|
फाइल तस्वीर

सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।

परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पदमुक्त गरेको थियो।

रोल्पामा जन्म‚ भारतमा पढाइ

परियार जन्म रोल्पाको लिबाङमा २००० कात्तिक १५ मा भएको थियो। दलित परिवारमा जन्मिएका उनले दलित समुदायले गर्ने परम्परागत पेशा पनि गरेका थिए।

उनले लिबाङकै बालकल्याण प्राथमिक विद्यालय पाठशालामा कखरा सिके। रोजगारीका लागि भारत गएका दाजुले पठाएको चिट्ठी पढ्थे। चिट्ठी पढ्ने क्रममा दाजुजस्तै भारतमै जागिर खान जाने सपना देखेको उनले बताए।

त्यो बेला गाउँघरमा जातीय विभेद धेरै थियो। त्यही कारण उनी २०१३ सालमा भारतको हिमाञ्चल प्रदेश गए। उनले भारतमै पढाण सुरु गरे। भारत गएको झण्डै ६ वर्षपछि उनी गाउँ फर्किए। फेरि भारत गएका उनले मेट्रिक तहको पढाइ त्यतै पूरा गरे। उनको उच्च शिक्षा पनि भारतमै भएको थियो।

भारतमै कम्युनिष्ट पार्टीको सदस्य

भारतमा उच्च शिक्षा लिने क्रममा परियारले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। पार्टी सदस्यता लिएलगत्तै उनी २०२२ सालमा नेपाल फर्किए।

नेपाल फर्किएपछि उनले केही समय आफूले पढेकै विद्यालयमा पढाउको अवसर पाए। त्यसपछि फेरि भारत फर्किए। त्यसपछि भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिए। त्यसबेला नेपालका कम्युनिष्ट पार्टीमा विभाजन तीव्र थियो।

उनी मोहनविक्रम सिंहको नेकपा सामेल भए। त्यसपछि चौंथो महाधिवेशनमा लागे। कम्युनिष्टको फुटसँगै उनी पनि विभिन्न गुटमा सामेल हुँदै गए। अहिले प्रचण्डको अध्यक्षतामा रहेको माओवादी केन्द्रमा आवद्ध छन्। यो अवधिमा उनी मन्त्री र प्रदेश प्रमुख भइसकेका छन्।

पञ्चायतदेखि द्वन्द्वकालसम्म जेल

राजनीतिक जीवनमा परियारले थुप्रैपटक जेल जीवन भोगेका छन्। उनी पञ्चायती शासन व्यवस्थामा पनि उनी जेल बसेका थिए। यस्तै‚ तत्कालीन नेकपा (माओवादी)को सशस्त्र द्वन्द्वका क्रममा उनी जेल परेका हुन्।

उनी बाँके १ बाट तत्कालीन नेकपा माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन्। तत्कालीन विद्रोही नेकपा (माओवादी) शान्ति प्रक्रियामार्फत सरकारमा आउँदा उनी मन्त्री भएका थिए। यस्तै‚ २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए। तर‚ नेकपा विभाजनपछि ओली सरकारले उनलाई २०७७ फागुन ७ मा पदमुक्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.