|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्दै हाल ५ वटा विषयमा अनुसन्धान गरिरहेको छ। 

 प्रदेश सरकारले युवाहरुमार्फत विश्वमा नै नयाँ प्रकारका ५ विषयमा अध्ययन तथा अनुसन्धान गरिरहेको हो। विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसनधान गर्ने योजना र जानकारी भएका युवाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ।

सोही अन्तर्गत बागमती प्रदेशमा हाल युवाहरुले ५ वटा नयाँ वैज्ञानिक अनुसन्धान गरिरहेका छन्। प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्ने उद्वश्यले युवा वैज्ञानिक कोष स्थापना गरेको छ। जसको लागी वर्षेनी प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने कानुनी बाध्यता छ। हाल सो कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ जम्मा गरिसकेको छ। तर, साढे ३ वर्षमा सरकारले खर्च भने दुई करोड मात्रै गर्न सकेको छ। 

युवा पुस्तालाई वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा सघाउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत् आर्थिक वर्ष २०७५÷०७६ बाट सो कार्यक्रम ल्याएको हो। मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलको अनुसार प्रदेश सरकारले आव ०७५÷७६ को बजेटमा उक्त कार्यक्रम प्रस्तुत गरे पनि कार्यविधि र निर्देशिकाको अभावका कारण काम गर्न ढिलाई भएको थियो।

करिब एक वर्ष लगाएर युवा वैज्ञानिक प्रोत्साहन समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम लागु  गरेको उनले बताए। कार्यविधि स्वीकृत भएपछि पहिलो पटक खोज तथा अनुसन्धान कार्य गर्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गर्दै मन्त्रालयले सूचना आह्वान गरेको थियो। उक्त सूचनाका आधारमा विभिन्न व्यक्ति तथा संस्थाले आवेदन पेस गरे पनि कुनै पनि प्रस्ताव छनोट गर्न लायक नभएको सदस्य उनको भनाइ छ।

पहिलो चरणमा प्राप्त भएका आवेदनहरूलाई पुनः अध्ययन गरी केहीलाई प्रस्ताव पुनः लेखनका लागि पठाइएको उनले बताए। तर, उनीहरूमध्ये कसैले पनि प्रस्ताव पुनःलेखन गरी नआएपछि मन्त्रालयले दोस्रो पटकको सूचना जारी गर्‍यो। उक्त सूचना अनुसार, प्रदेशभरबाट १ सय २ वटा प्रस्ताव प्राप्त भएको उनले बताए।

ती प्रस्तावलाई समितिले अध्ययन गरी उपयुक्त लागेका प्रस्तावमा आवश्यक सुधार गरी थप अध्ययनका लागि विज्ञ समक्ष पठाएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाले जनाएको छ। विज्ञबाट थप सुधार गरी प्राप्त भएका ५ वटा प्रस्तावलाई अनुसन्धानका लागि मन्त्रालयले स्वीकृति दिएअनुसार आवश्यक बजेटसहित अनुमति प्रदान गरेको महाशाखा प्रमुख कँडेलले बताए। कँडेलको अनुसार हाल प्रदेशमा अनुसनधान भइरहेको विषय यसप्रकार छन् ः
१) रातो च्याउ ः पहाडी भेगमा पाइने रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न नयाँ प्रविधिको प्रयोग गर्ने गरि अनुसनधान भइरहेको छ।

रातो च्याउ मानव स्वास्थ्यको लागी निकै फाईदाजनक र महंगो पनि भएकोले यसको उत्पादनलाई बढाउन सके प्रदेशमा आर्थिक टेवा पुग्ने अनुमान गरिएको छ। पहाडी भेगमा मात्रै पाइने रातो च्याउ जुनसुकै भेगमा पनि उत्पादन गर्नेगरि हाल अध्ययन तथा अनुसन्धान भइरहेको जनाइएको छ।

यसको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोगबारे अनुसन्धान कार्य गर्न कुल ३४ लाख ९४ हजार ३०१ रुपैयाँ सहायता उपलब्ध गराउने भनिएकोमा हालसम्म ७ लाख ६० हजार ८ सय ३३ रुपैयाँ खर्च भएको छ। यो अनुसन्धानको समयावधि साढे दुई वर्षको थियो।

२)दाँतको तेस्रो विधि ः विश्वमा नै नयाँ तरिकाले दाँतको उपचार विधि अर्थात तेस्रो विधिको पनि बागमती प्रदेशमा अध्ययन अनुसन्धान भइरहेको महाशाखा प्रमुख कँडेलले बताए। उनको अनुसार राँगोको हड्डिबाट दाँत बनाएर मानिसको दाँतमा आइलिङ गरेर जडान गर्नेथरि नयाँ अनुसन्धान भइरहेको छ। यसअघि खसीकाो दाँतबाट गर्ने भनिएपनि  अनुसनधान गर्दै जादा समभव नभएपछि हाल राँगोको हड्डिबाट बनाउनेगरि अनुसन्धान भइरहेको छ।

यो अनुसनधान सफल भए यसरी बनाएर हालिएको दाँत मानिसको प्राकृति दाँत जस्तै हुनेछ भने उपचार पद्वती पनि फरक र नयाँ हुनेछ। दाँत परिवर्तनको तेस्रो विधिका बारेमा अनुसन्धानमा दिइएको कुल १५ लाख २२ हजार १ सय १० रुपैयाँ आर्थिक सहायतामध्ये हालसम्म ८ लाख ७० हजार रुपैयाँ खर्च भएअनुसार मन्त्रालयले निकासा गरेको छ। यो अनुसन्धाको समयावधि दुई वर्ष रहेकोमा केहि समय थप गरिएको छ। 

