कानपुरमा जिका भाइरसको पहिलो संक्रमण अक्टोबर २३ मा भारतीय वायु सेनाका एक अधिकारीको परीक्षण गर्दा पुष्टी भएको थियो

|

भारतीय राज्य उत्तर प्रदेशको कानपुरमा जिका भाइरसका बिरामीको संख्या लगातार बढ्दै गएको छ।

कानपुरमा आइतबार एकै दिनमा कम्तीमा १० जना जिका भाइरसका बिरामी भेटिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ।

यससँगै कानपुरमा जिका भाइरसका बिरामीको संख्या ८९ पुगेको कानपुर अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नेपाल सिंहले बताएका छन्।

तीमध्ये १७ संक्रमित बालबालिका छन्। ​कानपुरमा शनिबार १३ जना जिका संक्रमित थपिएका थिए।

स्वास्थ्य अधिकारीहरूले कानपुरमा जिका भाइरसको संक्रमण बढेपछि सरकारी अस्पतालले शहरमा अनुगमन बढाएको र संक्रमण नियन्त्रणका लागि अभियान थालेको बताएका छन्।

कानपुरको उर्सला अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा अनिल निगमले भने, 'अस्पताल र नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छन्। लामखुट्टे बढ्न नदिन कुनाकाप्चामा मच्छर मार्ने औषधि छर्किरहेका छौं।'

स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा जिका संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था गरिएको दाबी गरेका छन्।

यसबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्य संयन्त्रलाई नगरको सरसफाइ तीव्र गतिमा गर्न आदेश दिएका छन्।

उनले सरसफाइका साथै उपचारको उचित प्रवन्ध मिलाउन र डेंगुको परीक्षण तीव्र पार्न पनि आदेश दिएका छन्।

मानिसमा जिका भाइरसको संक्रमण लामखुट्टेबाट सर्छ।

जिका भाइरसबाट संक्रमित एडिस एजिप्टी लामखुट्टेले मानिसलाई टोकेमा यो भाइरस लामखुट्टेबाट मानिसमा सर्छ। एडिस लामखुट्टेले दिउँसोमात्र टोक्ने गर्छ।

जिकाको संक्रमण भए बिरामीमा हलुका ज्वरो, शरीरमा राता दाग आउने, आँखा रातो हुने, मांसपेशी र जोर्नी दुख्ने र टाउको दुख्नेजस्ता लक्षण देखा पर्छन्।

डेंगु, चिकनगुन्यालगायत रोगको संक्रमण पनि एडिस लामखुट्टेले टोकेमा फैलिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.