|
फाइल फोटो

काठमाडौं : तिहारको मुख्य दिन आज दिनभरि नै भाइटीका गर्न उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिले बिहान ११ बजेर २ मिनेटको उत्तम साइत निर्धारण गरे पनि भाइटीकाको दिन आफैंमा उत्तम दिन भएकाले जुनसुकै बेला टीका लगाउन राम्रो हुने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए।

आम जनमानसमा समितिले नै निर्धारण गरेको समयबाहेक टीका लगाउनु हुँदैन कि भन्ने प्रश्नमा अध्यक्ष अधिकारीले दिनभर नै टीका लगाउन मिल्ने बताए। ‘समितिले निर्धारण गरेको शुभसाइत त छ, कसैलाई बिहान सबेरै जानुपर्‍यो या विदेशकै यात्रा गर्नुपर्‍यो भने के टीका नलगाई हिँड्ने त,’ उनले भने, ‘कोही टाढाबाट आउँदा आउँदै टीका लगाउन ढिलो भयो भनेर टीका नलगाउने होइन नि। यस दिन दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत बिहान ११:०२ बजे रहेको छ।’

समितिले जुराएको उत्तम साइत राज्य प्रमुखका लागि मात्र भएकी अध्यक्ष अधिकारीले प्रष्टीकरण दिए। सर्वसाधरणले आफ्नो समय अनुकूल हेरेर दिनभर नै टीका लगाउन मिल्ने उनले बताए। यद्यपि‚ शास्त्रअनुसार मध्याह्नकालमा लगाउनुपर्ने मान्यता छ।

भाइटीकाको दिन दिनभरि नै राम्रो भए पनि त्यो दिन कुन समय बढी उत्तम भनी उत्तम साइत मानेर निर्धारण गर्ने गरिने अधिकारीले बताए। दिनमा रहेका अमृत, उद्भेग, रोगलगायतका बेला हेरेर शुभ ग्रहको दृष्टिलाई ख्याल राखी ज्योतिषशास्त्र अनुसार शुभ साइत निकाल्ने गरिएको अध्यक्ष अधिकारी बताउँछन्। 

भाइटीकाका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवामिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ।

भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, सप्तरंगी टीका, दुबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख‚ समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटीका कसरी गर्ने?

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ।

दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान‚ सुपारी, फूल आदि दिने चलन छ। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मान्यता रहेको छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ।

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ। त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले सात घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ।

भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति वर्षिन्छ भन्ने मान्यता छ। तिहारमा लगाइने टीका पहेंलो, नीलो, सुन्तला, सेतो, हरियो, रातो र कालो रंगको गरी सात रंगका हुन्छन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ।

रंगैपिच्छे टीकाको महत्व

सप्तरंगी टीका इनद्रेणीको प्रतीक हो। सेतोले शान्तिको सन्देश दिन्छ भने रातो रंग उत्साह उमंग‚ जाँगर‚ साहस र फुर्तिको प्रतीक हो। नीलो रंग आकाशको प्रतीक हो। हाम्रो स्वच्छ र हृदय सफा हुनुपर्छ। मनमा एउटा कुरा मुखमा अर्को कुरा राख्नुहुन्न।

हरियो रंगले आनन्दको संकेत गर्छ। मनमा आनन्द नभइ गरेका काम पूरा गर्न सक्दैनौं। पहेँलो रंग शान्ति‚ सुख, पारस्परिक प्रेमको प्रतीक हो। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ।

तिहारसँग जोडिएको प्रसंग

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएको छ।

यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन्।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.