प्रतिगमनविरूद्ध लड्न मात्रै गठबन्धन : जनमोर्चा

|

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। ओलीविरुद्ध बनेको उक्त गठबन्धन जोगाएर आगामी निर्वाचनमा पार्टीको साख जोगाउने चुनौती गठबन्धनमा रहेका दलहरूलाई छ। 

तर, गठबन्धनमा सामेल नेपाली कांग्रेस आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तता कसरी दिने भनेर अन्योलमै छ। भलै, साविक नेकपा तीन टुक्रा भएको अवस्थामा कांग्रेसले एकलौटी राम्रो नतिजा ल्याउनसक्ने आकलन पनि नहोला भन्ने अवस्था छैन।
 
यता, गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनकै पक्षमा छन्।

एमालेबाट पुरानै अवस्थामा फर्किएको माओवादी केन्द्र, एमालेबाट फुटेको एकीकृत समाजवादी र विभाजनपछिको जसपा र एक सिटमात्र जितेको जनमोर्चालाई निर्वाचनसम्म गठबन्धन अत्यावश्यक छ।  

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आगामी निर्वाचनसम्म गठबन्धनलाई लैजाने बताइसकेका छन्। तर, कांग्रेसका केही नेता एक्लै चुनावमा जानुपर्ने विचार राखिरहेका छन्। यद्यपि‚ उनीहरूको राय व्यक्तिगत भएको बताउँछिन् कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भूसाल। 

गठबन्धनले राष्ट्रिय राजनीतिक मुद्दाहरूमा  साझा धारणा ल्याउन पहल गर्नेसमेत उनले बताइन्। ‘हामी गठबन्धन टुटाउनु हुँदैन भन्ने पक्षमा छौँ‚’ भूसालले भनिन्‚ ‘त्यसैले अब निर्वाचन आउन कति नै छ र? त्यसैले आगामी निर्वाचनसम्म भन्दा पछि पनि निरन्तर अगाडि लैजानुपर्छ भन्ने गठबन्धनको सहमति हो।’

प्रतिगमनविरुद्ध एकजुट भएको हुनाले अहिले भागबण्डाकै लागि मात्र गठबन्धन नभएको उनको दाबी छ। उनी भन्छिन्, ‘गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन र सरकार सञ्चालनमा सहयोग गर्नकै लागि समन्वय समिति निर्माण भएको हो।’ गठबन्धनबीच भएका निर्णयहरू कार्यान्वयनमा सहयोग गर्ने नै समन्वय समितिको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ।

‘हामी गठबन्धन टुटाउनु हुँदैन भन्ने पक्षमा छौँ। त्यसैले अब निर्वाचन आउन कति नै छ र? त्यसैले आगामी निर्वाचनसम्म भन्दा पछि पनि निरन्तर रुपमा अगाडि लैजानुपर्छ भन्ने गठबन्धनको सहमति हो’

त्यसो त गत आइतबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनमा रहेका शीर्ष नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले गठबन्धन दलको गठबन्धन नभई शीर्ष नेताहरूको गठबन्धनजस्तो भएको टिप्पणी गरेका छन्।

पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट रहेका नेता श्रेष्ठले प्रतिगमनविरोधी संघर्षको समयमा गठबन्धनका सबै बैठकमा उपस्थित भएर छलफल गर्ने अवसर अनिवार्य हुनुपर्ने तर्क गरेका छन्। 

गठबन्धनको बैठकमा नेता श्रेष्ठलाई नबोलाएपछि गठबन्धनप्रति असन्तुष्टि जनाउँदै ट्वीटरमा लेखेका थिए, ‘प्रतिगमनविरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो। अनिवार्य जस्तै थियो सहभागिता। संघर्षको सफलतापछि पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरूमा मात्र आमन्त्रणअनुसार भाग लिएको छु।’

‘प्रतिगमनविरुद्ध मात्रै सहमति’

सत्तारुढ गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिगमनविरुद्ध मात्र चार दलसँग एकमत भएको दाबी गर्छन्। 

उनी भन्छन्, ‘हामी गठबन्धनमा मिलेका कुरामा साझा धारणा राख्छौँ। नमिलेको कुरामा आ-आफ्नो धारणा राख्ने काम गछौँ। सरकारले राम्रो काम गर्दा सहयोग रहन्छ। नराम्रो कामलाई साथ दिन सक्दैनौँ भनेर गठबन्धनमा सामेल भएको थियौँ। प्रतिगमन भएपछि हामीले त्यसविरुद्ध लागेको भएर गठबन्धनमा सामेल भएका हौँ।’ प्रतिगमनको खतरा अझै कायमै रहेको उनको भनाइ छ।

