|

जुम्ला : जुम्लामा लाम्रा संवाद-२ सुरु भएको छ। ’धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिको सान, रमणीय पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ’लाम्रा संवाद गाउँगाउँका कुडा’को दोस्रो संस्करण १६, १७ र १८ गतेसम्म सञ्चालन गरिएको हो।

लाम्रा संवादले कर्णालीको मौलिकता बचाउने मूल उद्देश्य राखेको छ। यो लाम्रा संवाद गाउँका कुडा साहित्य सम्मेलनको ढाँचामा गत वर्षदेखि सुरु भएको  थियो। तर अहिले गाउँका कुडा मात्रै नभएर जिल्लाभरका गाउँगाउँका कुडामा रूपान्तरण भएको छ। जसको नामकरण लाम्रा संवाद, ‘गाउँगाउँका कुडा’ रहेको संयोजक नन्दप्रसाद चौलागाईले बताए।

उनले भने, ‘यो कार्यक्रम कात्तिक १८ गते तातोपानी गाउँपालिकाको लाम्रामा हुनेछ।’ कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हुनाले भौगोलिक, सामाजिक र राजनीतिक रूपमा सदियौंसम्म अलग्गिए पनि यहाँका हरेक दुर्गम बस्तीको जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकिया विकसित भएको संयोजक चौलागाईंको दाबी छ।

उनले आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्ने भएको हुनाले ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना बढी भएकाले पनि लाम्रा संवाद जरुरी भएको पूर्वसंयोजक धनप्रसाद चौलागाईले बताए।

उनले भने, ’हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण भएको छैन। पुरानो र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न सकिन्छ।’

उनले भने, ‘यसको पहल स्थानीय तवरबाटै गर्न सके अझ प्रभावकारी हुने तथ्यलाई मनन गर्दै सकारात्मक सन्दर्भ र विषयको चर्चा र बहसमार्फत यस्ता विशेषताको उजागर गर्ने उद्देश्यले लाम्रा संवाद गर्न थालिएको हो।’ अघिल्लो वर्ष तीन दिनसम्म चलेको संवादमा गाउँको समग्र परिवेश र विशेषता बोकेका विभिन्न ११ वटा सत्रमा स्थानीय वयोवृद्ध, योगदानकर्ता र जानकारले आ–आफ्ना ज्ञान र अनुभव साटेको उनले बताए।

पहिलो संस्करण सम्पन्न भइसकेपछि गरिएको समीक्षा, कार्यक्रमपछि प्राप्त प्रतिक्रियाका अनुसार यो कार्यक्रमले गाउँवासी, कर्णालीका समुदाय र बाहिर बस्नेहरूमा समेत अत्यन्त सकारात्मक सन्देश दिन सफल भएको आयोजकले जनाएको छ।

सिंजा सभ्यता संकटमा  

नेपाली भाषाको जननी भूमि जुम्लाको सिंजा सभ्यता संकटमा परेको छ। संरक्षणको अभावमा  संकटमा परेको हो। बाइसे र चौबीसे राज्यको पालामासिंजा बलियो राज्य भएको इतिहासमा उल्लेख छ। तत्कालीन गोर्खा राज्यलाई नेपाल एकीकरणका वेला सिंजा राज्य जित्न हम्मे हम्मे परेको थियो।

सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडो’ बनाइएको छ‚ जुन कर्णालीका लागि दुर्भाग्य नै हो। त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक दल र एनजीओ र आईएनजीओहरू नै हुन्, कर्णालीको भव्यता र सम्भावनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने कारक तत्व हुन्।

यो क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट प्रेरित भएको देखिन्छ। सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथसाथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्मसम्मान र गर्वबोधका साथै सम्मान र मर्यादा गराउँछ। 

पुरानो ज्ञान र सीप हस्तान्तरण 

जु्म्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ स्थित लाम्रा गाउँमा रहेका १ सय ८३ घरधुरीका स्थानीय युवा र बुद्धिजीवी र जिल्लाका जानकारले गाउँगाउँका कुडा लाम्रा संवादमा खस संस्कतिको ज्ञानमूलक कार्यक्रमले हाम्रो नयाँ पुस्ताको, सिकाइमा जोड दिनेछ।

विशेष गरी ज्येष्ठ नागरिकका कुराले युवा पुस्तालाई ज्ञान र सीप हस्तान्तरणको  हुने अपेक्षा गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.