प्रतियोगिताको विजेताले ७५ लाख पाउने जनाइएको छ। यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छ। हरेक खेलको विजेताले ५० हजार पाउने छन्।

खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार पाउने छन्। फागुन १४ गतेसम्म चल्ने लिगमा ‘ए’ डिभिजनका १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन्। कुल ९१ खेलहरू हुने लिगमा, दशरथ रंगशालाका साथै एन्फा कम्प्लेक्स सातदोबाटोमा पनि खेल हुनेछ।

यो संस्करणमा लिगका पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा हुनेछन्। अघिल्लो सिजनको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको थियो। क्लबहरूले धमाधम नयाँ–नयाँ खेलाडीहरूलाई आफ्नो क्लबमा अनुबन्ध गरिरहेका छन्।

सातदोबाटोको परीक्षा सुरु

सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै सातदोबाटो युथ क्लब २३ वर्षपछि शीर्ष डिभिजनमा बढुवा भएको हो। वि.सं २०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन छनोट, सी डिभिजन र त्यसको केही वर्षपछि बी डिभिजनमा उक्लेको थियो। तर जति उसलाई सी बाट बी मा आउन संघर्ष गर्नुपरेको थियो त्योभन्दा कम समयमा ए डिभिजनमा उक्लिएको हो।

यो संस्करणमा शीर्ष तीनभित्र रहेर लिग सक्ने योजना सातदोबाटोको रहेको छ। यसअघि बी डिभिजनमा दुई सिजन उपाधि नजिक पुगेर पनि ए डिभिजनमा पुग्न वञ्चित भएको थियो।

ए डिभिजनमा खेल्ने १४ क्लबहरू

मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, फ्रेण्ड्स क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, च्यासल युथ क्लब, सातदोबाटो युथ क्लब, ब्रिगेड ब्वाइज क्लबले ए डिभिजनमा खेल्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.