|

काठमाडौं : नेपाली र्‍यापर युनिक पोएटको नयाँ र्‍याप सार्वजनिक भएको छ।

उनको 'सोच घोच ब्याटल' गीत आइतबार उनकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो। 

सार्वजनिक भएको गीतमा उनले आफैंलाई दुई विपरीत ध्रुवमा उभ्याएर आफैंसँग र्‍याप ब्याटल गरेका छन्।

उनको एउटा म भौतिक संसारको पक्षमा बोलिरहेको छ। पैसा सबै थोक हो, पैसा बिना केही छैन, पैसाले हरेक इच्छा पूरा गर्न सकिन्छ भन्ने उसको तर्क छ। 

अर्को म भने यो भौतिक संसारको कुनै अर्थ छैन, मान्छेले बनाएको पैसाले मान्छेलाई चलाउनु राम्रो होइन भन्ने पक्षमा छ। ब्रह्माण्डलाई आफू र आफैंलाई ब्रह्माण्ड मान्ने तथा आफ्नो लागि यो माटो घर, आकाश छानो रहेको तर्क उसले गरेको छ।

गीतमा एउटा 'म'ले भनेको छ-

बाँचुन्जेलसम्म सोच्छु म
सफलता नै खोज्नु छ
धन बिना त माया नि पाइन्न
त्यसैले पैसा नै रोज्छु म

अर्कोले भनेको छ-

मोर मनी मोर प्रोब्लम्स
तैँले बुझेकै छैनस्
धनको वर्षा गर्ने आशमा
जीवनको छालमा रुझेकै छैनस्

युनिक र अश्विनबिट्सको सहकार्यमा तयार भएको गीतको भिडियोलाई युट्युबमा झण्डै हजारभन्दा बढी पटक हेरिएको छ।

५ सयभन्दा बढीले प्रतिक्रिया दिएका छन्। जसमा सबैजसो सकारात्मक छन्। 

झण्डै एक दशकदेखि हिपहपमा सक्रिय युनिक नेपालका चर्चित र्‍यापरमध्ये गनिन्छन्।

उनका 'अहं ब्रह्माष्मी', 'कालो', 'कालो २.०', 'मेरो देश बिरामी' लगायत गीत चर्चित छन्। 

तीबाहेक युनिकका साकारसँग सहकार्य गरेको 'किङ अफ नेपहप', बालेन र एमसी फ्लोसँगको 'गोर्खाली तोप', ब्लुज र डेनमार्कका र्‍यापर एमसी डेवसँगको 'स्ट्रेट आउट अफ काठमाडौं', भारतीय र्‍यापर इपिआरसँगको 'हिपहप सेभ्ड माई लाइफ' लगायत गीत चर्चित छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.