तीन पालिकामा महिला नेतृत्व

|

धनगढी : नेकपा एमालेले  बिहीबारसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ६३ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ। प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका ६३ स्थानीय तहमा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।

प्रदेशका कतिपय पालिकाहरूमा अधिवेशन सुरु भएर बन्द सत्रहरू चलिरहेका छन्। ती पालिकाहरूमा आकांक्षीहरूको संख्या धेरै भएकाले नेतृत्व चयनमा ढिलाई भएको सम्बन्धित जिल्लाका एमाले नेताहरूले बताएका छन्। यस्तै प्रदेशका कतिपय पालिकाहरूको अधिवेशन भने तिहारपछि गर्ने तयारीका साथ सारिएको बताइएको छ। 

तीन पालिकामा महिला नेतृत्व

प्रदेशका ६३ पालिकामा नयाँ नेतृत्व चयन भएर नयाँ कमिटी गठन हुँदा तीन जना महिला मात्रै पार्टीको पालिका नेतृत्वमा पुगेका छन्। अछामको तुर्माखाँद गाउँपालिकामा गौमती शाही, कैलालीका दुई पालिका गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन भएका छन्।
कहाँ कसको नेतृत्व ?

बैतडी

एमालेले बैतडीका सबै पालिकामा निर्धारित समयभित्र अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। एमाले बैतडीले जिल्लाका सबै १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर सर्वसम्मत नेतृत्व चयन गरिसकेको पार्टीका जिल्ला कमिटी सदस्य जस्बीर बोहराले बताए।

बोहराका अनुसार दशरथचन्द नगरपालिकामा अजबबहादुर पाण्डे, पाटनमा ललितसिंह ठगुन्ना, पुर्चौडीमा कर्णबहादुर धामी, मेलौलीमा राजबहादुर चन्द, सूर्नयामा राजेन्द्रप्रसाद भट्टको अध्यक्षतामा कमिटि गठन भएको छ।

यस्तै, सिगासमा गोपालसिंह धामी, शिवनाथमा महेन्द्र चन्द, पञ्चेश्वरमा प्रकाश चन्द, दोगडाकेदारमा काँसीसिंह विष्ट र डिलासैनीमा रघुबीरसिंह बोहरा अध्यक्ष चयन भएका छन्।

डोटी

डोटीका ९ मध्ये ८ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन सकिएको एमाले जिल्ला अध्यक्ष चक्र मल्लले जानकारी दिए।

उनका अनुसार शिखर नगरपालिका अध्यक्षमा भीम बलायर, आदर्श गाउँपालिकामा गोविन्द पार्की, सायल गाउँपालिकामा केशवराज उपाध्याय, बडिकेदार गाउँपालिकामा प्रकाश धामी, जोरायल गाउँपालिकामा तीर्थ भण्डारी र बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा खेम घर्ती मगर, दिपायल सिलगढी नगरपालिकामा कर्ण विष्ट, केआईसिंहमा तेज माझी चयन भएका छन्। यस्तै पूर्वीचौकी गाउँपालिकामा भने अधिवेशन सम्पन्न हुन सकेको छैन।

बाजुरा

बाजुराका ९ मध्ये ८ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमालेले नेतृत्व चयन गरेको छ। जसअनुसार बडिमालका नगरपालिकामा धर्मराज पाध्याय, बुढीनन्दा नगरपालिकामा जंगविर रोकाया, बुढीगंगा नगरपालिकामा नरेन्द्र थापा अध्यक्ष चयन भएका छन्।

यस्तै, स्वामिकार्तिक गाउँँपालिकामा नवराज कटेल, जगन्नाथमा गणेशराज गिरी, गौमुलमा देवबहादुर रोकाया, त्रिवेणीमा कवि बुढा र खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा गोपाल बुढा अध्यक्ष चयन भएका छन्। हिमाली गाउँपालिकामा भने अधिवेशन सुरु भएर बन्दसत्र जारी रहेको एमाले बाजुराले जनाएको छ।

डडेल्धुरा

डडेल्धुराका ७ स्थानीय तहमध्ये ५ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको एमालेले जनाएको छ।

एमाले जिल्ला अध्यक्ष प्रकाश साउँदका अनुसार अनुसार अमरगढी नगरपालिकामा गणेश कठायत, परशुराममा ओमप्रकाश जोशी, आलितालमा अमर पुन, भागेश्वरमा दिपक महता र अजयमेरुमा राजपालको अध्यक्षता कमिटी गठन भएको छ।