३) थोरै स्थानमा धेरै माछा पालन ः थोरै स्थानमा थोरै आहारा खुवाएरै धेरै माछा पालन गर्न सकिने विधिको पनि बागमती प्रदेशमा अनुसन्धान भइरहेको छ। माछा पालनमा महत्वपूर्ण मानिएको इन्जाइम उत्पादनका लागि आवश्यक ब्याक्टेरिया स्थानीय माछा पोखरीमै उत्पादन गर्ने यस अनुन्धानको मुख्य उद्वेश्य हो। यो ब्याक्टेरियाले गर्दा सानो ठाउँमा थोरै आहारामा धेरै माछा पालन गर्न सकिन्छ।

माछाले आफूलाई चाहिने आहारा पोखरीभित्रै आफै उत्पादन गर्न सक्ने यस अनुसन्धानको दावी छ। माछाले आहार खाएर गर्ने दिशाजन्य पदार्थलाई ब्याक्टेरियाले पुनः आहार बनाउने काम गर्ने महाशाखा प्रमुख कँडेलको भनाई छ।

७० लाख ५४ हजार ८०५ रुपैयाँ आर्थिक सहायता दिएर माछा पालनमा महत्त्वपूर्ण मानिएको इन्जाइम उत्पादनका लागि आवश्यक ब्याक्टेरिया स्थानीय पोखरीमै उत्पादन गर्ने बारेको अनुसन्धान कार्यमा हालसम्म २७ लाख रुपैयाँ खर्च गरेको छ। यस अनुसन्धानको समयावधि डेढ वर्ष रहेको थियो। 

४) जडिबुटिमा पाइने रासायनिक तत्वको खोजी ः बागमती प्रदेशमा पाइने सम्पुर्ण जडिबुटि र ती जडिबुटिमा पाईने रासायनिक तत्वको बारेमा खोज अनुसन्धान गर्ने कार्य पनि भईरहेको मन्त्रालयले जनाएको छ। प्रदेशमा पाइने प्राकृतिक जडीबुटी खोज तथा रासायनिक तत्व, र औषधि उत्पादन तथा उपचारमा प्रयोगबारे अनुसन्धन गर्ने र एउटा वेबसाईट बनाएर यसको बारेमा सम्पुर्ण विवरण राख्नेगरि अनुसन्धान कार्य भईरहेको हो।

यस्तो भएमा बागमती प्रदेशमा पाईने जडिबुटि , त्यसमा पाइने रासायनिक तत्व , त्यसको प्रयोग र उपचारबारे सम्पुर्ण जानकारी वेबसाईटबाट नै पाउन सकिनेछ। प्राकृतिक जडीबुटी खोज तथा रासायनिक तत्व र औषधि उत्पादन तथा उपचारमा प्रयोग बारेको अनुसन्धानका लागि दिइएको कुल ६९ लाख ६७ हजार ५ सय ६९ रुपैयाँमध्ये हालसम्म ३३ लाख रुपैयाँ खर्च भएको छ। यो अनुसन्धान गर्नको लागी प्रदेश सरकारले दुई वर्षको समय दिएको थियो। 

५) पेट्रोल तथा डिजेलका सफारीलाई विद्युतीय सवारीमा परिणत गर्नेः हाल प्रदेश सरकारको सहयोगमा युवाहरुले राष्ट्रिय निकुञ्जहरूमा प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडीहरूलाई विद्युतीय सवारीमा परिणत गर्ने सम्बन्धीमा पनि अनुसन्धान गरिरहेको मन्त्रालयले जनाएको छ। यसको चितवनमा रहेको राष्टिङय निकुञ्जमा सञ्चालनमा रहेको ईन्जिनबाट चल्ने सफारी जीपलाई ब्याट्रिबाट चलाउने प्रयास भईरहेको छ।

यो अनुसन्धन सफल भएमा नेपाल पेट्रोलियम पदार्थको लागी अन्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य र वातावरणमैत्री हुने महाशाखा प्रमुख कँडेलले विश्वास व्यक्त गरे। यो अनुसन्धानको लागी कुल कुल १९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ विनियोजन गरेकोमा हालसम्म १० लाख ९० हजार रुपैयाँमात्र निकासा भएको छ। यो अनुसन्धानको लागी प्रदेश सरकारले एक वर्षको मात्रै समय दिएको थियो। 

नयाँ प्रकारको कुनैपनि कुराको खोजी तथा अनुसन्धान गर्ने योजना र ईच्छा भएका ४० वर्षमुनिका युवाहरुले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको पेजमा गएर प्रस्ताव गर्न सक्नेछन्।

सो प्रस्ताव मन्त्रालयमा रहेको समितीबा पास भए प्रस्तावसँग सम्बन्धित विज्ञहरुलाई पठाईन्छ। विज्ञहरुले सो प्रकारको अनुसन्धन सम्भव , आवश्यक र राम्रो छ भनेमा प्रदेश सरकारले आवश्यक अनुमती , सहायता र सहयोग उपलब्ध गराउने कँडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.