हत्या आरोपमा ८ जना पक्राउ, अवरुद्ध राजमार्ग खुल्यो

|

धनगढी : कैलालीको लम्कीका भूपेन्द्र बडुवाललाई ट्रयाप (जाल) मा पारेर लखेटी-लखेटी हत्या गरिएको आफन्तले बताएका छन्। चिसापानीका नवीन रावलको समूहले मंगलबार राति बडुवालको हत्या गरेको मृतकका आफन्तले बताएका हुन्। 

संविधानसभा सदस्यसमेत रहेका मृतक भूपेन्द्रका आफन्त भगत बडुवालले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरिएको बताए।

‘विभिन्न अपराधमा संलग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने, ‘नवीन रावलले टीकापुरका शाही थरका एक युवकलाई मार्ने उद्देश्यले भूपेन्द्रलाई प्रयोग गर्न खोजेको देखिन्छ।’

शाही थरका युवकलाई भूपेन्द्रमार्फत बोलाउने र मार्ने गोप्य योजना नवीन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मार्ने योजनाबारे भूपेन्द्र जानकार थिएनन्’, बडुवालले भने,‘टीकापुरमा नवीनको गिरोहका युवक जम्मा भएको देखेपछि भूपेन्द्रले सम्भावित खतरा आँकलन गर्दै भागेर उम्कन खोज्दा नवीनको गिरोहले धारिलो हतियार प्रयोग गरेर भूपेन्द्रको हत्या गरेको हो। शाहीको हत्या योजना बाहिरिने डरले ट्रयापमा पारेर लखेटी-लखेटी बडुवालको हत्या गरिएको हो।’ 

विभिन्न घटनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आवद्ध रहेको स्थानीयले बताएका छन्। दुबै समूहले एकअर्कालाई भेट्नासाथ भौतिक आक्रमण गर्ने गरेका थिए।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आरोपित नवीन भने फरार रहेको बताए। ‘नवीन यसअघि पनि विभिन्न घटनामा संग्लन रहेको बुझिएको छ,’ उनले भने, ‘बडुवालको हत्यामा पनि आरोपित छन्। उनको खोजी भइरहेको छ।’

रावलका बुवा, आमा र भाइलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। 

हत्यामा प्रयोग भएको हतियार बरामद

बडुवालको हत्यामा प्रयोग भएको हतियार बरामद गरिएको छ। टीकापुरस्थित घटनास्थल नजिकै पेट्रोल पम्पको छेउमा हतियार बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको बताए।

‘यसअघि चक्कु प्रहारबाट ज्यान गएको जानकारी आएको थियो,’ सापकोटाले भने, ‘तर घटनामा खुकुरी प्रयोग भएको रहेछ। घटनास्थल नजिकैबाट खुकुरी बरामद भएको छ।’ हत्यामा संग्लन भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। 

पूर्वपश्चिम राजमार्गमा दिनभर तनाव

बडुवालको हत्या भएपछि पूर्वपश्चिम राजमार्ग दिनभर तनावग्रस्त भएको छ। मृतकका आफन्तले बुधबार बिहानैदेखि अवरुद्ध पारेको राजमार्ग अपरान्हबाट खुलेको छ। 

उनीहरुले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन्। बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जानुपर्ने सबै सवारी साधन लम्कीमा रोकिएका थिए।

प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भैरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.