|

दीपावलीको अवसरमा हालै एकजना मित्रकहाँ साथीभाइ जमघट थियो। जमघट भएका साथीमध्ये एकजना दृष्टिविहीन थिए। जब खानपान सकेर राति सबै घर फर्कने बेला भयो, घर मालिकले दृष्टिविहीनलाई भने- तपाईं एउटा बलेको लाल्टिन बोकेर जानुहोला।

उनले भने- म आँखा नदेख्ने मान्छेलाई दिन रात एकै, मैले यो लाल्टिन बोकेर के अर्थ र? मलाई बानी भैसक्यो उज्यालो अँध्यारोमा एक्लै हिँड्ने र सजग हुने।  तैपनि ती मित्रले भने–रातको समय छ, तपाईंको लाल्टिनको उज्यालोले अरु मान्छे तपाईंसँग ठोकिन पाउँदैनन्। उनलाई ठिकै लाग्यो, लाल्टिन बोकेर घरतिर निस्के।

उनी जाँदै थिए‚ अचानक एकजना मानिस उनीसँग ठोक्किन आइपुगे। मित्रले दिएको सल्लाह त ठिक भएन त! उनले ठोक्किन आइपुगेका व्यक्तिलाई भने– के हो मित्र तपाईं त आँखा देख्नुहुन्छ होला‚ किन ठोकिन आइपुग्नु भो! मेरो हातको बलेको लाल्टिन पनि देख्नुभएन? अर्को व्यक्तिले हाँस्दै भने– महाशय, म प्रष्ट देख्छु। तर‚ तपाईंको हातको लाल्टिन निभेको छ।

अधिकांश आँखा देख्ने भन्छौं तर दृष्टिहीन छौं। हामी आँखा देख्दादेख्दै पनि कोसँग ठोक्किन पुग्छौं पत्तो पाउदैनौं। दियो जलाउने रमाइलोमा अरूको दिल जलाउने कर्म गर्‍यौं कि गरेनौं‚ त्यसप्रति सजगता कमैलाई हुन्छ। कोही आँखा नदेखे पनि अरुसँग ठोकिन्छ कि भनेर सजग भएर हिँड्छ। उसलाई राम्रोसँग थाहा छ मेरो बाहिरी आँखाको प्रकाश पनि छैन अनि हातमा बत्ती पनि छैन। त्यसैले उसलाई अरुबाट बच्न सजग बनाउँछ।

आँखा देख्ने व्यक्ति दिनहुँ कति ठाउँ ठोक्किन पुग्छन् होस पाउँदैनन्। अनेक रिपुहरू र कामनाको अन्धकारमा ठोक्किन पुग्छौं।

आँखा देखेर पनि बत्ती निभेको छ, सजगताको बत्ती, प्रेमको बत्ती, करुणाको बत्ती, मानवीयता अनि संवेदनाको बत्ती। जबसम्म निभेको बत्ती लिएर हिँड्छ व्यक्ति तबसम्म जति धर्म, सम्प्रदाय, संस्कार, परम्परा र प्रचलनलाई पच्छ्याएर बाहिर जति दीप बाले पनि उसको भित्र सजगताको दियो बलेको हुन्न यो तितो यथार्थता हो।

पर्वको रौनक नयाँ तर सोच पुरानै

प्रत्येक वर्ष आउने पर्वले नयाँ रौनक ल्याउँछ। तर याद गरौँ त सोच बदलिएर नयाँ भयो कि भएन? पर्व आउँछ नयाँ लुगा किन्ने इच्छा जाग्छ। घरमा नयाँ रंग, रंगीचंगी बत्ती सजाउन मन लाग्छ।

घर वरपर सबैतिर सरसफाई गर्न मन लाग्छ। बाहिरको यो सरसफाई र उज्यालो पनि जरूरी छ। तर आत्मदीप कहिले प्रज्वलित गर्ने? मनको सफाई, नकारात्मक सोचको सफाई कहिले गर्ने?

