हत्याअघि पक्राउ परेका थिए ३ जना, बडुवाल दम्पतीमाथि बज्रपात

|
भूपेन्द्र बडुवालको हत्याका आरोपितहरू। तस्वीर : टेकसिंह धामी

धनगढी : कैलालीको लम्कीका भूपेन्द्र बडुवालमाथि आक्रमण हुनअघि नै ‘ग्याङ फाइट’ हुने खबर प्रहरीले प्राप्त गरेको पाइएको छ।

मंगलबार राति नै टीकापुरमा विभिन्न समूहबीच ग्याङ फाइट हुने सूचना प्रहरीले प्राप्त गरेको पाइएको हो। तर ती समूहमा भूपेन्द्र भने आबद्ध नरहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार ग्याङ फाइट हुने सूचनापछि त्यो रात एक समूहका ३ जनालाई नियन्त्रणमा समेत लिइएको थियो।

‘भूपेन्द्रमाथि आक्रमण हुनुअघि ग्याङ फाइटको सूचना पाएपछि हामीले ३ जनालाई पक्राउ गरेका थियौं,’ नायब उपरीक्षक सापकोटाले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका टीकापुरका युवा र लम्की–चिसापानीमा सक्रिय नविन रावल नेतृत्वको समूहबीच ग्याङ फाइटको तयारी भइरहेको खुलेको छ।’

भूपेन्द्रको हत्या आरोपमा पक्राउ परेकाहरू। तस्वीर : टेकसिंह धामी

भूपेन्द्रमाथि आक्रमणअघि पक्राउ परेकाबाट ठूलो मात्रामा घरेलु हतियार पनि बरामद भएको थियो।

प्रहरी स्रोतका अनुसार भूपेन्द्र भने कुनै पनि ग्याङमा आबद्ध थिएनन्। उनीसँग न्यौपाने थरका एकजना मात्र साथी थिए।

कपिल श्रेष्ठले अनेकौं पटक फोन गरेर बोलाएपछि मात्रै भूपेन्द्र टीकापुर पुगेका थिए। फोन गरेर बोलाउने श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ।

कपिलसँग आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले थिए।

घटनास्थलमा फेला परेको खुकुरी भने हत्यामा प्रयोग नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यामा चक्कु प्रयोग भएको प्रहरीले जनाएको छ।

हत्या हुनुअघि बडुवाल २७ पटक फोन

बडुवाल हत्या प्रकरणमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

हत्याका अन्य ३ जना आरोपित भने अझै फरार छन्।

बडुवालको हत्या हुनुअघि उनलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ। फोन कलमा उनले बडुवाललाई जसरी पनि भेट्न आउनु भनेको पाइएको छ।

प्रहरी स्रोतका अनुसार कपिल र बडुवालबीच मंगलबार भेट भने नभएको पाइएको छ। बडुवालमाथि आक्रमण गर्दा उनीसँगै न्यौपाने थरका एक साथी थिए। न्यौपाने भने ज्यान जोगाउन सफल भए।

२७ पटक फोन गर्ने कपिलले आफूले ‘थ्रेट’ महसुस गरेपछि भूपेन्द्रलाई बोलाएको प्रहरीसँग बताएका छन्। कपिलको भूमिका पनि प्रहरीको शंकाको घेरामा छ।

उनलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ। भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बडुवाल दम्पतीमाथि बज्रपात

मंगलबार रातिदेखि डम्बर र भावना बडुवाल पुत्र वियोगको पीडाले सम्हालिन सकेका छैनन्।

छोरा भूपेन्द्रलाई अल्पायुमा गुमाउनुपर्दा उनीहरु अचेतजस्तै छन्।

भावना भक्कानिँदै परिवारको एक्लो छोरा भूपेन्द्रलाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्।

छिमेकी र इष्टमित्रले दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पतीको आँसु थामिएको छैन।

छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तीर्ण गरेपछि मंगलबार दिउँसोसम्म दंग थियो बडुवाल परिवार।

कैलालीको लम्कीमा व्यवसाय गर्दै आएका डम्बर पनि छोरालाई अमेरिका पठाउन चाँजोपाँजो मिलाउनमा व्यस्त थिए।

शोकसंतप्त बडुवाल परिवार। तस्वीर : टेकसिंह धामी

१/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनजस्तै परिवारका सदस्यले खाना खाइसकेका थिए।

डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाएपछि छोरा घर बाहिर गएको हो। विभत्स हत्या होला भनेर सोच्न पनि सकिएन्।’

उनका अनुसार लम्की–चिसापानी र टीकापुरको छुट्टाछुट्टै समूह आपराधिक गतिविधिमा लामो समयदेखि सक्रिय छ।

‘भाषा परीक्षा गरेर छोरा अमेरिका जाने तयारीमा थियो, उसले दुवै ग्याङमा सक्रिय हुन नमानेपछि विभत्स हत्या गरिएको हो,’ डम्बरले भने, ‘अब यस्तो पीडा कसैले भोग्नु नपरोस्‌। तर त्यसका लागि आपराधिक गतिविधिमा सक्रिय सबैलाई हदैसम्मको कारबाही हुनुपर्छ।’

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै खुकुरी प्रहार गरेर भूपेन्द्रको निर्मम हत्या भएपछि अहिले सिंगो लम्की शोकमा डुबेको छ।

प्रहरी भन्छ– दोषी सबैलाई कारबाही हुन्छ

बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई कैलाली प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको जनाएको छ।

दोषी सबैलाई हदैसम्मको कारबाही हुने प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.