|

काठमाडौं :  लामो समयदेखि चर्चामा रहेको  ई-पासपोर्ट आगामी  मंसिर पहिलो सातादेखि जारी हुने भएको छ। ई-पासपोर्ट छाप्ने तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ।  

मन्त्रिपरिषद् बैठकले २०७५ साउनमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई स्तरोन्नति गर्दै ई-पासपोर्टमा जान विभागलाई सैद्धान्तिक सहमति दिएको थियो। यसको एक महिनाअघि असारमा ई-पासपोर्टमा जाने प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद् लगेको थियो।

त्यसपछि थप छलफल गर्नुपर्ने भन्दै प्रस्तावलाई मन्त्रिपरिषद्ले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पठाएको थियो। समितिको सुझावका आधारमा मन्त्रिपरिषद्ले गत वर्षको साउनमा ई-पासपोर्टमा जान स्वीकृत  दियो। त्यससँगै विभागले प्रक्रिया अगाडि बढाएको हो। 

ई-पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पूर्वाधार जडान गरिसकेको राहदानी विभागका निर्देशक शरदराज आरणले जानकारी दिए। निर्देशक आरणले भने, ‘सबै तयारी गरिसकेका छौं। पासपोर्ट छपाइका लागि कर्मचारीलाई तालिम दिइरहेका छौं। अब मंसिर पहिलो साताबाट सञ्चालनमा ल्याउने छौं।’

हाल सञ्चालनमा रहेको एमआरपीमा प्रश्न उठेपछि ई–पासपोर्ट जारी गर्न लागेको विभागले जनाएको छ। ई-पासपोर्ट एमआरपीभन्दा विश्वसनीय र भरपर्दो मानिँदै आएको छ। ई-पासपोर्ट जारी भएपछि नक्कली पासपोर्ट बनाएर विदेश जाने निरुत्साहित हुने विभागको भनाइ छ। 

राहदानी विभागले गत वर्ष कात्तिक पहिलो साता फ्रान्सेली कम्पनी आइडियाले आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्ब रुपैयाँभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको थियो।

सुरक्षा र संवेदनशीलताका कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २०२५ सम्म ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ। उक्त मापदण्ड पूरा गर्न तत्काल कदम चाल्नुपर्ने भएपछि हतारमा सरकारले फ्रान्सेली कम्पनीलाई ई-पासपोर्ट छपाइ दिएको हो। आइकाओले मापदण्ड तोके पनि अनिवार्य भने भनेको छैन।

यस्ता छन् ई-पासपोर्टका फाइदा 

नेपालमा हाल  सञ्चालनमा रहेको  पासपोर्टमा व्यक्तिगत सूचना छैन। ई-पासपोर्टमा व्यक्तिगत सूचनादेखि  ‘बायोमेट्रिक डाटा’सम्म राखिन्छ। यसकारण ई–पासपोर्टलाई अहिले विश्वकै सबैभन्दा सुरक्षित पासपोर्ट  मानिँदै आएको छ। ई–पासपोर्टमा एउटा चिप राखिन्छ। जसमा पासपोर्टवाहकको औंठा छाप, आँखाको नानीदेखि तस्बिरसमेत हुने गर्छ।

ई-पासपोर्टमा पोलिकार्बनेटको प्रयोग हुन्छ। जसले गर्दा पासपोर्ट भाँचिने, च्यातिने वा पानीमा भिज्दा बिग्रने समस्या आउने छैन। एमआरपीमा भिसा पेजको संख्या ३२ मात्र छ। तर, ई–पासपोर्टमा दुई पेज थपेर ३४ पेज राखिनेछ। ई-पासपोर्टका लागि नागरिकताबाहेक राष्ट्रिय परिचयपत्र समेत बुझाउनुपर्नेछ।

अहिले विश्वका ११५ मुलुकले विद्युतीय राहदानी कार्यान्वयन गरिसकेका छन् भने अन्य मुलुक पनि यसतर्फ उन्मुख छन्। एमआरपीभन्दा थप सुरक्षित, विश्वासिलो, व्यक्तिको विवरण प्राप्त गर्न र पहिचान गर्न सहज, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचनाको गोप्यता कायम  विद्युतीय राहदानीले सहजता कायम हुने दाबी गरिएको छ। १० वर्ष उमेरमाथिकालाई १० वर्ष समयावधि अवधिको राहदानी बुक उपलब्ध हुनेछ। त्योभन्दा कम उमेरका बालबालिकालाई पाँच वर्ष अवधिको राहदानी दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.