बाहिर बालेको बत्तीले औंशीको रातलाई त उज्यालो बनाउला तर अज्ञानतारूपी स्वयंको अन्धकार हटाउन आत्मदीप, ज्ञानको दीप जल्नुपर्छ कि पर्दैन? हरेक पर्वमा नयाँ सामान किन्नुपर्छ, लक्ष्मी खुसी पार्नुपर्छ भन्ने बोध हुँदा प्रत्येक पर्वमा नयाँ तरिकाले आत्म क्रान्ति, नयाँ सोच, शान्ति, भातृत्व, बसुधैव कुटुम्बकम, एकता, पवित्रता र सदाचारको विकास गर्नुपर्छ भन्ने बोध चाहिँ कहिले गर्ने?

पर्व मनाउँदा-मनाउँदै वर्षहरू बिते, नयाँ सामान जोडियो, नयाँ घर बन्यो, समय बितिरह्यो, जीवन बित्यो। तर नयाँ सोच र प्रेमको दियो कहिले जल्छ? जीवनको आन्तरिक शान्ति, प्रेम, सद्भाव, आत्मसम्मान र आन्तरिक समृद्धिको शुरुवातको शुभ मुहूर्त कुन पर्वमा गर्ने त?

रामरतन धन

स्वास्थ्य, परिवार सुख, सम्बन्धमा मधुरता, सम्यक आजीविका, सकारात्मक जीवनशैली, ध्यान, रामरतन धन, स्वाध्याय सबै हामीले आर्जन गर्न लायक धनभित्रै पर्दछन्। यिनीहरुमध्ये कुनै एकको अभावमा जीवनमा सन्तुलन आउँदैन। लक्ष्मीको आराधनाको अर्थ पैसा धेरै आर्जन गर्ने हिम्मत मिलोस् मात्र नभएर मानिसको जीवनमा आवश्यक सबै वैभव फलित होस् भन्ने सांकेतिक अर्थ महत्वपूर्ण छ।

हाम्रो समाजमा साथमा पैसा नहुने मानिस जति दुःखी छन् त्योभन्दा बढी दुःखी पैसा धन भएकाहरु छन्। साथमा मनग्गे पैसा भएर पनि जीवनका विभिन्न आयामलाई सन्तुलनमा राख्न नसकी विचलित हुने थुप्रै छन्। जसले पैसा कमाउनकै लागि विदेशी भूमिमा आफ्नो जीवन अर्पेको छ तर घरमा वृद्ध बा-आमालाई तातो पानी खुवाउने छोराछोरी साथमा छैनन् भने त्यो धनको के काम?

जीवन नै धन कमाउनका लागि अर्पेको छ। तर‚ श्रीमती र छोराछोरीलाई दिने समय छैन, प्रेमभाव दर्शाउने फुर्सद छैन भने त्यो धनको के महत्व? धनविना जीवन नचले पनि आफ्ना परिवारका सदस्यलाई खुशी राख्न र जीवनलाई खुसी र उल्लासमय बनाउन धन होइन प्रेम, शान्ति, आनन्द र भित्रको वैभता जरुरी छ।

‘साग र सिस्नु खाएको बेश आनन्दी मनले’ भन्ने भावको अर्थ भित्रबाट खुशी र आनन्द मिल्ने धनको जरुरी छ सबैको जीवनमा। बाहिर देखाउनका लागि, प्रतिष्ठा आर्जनका लागि र अरुको अगाडि कोही बनेर चिनिन आर्जन हुने धनले जीवनलाई सधैँ विचलित पारिदिएको उदाहरण प्रशस्तै देख्न र पढ्न पाइन्छ। धन हाम्रो आवश्यकतामा काम आउन सकोस् हाम्रो चाहनालाई पूरा गर्नको लागि होइन।

