|

काठमाडौं : लोकगीतको स्वाद फरक हुन्छ। यसले क्षेत्रसँगै देशको प्रतिनिधित्व पनि गर्छ।  नेपाली सांगीतिक क्षेत्रको सबैभन्दा पुरानो तथा लोकप्रिय विधा हो लोकगीत। लोकगीतले समग्र नेपाली संगीतको एउटा जरामा आफ्नो प्रभुत्व जमाएको छ।

यसमा लोकको आफ्नो गीत हुन्छ, जुन गीत परम्परामा गाँसिन्छ। नेपाली समाज जोडिन्छ। समुदायले परम्परागत रूपमा गाउँदै सुनाउँदै आएको सर्वाधिक प्रिय गेयात्मक लोकसाहित्यिक विधा लोकगीत हो ।

नेपालीले मात्र होइन, विदेशी कलाकारले पनि नेपाली लोकशैलीका भाका रुचिका साथ गुनगुनाएका छन्।  लोकगीतको बजारको विरासत आज पनि उस्तै सशक्त रहेको छ। लोक शैलीका  गीतको क्षेत्र विस्तार अचेल चलचित्रदेखि आधुनिक गीतमा पनि थपिन थालेका छन्।

पछिल्लो समय ठूलो संगीत पारखी जमातले नेपाली लोकगीतलाई रुचाएका छन्। नेपाली सांगीतिक क्षेत्रमा विभिन्न आयामहरूमा गीत सिर्जना भएका छन्। लोकगीत, आधुनिक, फिल्मी गीत, पपदेखि वेस्टनबेससम्म संगीत र गायन हामीकहाँ सुनिन्छ। 

कुनै विषयवस्तुमा आधारित भएका गाइने गीतमा मायाप्रेम, वियोग, मिलन विछोड, पारिवारिक अवस्थाले सबैभन्दा बढी स्थान पाउँछन्।

तर, यिनै जनारामा अर्को एक विषयले महत्व पाउने गरेको छ। त्यो हो-स्थान वा भेग विशेष गीत।

चलचित्रका गीत, लोकगीत तथा लोकपपमा यस किसिमको विषयवस्तुले स्थान पाएका छन्। तर, सबैभन्दा बढि लोक तथा दोहोरी गीत सिर्जना भएका छन्।

नेपाली लोकगीतमा सम्भवत सबैभन्दा बढि प्रेम र वियोगलाई जोडिएको छ। त्यसपछि पारिवारिक कथालाई।  ५० देखि ६० को दशकमा नेपाली लोक तथा दोहोरीमा स्थान विशेष गीतले ज्यादै स्थान पाएका थिए। नेपालमा पुराना सर्जकदेखि नयाँ पुस्ताले सुदूरपूर्वदेखि सुदूरपश्चिमसँग 'क्षेत्र' वा कुनै निश्चित स्थानलाई जोडेर गीत सिर्जना गरेका छन्।  केही उदाहरण हेरौं।

बुलु मुकारुङ र कुन्ती मोक्तानले गाएको अर्को चर्चित गीत :

'इलामे शहर चियाबारी राम्रो 
त्यहीँ पर्योी घर हाम्रो 
कस्की हौ छोरी पातली मोरी 
लैजाने आँट हाम्रो'

तुलसी पराजुली र लोचन भट्टराईकोको गीत :

'खोटाङ जिल्ला दिक्तेल बजार

दिक्तेल बजार लैलै

सम्झनामा आउछ्यौं हजार'

सुरज अधिकारीको शब्द र लयमा नवराज घोडासैनी र इन्दिरा गुरुङको गीत :

'चाँगुनारायण थान

गाजलु आँखैले लाग्यो मलाई बाण'

अमर गुरुङ,मनोहरी थापा लगायतका सर्जकको गीत :

'काठमाडौं सिंहदरबार

यो मन जस्तो त्यो मन भइदिए

पहिले नि हुन्थ्यो घरबार'