यस्तै गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा अधिवेशनको तयारी भइरहेको उनको भनाई छ।

कञ्चनपुर

कञ्चनपुरका ९ स्थानीय तहमध्ये ५ स्थानीय तहमा एमालेले अधिवेशन सम्पन्न गरेको जनाएको छ। बिहीबारसम्म भिमदत्त नगरपालिकामा हिमाल चन्द, शुक्लाफाँटा नगरपालिकामा भक्तराज जोशी, बेलौरी नगरपालिकामा बाबुराम न्यौपाने, पुनर्वास नगरपालिकामा पदम पुजारा र लालझाडी गाउँपालिकामा आमेप्रकाश रानाको अध्यक्षतामा पालिका कमिटी चयन भएको एमाले पार्टी कार्यालय सचिव कर्ण चन्दले बताए। उनका अनुसार दोधाराचाँदनी, वेदकोट, कृष्णपुर, बेलडाँडीमा तिहारपछि अधिवेशन गर्ने तयारी छ।

बझाङ

बझाङमा १२ स्थानीय तहमध्ये ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन गरिएको छ। बुंगल नगरपालिकामा मोहन बोहरा, साइपाल गाउँपालिकामा सुरेन्द्र बोहरा, छबीसपाथिभेरामा रामप्रसाद भट्ट, सुर्मा गाउँपालिकामा कैलाश बोहरा र केदारस्यु गाउँपालिकामा लोकेश भण्डारी, र दुर्गाथलीमा हेमराज विष्टको अध्यक्षतामा पालिका कमिटीहरू चयन भएका छन्।

यस्तै तल्कोट, जयपृथ्वी नगरपालिका, मष्टा, र बित्थडचीर गाउँपालिकामा अधिवेशन चलिरहेको छ। साइपाल गाउँपालिकामा अधिवेशन हुन नसकेको बताइएको छ। 

अछाम

अछामका १० स्थानीय तहमध्ये ९ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको पार्टी कार्यालय सचिव लिला केसीले बताए।

उनका अनुसार साँफेबगर नगरपालिकामा ललित कुँवर, मेल्लेख गाउँपालिकामा केशव साउँद, बान्नीगढी जयगढ गाउँपालिकामा हर्कबहादुर साउँद, ढकारी गाउँपालिकामा कृष्णबहादुर बुढा, चौरपाटीमा झंकर साउँद, र तुर्माखाँद गाउँपालिकामा अध्यक्षमा गौमती शाही चयन भएका छन्।

मंगलसेन नगरपालिकामा बिर्ख बोगटी, रामारोशन र कमल बजारमा अधिवेशन सुरु भएर बन्दसत्र चलिरहेको छ भने बिनायक नगरपालिकामा तिहारपछि अधिवेशन हुने भएको छ।

कैलाली

कैलालीका १३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भएको जिल्ला अध्यक्ष रतन थापाले बताए। थापाका अनुसार धनगढी उपमहानगरमा रामचन्द्र जोशी, गौरीगंगा नगरपालिकामा शान्ति सिंह, जानकीमा खकेन्द्र भण्डारी, बर्दगोरियामा मधुकर सिजापती, कैलारीमा झुमा चौधरी, जोशीपुरमा केशर चौधरी र चुरे गाउँपालिकामा चक्र बोगटी अध्यक्ष चयन भएका छन्।

घोडाघोडी, लम्कीचुहा, भजनी र मोहन्याल, टीकापुर र गोदावरी नगरपालिकामा तिहारपछि अधिवेशन सम्पन्न हुने उनको भनाई छ।

दार्चुला

दार्चुलाका ९ स्थानीय तहमध्ये ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको छ। अधिवेशन सम्पन्न भएका पालिकाहरूमा दुहुमा जंगबहादुर बम, ब्यासमा मंगलसिंह धामी, नौगाडमा जनकसिंह ठगुन्ना, महाकाली नगरपालिकामा नरसिंह चैसिर, मार्मामा धिरेन्द्र विष्ट र अपीहिमालमा ओखडसिंह रोकायाको नेतृत्वमा पालिका कमिटी गठन भएको पार्टीका जिल्ला सचिव खडक बडालले बताए।

सचिव बडालका अनुसार शैल्यशिखर, लेकम र मालिकार्जुनमा अधिवेशन सम्पन्न हुन सकेको छैन। यस्तै एमालेले छाङरुमा पनि वडा अधिवेशन सम्पन्न गरेको छ। ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरुमा पनि वडा अधिवेशन सम्पन्न गरिएको सचिव बडालले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.