मृगतृष्णा रुपी हाम्रा चाहना पूरा गर्नकै निम्ति हामी धन आर्जनमा लागेका छौं भने सोच्ने बेला आएको छ– पैसारुपी लक्ष्मी होइन सुख र आनन्द रुपी लक्ष्मीले हाम्रो जीवनमा बास गरून्। हामीलाई भित्रबाट सम्पन्नताको आभास मिलोस् र जीवनका हरेक सफलतामा लक्ष्मीको स्वरूप अनुभूति होस् त्यो हाम्रो वास्तविक आर्जन हो। हामीले मिहिनेत गरेपछि धन त आर्जन भैहाल्छ। तर‚ लक्ष्मीरुपी वैभता प्राप्तिका लागि मिहिनेत होइन शान्त, सरल र सहजताको आवश्यकता पर्दछ।

अप्प दीपो भवः

तिहार आफैंमा पारिवारिक पर्व, दिदीभाइको पर्वका साथै फूलको पर्व र मिठाईको पर्व पनि मानिन्छ। दिदीभाइभाइटीका प्रेमको प्रतीक हो भने फूलको सुन्दरता र प्रकृतिको प्रसन्नता, रोटी र मिठाईका परिकार वर्षभरिका कर्म र संघर्षका बाबजुद पनि मिठो स्वाद, आफ्नोपन र अज्ञानतालाई चुनौती दिएर आफ्नो चैतन्यसँग एकाकार हुने एउटा बहाना हो।

वर्षा सकिएर प्रकृतिमा समेत निखारता अनि स्वच्छता आएको मौसमको संकेत गर्ने दीपावली र तिहारले हाम्रो अज्ञानताको अन्धकारलाई पनि प्रज्वलित पार्न सक्यो भने अरू सार्थकता मिल्नेछ। त्यसको लागि अभ्यास र प्रयास हामी स्वयंले गर्नुपर्ने हुन्छ। अज्ञानताको अन्धकार हटाउन आफ्नो दियो आफैं बाल्नुपर्छ त्यो दियो हो ध्यान र प्रज्ञाको दियो।

भगवान बुद्धलाई उनका शिष्य आनन्दले सोधेका थिए– गुरू हजुरको शरीर छुटेपछि हामीलाई ज्ञान कसले दिन्छ? यो अन्धकारबाट कसले हामीलाई बाहिर निकाल्छ? तब बुद्धले आफ्नो जीवनकालको अन्तिम वचन दिनुभएको थियो– अप्प दीपो भवः आफ्नो प्रकाश आफैं बन। अरुबाट प्राप्त प्रकाशले कतिञ्जेल तिमी प्रज्वलित हुन सक्छौ र?

आफ्नो अन्तरआत्मासँग साक्षात्कार गरेर अन्तरप्रकाशलाई बोध गर जहाँ कुनै अन्धकार, रिस, राग,द्वेष, घृणा केही छैन। सतत आनन्द, प्रेम र शान्ति छ। त्यसलाई बोध गर्न केवल ध्यानको अभ्यास गरे पुग्छ।

जसले अन्तर आत्मालाई देख्न सक्छ उसले नै बोध गर्न जान्न सक्छ। जसले जान्दछ उसैले पाउँछ। जसले पाउँछ ऊ नै रुपान्तरण हुन्छ र जो व्यक्ति अझैसम्म जान्न, बोध गर्न, प्राप्त गर्ने प्रयास गर्न र रुपान्तरणको कला जानेन सम्झिनु कि उसको दियो निभेको छ। 

अब ऊ स्वयं जाग्नुपर्दछ निभेको बत्ती जलाउनको लागि। बाहिरका चिन्तामा होइन आफ्नो चैतन्यमा स्थिर बन। बाहिर सफल तर  भित्र आनन्दित जोर वादी बुद्ध बन। आफ्नो बुद्ध चेतनामा स्थिर हुन सक्नु नै बाहिरका अस्थिरतालाई पराजित गर्ने सरल उपाय हो। बाहिरबल्योदियो, भित्रको दियो कता थियो! भनेर कसैले आश्चर्य नमानोस् तिहारपछि।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.