‘हामी प्रतिगमनविरुद्ध चार दलसँग सहमति हो। तर, सबै कुरा नमिल्न सक्छ। नमिलेको कुरामा हामी जनताको साथमा गएर हाम्रो कुरा गर्छौँ। एमसिसीको विषयमा पनि अन्य दलभित्र मतभेद कायमै रहेको बेला हामी सडकमा गएकै हौँ,’ अध्यक्ष केसीले सुनाए। 

गठबन्धनमा आलोपालोको खेल चलिरहेको बेलामा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको उनको आरोप छ। सत्ता र शक्तिका लागि जे पनि गर्ने प्रवृत्तिको कारणले मुलुक डुबेको उनको ठहर छ।

राजनीतिक दलकै अस्थिरताको कारणले न्यायपालिका र कार्यपालिकामा समेत समस्या देखिएको उनको भनाइ छ। 

‘संविधान र लोकतन्त्र रक्षा’

गठबन्धनले सरकार सञ्चालनमा सहयोगीको रूपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरेको समन्वय समितिको मुख्य जिम्मेवारी संविधान र लोकतन्त्रको रक्षाको लागि भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। 

मन्त्री कार्कीले सोमबारको गठबन्धनको बैठकपछि भनेका थिए, ‘संविधान र लोकतन्त्रको रक्षा गर्दै सरकारलाई सहज ढंगले अघि बढाउन पहल गर्नकै लागि समन्वय समिति बनाएका हौँ। पछिल्लो समय देशमा देखिएको समस्या र जनताको पक्षमा काम गर्नका लागि गठबन्धन स्थापना भएको हो।’

लोकतन्त्र र संविधानको रक्षा गर्दै जनताको अपेक्षा पूरा गर्ने संकल्पसहित गठबन्धनले निरन्तरता पाउने उनको भनाइ थियो। ‘राष्ट्रियसभा र उपनिर्वाचनका लागि मात्रै गठित होइन। यो लामो समयसम्म जान्छ,’ उनको भनाइ थियो। 

समन्वय समितिको नेतृत्व प्रत्येक दुई महिनामा आलोपालो गर्ने गठबन्धनमा सहमतिसमेत भएको छ। 

सभापति दोहोर्‍याउने दाउमा रहेका देउवाको मुख्य प्रतिस्पर्धी पौडेल नै हुन्। समन्वय समितिको संयोजक बनाएपछि पौडेल सरकारविरुद्ध बोल्ने छाड्ने देउवाको बुझाइ देखिन्छ।  

सोमबार बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। समितिमा ५ दलका २/२ जना प्रतिनिधि रहने छन् भने सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सदस्यमा रहेका छन्। राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन्। दुई दलले थप एक सदस्यको नाम पार्टीमा सल्लाह गरेर दिने बताएका छन्। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम दिएको छ।

देउवाको चलाखी!

कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवाले चलाखी गरेका छन्। सरकार र पार्टीभित्र उनको धेरै आलोचनामा उत्रिने गरेका वरिष्ठ नेता पौडेललाई समन्वय समितिको संयोजक बनाए। सभापति दोहोर्‍याउने दाउमा रहेका देउवाको मुख्य प्रतिस्पर्धी पौडेल नै हुन्।

समन्वय समितिको संयोजक बनाएपछि पौडेल सरकारविरुद्ध बोल्ने छाड्ने देउवाको बुझाइ देखिन्छ। सरकारलाई सफल बनाउनुपर्छ भनेर नै नेता पौडेललाई समन्वय समिति संयोजक बनाएको सभापति देउवानिकट कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा बताउँछन्। 

उनी भन्छन्, ‘आफू नेतृत्वको सरकार सफल बनाउनुका साथै पार्टीभित्र एकताको सन्देश दिनको लागि उहाँले रामचन्द्रजीलाई संयोजक बनाउनुभएको हो।’

प्रचण्डको त्यो प्रयास 

साविकको नेकपा हुँदा ओली नेतृत्वको सरकार रहेका बेलामा पनि प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन पहल गरेका थिए। तर, त्यो बेलामा ओलीले दिएनन्, रोके। 

कोरोना भाइरस संक्रमणले लकडाउन भएपछि प्रचण्डले नियन्त्रणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर आफूले नेतृत्व गर्न चाहेका थिए। ओलीको अवरोधपछि देउवा नेतृत्वको सरकार सञ्चालनका लागि समन्वय समिति त गठन गरे। तर, उनी कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा रहेको समितिको सदस्यमा मात्रै सीमित रहे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.