गायक नेत्र अर्यालले पहिलो गीत :

'हुन्थ्यो भेट मुग्लिन बजारमा
लाको माया छुटेर गए नि
झलझली आउँछ्यौं नजरमा’

भगवान भण्डारी र बिमा कुमारी दुराको गीत :

'खैरेनीमा गेट

अन्तै दिल बस्यो कि निरमाया

हुनै छोड्यो भेट'

उमेश दुलाल  र बिमा कुमारी दुराको गीत :

'दमौलीमा गेट

मायालुले सम्झना गरेमा हुन्थ्यो

सधैँ भेट'

मिलन लामाको शब्द,लय र उनको र  बिमा कुमारी दुराको स्वर रहेको गीत :

'माझी दाई पोखरा फेतावालको

लाउँ माया साच्चैको

नलामा भो ख्यालख्यालको'

प्रेम बरालको शब्द र बुद्धि भुजेलको  लयमा राजु परियार र बिमा कुमारी दुरा लगायतले गाएको अर्को चर्चीत गीत :

'आँधिखोला उर्लेर आयो

आउने थिइन् मायाले बोलायो'

गायक पुरुषोत्तम न्यौपानेको चर्चीत गीत:

'मिर्मीमुनी काली थुनेको

अन्तै माया लाइछ्यौरे मायाले

साच्चै होकी हल्ला सुनेको'

गायक विष्णु खत्री र बिमा कुमारी दुराको गीत :

'जम्मु काश्मीर

लडाईँमा मरे नी मन बुझाउ

हेरि तस्वीर मा'

उनको अर्को छ :

'गलकोटमा बग्यो दरम

सँगै जिवन बिताउने बेलामा

छुट्टिने रैछ करम'

नेत्र अर्यालको शब्द र  गायक मेक्सम खाती र गायिका गायत्री थापाको गीत :

'गुल्मी लाने हो

बटौलीकी नानीलाई गुल्मी लाने हो

रुरु र रेसुगां घुम्न जाने हो'

 

'क्षेत्रका गीतले स्रष्टालाई पनि जोगाउँछ'

माथि देखाइएको गीतका भाका केबल उदाहरणको सानो अंश हो। फरक फरक भूगोलका फरक फरक भाषामा आफ्नो क्षेत्र वा स्थानको चर्चा गरेर गीत सिर्जना भएका छन्।   स्रष्टाले आफू मात्र बाँच्ने होइन् आफ्नो समाज र माटो बोकेर हिड्ने गर्छ। चाहे त्यो लोक होस् या दोहोरी।

धार्मिक, अनुष्ठानमूलक तथा संस्कार गीत, ऋतु तथा पर्व गीत र श्रमगीत लगायत फरक फरक तरिकाले गीतहरू निर्माण भएका छन्। यो केबल लोकगीतमा मात्र होइन्, लोकदोहोरीमा पनि यो कुरा लागू भएका छन्।

स्थान विशेष गीतले स्थान वा कुनै एक क्षेत्रको पहिचानलाई स्थापित मात्र गर्दैन, स्वंय स्रष्टालाई पनि जोगाउँने गर्छ। नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिका अनुसार गीत र भूगोल आफैमा परिपूरक हुन्।

'प्रकृति स्रोत र साधनलाई उच्चतम प्रयोग भएका धेरै गीतहरू बहुचर्चित छन्। किनभने यसमा श्रोताले आफ्नोपन भेट्टाउँछ। 'सिन्धुलीगढी फर्केर हेर्दा होस् या बुलबुल तालको छेउ होस्। यी क्षेत्रका बारेमा कयौं पुस्तकमा लेखिएका छन्। तर, यी गीतले यी क्षेत्रको महिमालाई थप माथि मात्र पुर्‍यएका छैनन्। देश तथा विदेशमा  रहेका नेपालीका मनमुटुमा बसाउन सफल भएका छन्', बिजिले भन्छन्।

