विदेश जानु बाध्यता, सरकार रमिते मात्र

|
सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा भारत प्रवेशका लागि प्रतीक्षारत नेपाली। तस्वीर : टेकसिंह धामी

धनगढी : बैतडी सिगासका ३४ वर्षीय शेरबहादुर विश्वकर्मा आइतबार कैलालीसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिए। थकाइले गलेको ज्यानसँगै मलिन अनुहारमा भेटिएका उनी भारत तिरको यात्रामा थिए।

भारतको दिल्ली गन्तव्य बनाएका विश्वकर्माको पीडा उनको मुहारमै स्पष्ट देखिन्थ्यो। सँगै उनका साथीहरू पनि भारत यात्राको तयारीमा नाका पुगेका थिए।

दसैं मनाउन घर फर्केका विश्वकर्माले दुई सातामात्र घरमा बिताए। ‘चाडपर्वको समयमा पीडा बोकेर परेली भिजाउँदै परदेश पस्नुपर्ने बाध्यता छ,’ उनले पीडा बिसाउँदै भने, ‘चाडबाडको समयमा रमाउने रहर कसलाई हुँदैन र? तर के गर्नु हजुर, बाध्यताले गाउँ घरपरिवार छाडेर जानुपर्ने भयो। तिहार आउँदै छ, म भने भारततिर। यसपाली तिहार मनाउन नपाइने भइयो।’

अछामका कमल बिक पनि दसैं मनाउन घर फर्केका थिए। घर निर्माणको काम गर्दै आएका उनलाई पनि तिहारसम्म नै बस्ने मन थियो। 

तर दसैंमा ल्याएको खर्च सकिएपछि फेरि उनी तिहार मान्न छाडेर भारत नै फर्किरहेका बेला नाकामा भेटिए।

‘दसैं त जेनतेन मनाइयो। अब तिहार कसरी मनाउने,’ उनले भने, ‘गरिबका लागि के दसैं के तिहार। हातमुख जोर्न पनि भारत गन्तव्य बनाउनु हाम्रो बाध्यता हो। हाम्रा लागि न सरकार छ न केही। घरपरिवार पाल्नै पर्‍यो।’

भारतीय सहर सुरतलाई गन्तव्य बनाएका डडेल्धुराका अर्जुन जोशी पनि घर फर्केको दुई सातामात्र भएको थियो। उनी पनि भारतको यात्रामा निस्केर नाका पुगेका थिए।

५ वर्षपछि दसैंको टीका लगाएका अर्जुनले भाइटीका लगाउन नपाएको पनि ५ वर्ष नै भइसकेको छ। तर, यसवर्ष पनि भाइटीका लगाउन नपाउँदाको पीडा अर्जुनको अनुहारमा प्रष्ट छापिएको थियो।

‘देशमा संघीयता आएपछि गाउँमै रोजगारी पाउने आशा पलाएको थियो,’ उनले भने, ‘तर, नेताहरूले आफ्नै छोरानातिलाई रोजगारी दिन थाले। हाम्रो भारत जाने बाध्यता जस्ताको तस्तै छ।’

भारत पस्ने नेपालीहरूको भीडमा थिइन् कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ की आरती ऐर। उनले भनिन्, ‘घरमा जस्तो रमाइलो त कहाँ हुन्छ र अर्काको देशमा। तर दसैं र तिहारमा बिदा नपाएपछि टीका लगाउन दाजु भएकै ठाउँमा गइरहेकी छु।’

सोही नाकामा भेटिएका केही नेपाली भने फुरुंग थिए। कारण, उनीहरू वर्षौंपछि भाइटीकाका लागि घर फर्किरहेका थिए।

उनीमध्ये बझाङका महेश थापाको अनुहारमा चमक देखियो। ‘वर्षमा एकपटक घर फर्किँदा संसार जितेजस्तो खुसी लाग्छ,’ उनले भने, ‘बहिनीको हातको टीका लगाउन पाइन्छ। केही दिन रमाइलो गरेर फेरि अर्काकै देश पस्नु त छँदै छ।’

अहिले त्रिनगर–गौरीफन्टा नाका व्यस्त छ। स्वदेश फर्किनेभन्दा मजदुरीका लागि भारत पस्नेको संख्या धेरै छ।

यो दृश्य यो नाकामा सधैं देखिने नियमित दृश्य हो। तर, नाकाको दृश्य फेर्न तीन तहको सरकारले कुनै पनि प्रयास नगरेको गुनासो यो भेगका बासिन्दाको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.