|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। आइतबार बजार ५५.५ अंकले उकालो लागेको छ।

योसँगै नेप्से परिसूचक दुई हजार आठ सय ३७.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर पाँच सय ३०.४६ को विन्दु पनि पुगेको छ।

कारोबार रकम बढेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

आज विकास बैंक समूह सर्वाधिक ६.५४ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ५.९६ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ५.२९ प्रतिशत, जलविद्युत समूहमा ५.५ प्रतिशत, वित्त समूहमा ३.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.०२ प्रतिशत, अन्य समूहमा ०.१४ प्रतिशत, लघुवित्त समूहमा २.६ प्रतिशत, जीवन बीमा समूहमा १.४७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५९ प्रतिशत र लगानी समूहमा ३.१४ प्रतिशतले बढेको छ। आज बैंकिङ समूहमात्रै ०.१६ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये दुई सय ३२ कम्पनीका एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँमा किनबेच भएका छन्। आज आँखुखोला जलविद्युतको सर्वाधिक ३१ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको २८ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेष्ट बैंकको २७ करोड ७९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २४ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ९३ लाख रुपैयाँ, अपी पावरको २२ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै एनआईसी एसियाको १९ करोड ७० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १७ करोड ६७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ५९ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको १६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आइतबार १० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। युनाइटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त र हिमालयन ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशत तथा लुम्बिनी विकास बैंक, पाँचथर पावर कम्पनी, साहस ऊर्जा, रैराङ हाइड्रोपावर, कामना सेवा विकास बैंक र सानिमा माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज सबैको लघुवित्त र सिनर्जी पावरको सेयरमूल्यमा ९ प्रतिशत बढीले वृद्धि भएको छ। आज एभरेष्ट बैंकका सेयरधनीहरूले धेरै गुमाए। यो बैंकको सेयरमूल्य ६.५ प्रतिशतले घटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.