|

पाल्पा : तानसेन नगरपालिका १२ रिब्दीका ​इन्द्रबहादुर विश्वकर्मा पुष्पखेतीमा रमाएका छन्।  

५५ वर्षीय उनी पेसाले मिस्त्री हुन्। दिनभर अर्काको घर बनाउन जान्छन्। साँझबिहान तीन रोपनीमा रोपेको फूलको स्याहार गर्छन्।

जंगलको बीचमा रहेको बारीमा मकै रोप्दै आएका थिए। मकै बाँदरले खाएर सिध्याउन थालेपछि उनी निराश बने। परिवारको गर्जो टार्दै आएको मलिलो खेतीयोग्य बारी बाँझो राख्न बाध्य भए। नेपाल प्रहरीमा कार्यरत उनका छोरा विजयले बाँझो बारीमा केही न केही गर्ने सोच बनाए। बुवासँग फूल खेती गर्ने सल्लाह गरे।

काठमाडौँमा कार्यरत विजयले फूलको बीउ घरमा पठाइदिए। इन्द्रबहादुरले त्यही बीउको ब्याड राखेर विरुवा उत्पादन गरी बारीमा रोपे। बाँझिएको बारीमा ढकमक्क फूल फूलेको देख्दा आश्चर्यमा परे। रोपेको पहिलो वर्ष ३० हजारको फूल बिक्री भएको उनले बताए।

यो वर्ष ५० हजारभन्दा बढीको फूल बिक्री हुने उनको अनुमान छ। नजिकै तानसेन बजार भएकाले फूल बेच्न समस्या नभएको उनी बताउँछन्। 

मकै रोपेर घाटा बेहोर्नुपर्ने बारीमा फूल रोपेर नगद कमाउँदै आएका छन्। जंगलको बीचमा बारी छ। त्यही बारीमा रोपिएको मकैले जीविकोपार्जन हुन्थ्यो।

पछिल्ला केही वर्षमा बाँदरले सताउन थालेपछि फूल खेती गरेको हो। बाँदरले पनि नखाने। नगद बिक्री पनि हुने भएका कारण आर्थिक आम्दानीमा टेवा पुगेको इन्द्रबहादुरले बताए।

बेमौसमी वर्षा भएकाले अहिले फूललाई असर परेको छ। पानी बढी भएपछि केही बोटका फूल कुहिएको उनले गुनासो गरे।

सरकारले सहयोग गरे आगामी दिनमा ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने उनले बताए। फूलखेती सम्बन्धी प्राविधिक तथा सैद्धान्तिक ज्ञान आवश्यक रहेको उनको भनाइ छ। तीन रोपनीमा फूल खेती गर्दै आएका उनले आगामी वर्ष ५ रोपनीमा विस्तार गर्ने बताए।

इन्द्रबहादुरले फूलको बीचमा बेसार खेती पनि गर्दै आएका छन्। एक सिजनमा ५ पाथीभन्दा बढी बेसार बिक्री गर्दै आएको उनले बताए। एक माना बेसार १२० रुपैयाँमा बिक्री हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.