नेपालमा ५० र ६० दशकमा सबैभन्दा बढि स्थान विशेषले लोक तथा दोहोरीमा स्थान पाएको उनको बुझाई छ।

'प्रकृती वा भूगोलसँग जोडिएर गाइएका सिर्जनाले यथेस्ट छाप छोड्छन्'

लोकगीत कुनै पनि स्थानका जाति, समाजबाट जन्मिने हो। लोकगीतमा स्थानको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृति आदिको वर्णन गरेको देखिन्छ।

लोकदोहोरी पनि  लोकगीतको शाखा हो। लोक वा दोहोरी  गीतमा श्रोतालाई आकर्षित गर्न पनि क्षेत्र विशेष गीतहरू गाइने गरिन्छ। कुनै बेला यस्तो थियो कि सर्जकहरू स्थापित भइसकेका भेग वा स्थानको नामबाट गीत सिर्जना गर्दा सिर्जना बढि सुनिने र आफू स्थापित हुन सहज हुन सक्ने सम्भावित परिदृश्यलाई मध्येनजर गरेर गीत सिर्जना गर्न तयार हुन्थे। यो तथ्यलाई भने नकार्छन् गायक विष्णु खत्री।

'सर्जकले आफू स्थापित हुन भन्दा पनि आफ्नो भुगोलको पहिचानलाई स्थापित गर्न गीतमा भेग वा क्षेत्रबारे लयबद्ध गरेर गीत सिर्जना गर्ने गर्छन्। प्रकृती वा भूगोलसँग जोडिएर गाइएका सिर्जनाले अमिट छाप छोड्छन्', उनी सुनाउँछन्, 'एउटा सर्जक स्थापित भइसकेपछि उसले जन्मिएको भूगोल वा कुनै स्थानको चर्चा विश्वभर छरिएका नेपालीसामू पुगोस र पर्यटन प्रबर्द्धनमा टेवा पुगोस भन्ने कुरालाई पनि महत्व दिएको हुन्छ।'

'सर्जकहरू प्रभावित हुन थालेपछि ठाउँ विशेष गीत कम सिर्जना हुन थाले'

वृद्धवृद्धा होस् वा युवा युवतीको रोजाईमा पनि लोकगीत पर्ने गरेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोकगीतहरूको बृहत्तर विकास र पाएको व्यापकताले श्रोताहरूको संख्या दिनानुदिन बढिरहेका छन्। आम नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतमा नेपालीपन भेटिन्छ।

त्यसमाथि स्थान वा कुनै भेग विशेष लोक तथा दोहोरी गीत कुनै पनि जाति, स्थान, समाजको साझा सम्पत्ति हो। फरकफरक भाषिक समुदायमा फरकफरक किसिमका लोकगीतको प्रचलन भेटिन्छ।

लोकगीतमा स्थान विशेष गीतको प्रचलन पुरानो रहेको लोक गायक तथा अध्येता जयनन्द लामा बताउँछन्। 'लोकगीत भन्ने बितिक्के माया प्रेम र मिलनविछोडलाई गेयात्मक शैलीले गाउने चिज हुन भन्ने कुरा अहिले देखिएको हो। लोकगीतको इतिहास खोज्दै जाने हो भने गीतमा सबैभन्दा पहिले स्थान र भूगोलले नै स्थान पाएका छन्', लामा भन्छन्।

नेपालमा रेडियो र टेलिभिजनमा हिन्दी सिनेमा र गीत सुनिन थालेपछि नेपाली सर्जक प्रभावित हुन थालेको उनी सुनाउँछन्। 'रेडियो र टेलिभिजन आउनु अघि हाम्रा लोकभाकामा भेग र स्थानले नै धेरै प्राथमिकता पाउँथे। । त्यसपछि मात्र माया प्रेमले स्थान पाएका हुन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.