|

जब एल्भिस प्रिज्ले गिटार लिएर मञ्चमा उक्लन्थे, उनलाई सुन्न, हेर्न भनेर बनेको भिडमा एउटा अनौठो ऊर्जा सञ्चार हुन्थ्यो। उनी माइक अगाडि उभिन्थे केही सेकेन्डका लागि उनका दर्शकको श्वास रोकिन्थ्यो।

गिटारको धुनसँगै एल्भिस गाउन सुरु गर्थे, विस्तारै उनको शरीरले पनि गीत गिटार र गीतसँगै लय मिलाउन थाल्थ्यो। एल्भिससँगै उनका दर्शक पनि रक एण्ड रोल गर्न थाल्थे। कोही भक्कानिएर रुन्थे कोही खुसीले भुइँ छोडिरहेका हुन्थे। 

उनको गीत मात्र होइन उनको बोल्ने, हेर्ने, हिँड्ने तरिका, कपाल, कपडा हरेक कुरा त्यो बेलाको चर्चाको विषय हुन्थ्यो। मानिसहरू उनलाई एक नजर देख्‍न माइलौँ दूरी पार गरेर आउँथे, सबै कामधन्दा छोडेर उनको लागि हप्तौँ खर्चिन सक्थे। 

 

संगीतसँग साक्षात्कार

सन् १९३५ जनवरी ८ मा अमेरिकाको टुपेलो मिसिसिपीमा जन्मेका एल्भिस सानैदेखि संगीतमा रुचि राख्थे। सानो छँदा बुवा आमासँग चर्चमा गएको बेला उनले आफूभित्र रहेको संगीतसँग पहिलोपटक साक्षात्कार भए।

एल्भिस पढाइमा औसत थिए। कहिलेकाहीँ गृहकार्य नगर्दा, पढेर आउन भनेको पाठ नजान्दा सजाए पनि पाउँथे। एकदिन शिक्षकले सोधेको प्रश्नको सही उत्तर नजानेपछि उनलाई सजाएको रूपमा गाउन पठाइयो। उनको आवाज त्यो शिक्षकलाई यति मनपर्‍यो कि उनले एल्भिसलाई बच्चाहरूको गायन प्रतियोगितामा प्रतिस्पर्धीको रूपमा सहभागी गराए। 

१० वर्षका एल्भिस सँगैका अरू साथीभन्दा होचा थिए। गाउने माइक आफूभन्दा धेरै अग्लो भएपछि गीतको थिमअनुसार काउ बोइको गेटअपमा आएका उनी कुर्सीमा चढेर रेड फोलीको कन्ट्री सङ 'ओल्ड सेप' गाए। मञ्चमा गएर गाएको एल्भिसको जिन्दगीको पहिलो गीत त्यही थियो। उक्त प्रतियोगितामा उनी पाचौँ भएका थिए। 

द्‍याट्स अल राइट

उमेर बढ्दै जाँदा उनको संगीतप्रतिको प्रेम पनि बढ्दै गयो। विशेष गरी उनी अमेरिकी लोकगीत संगीत (कन्ट्री) र रिदम एण्ड ब्लुज(अफ्रिकन अमेरिकन संगीत) जनराका गीत गाउने गर्थे। 

त्यसपछि उनको भेट साम फिलिप्ससँग भयो जो त्यो बेला भर्खरै उदाउँदै गरेका रेकर्ड प्रोड्युसर थिए। साम अफ्रिकन अमेरिकन संगीतलाई धेरै मान्छेहरूमाझ चिनाउन चाहन्थे। एल्भिसले पनि त्यस्तै गीतहरू गाउछन् भन्ने थाहा पाएपछि उनले सन् १९५४ मा एल्भिसलाई गीत रेकर्डिङको अफर गरे। 

जुलाई १९, १९५४ मा रेकर्ड भएको 'द्‍याट्स अल राइट' एल्भिसको पहिलो गीत हो। जतिबेला उनी १९ वर्षका थिए। 

२१ वर्षमै किङ अफ रक एण्ड राेल

पहिलो गीत रेकर्ड गराएको दुई वर्षमा उनको गिटारिष्ट, बेस गिटारिष्ट, ड्रमरसहितको एउटा बलियो ब्याण्ड तयार भइसकेको थियो। 

सन् १९५६ मा उनको 'हर्टब्रेक होटल' सार्वजनिक भयो। जुन गीत उनको करिअरको टर्निङ पोइन्ट बन्यो। एक वर्षमा एक करोडभन्दा बढीप्रति बिक्री भएको गीत 'हर्टब्रेक होटल' अमेरिकाको सबैभन्दा हिट गीत बन्यो। त्यही गीतसँग एल्भिस टेलिभिजनमा पनि छ्यापछ्याप्ती देखिन थाले। त्यही गीतले अमेरिकामा रक एण्ड रोल जनरालाई चर्चित बनायो। त्यही गीतले एल्भिसलाई २१ वर्षको उमेरमै किङ अफ रक एण्ड रोल बनायो। 

त्यसपछि एल्भिस संगीत आकाशमा चम्किँदै मात्र गए। त्यसपछि सार्वजनिक भएका 'ब्लु सेड सुज', 'आर यु लोनसम टुनाइट', 'जेलहाउस रक', 'द मिल्टन बर्ल शो', 'हाउण्ड डग'लगायतका गीतले उनी विश्वभर चिनिन थाले।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार एल्भिसको सर्वाधिक बिक्री हुने गायकको कीर्तिमान अहिलेसम्म पनि कसैले तोड्न सकेको छैन।  विश्वभर उनका करिब एक अर्ब जति  एल्बम तथा गीत बिक्री भएका छन्। उनलाई ३६ वर्षको उमेरमै ग्रामीले लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको थियो।

रहस्यमयी मृत्यु

सन् १९७७ अगष्ट १६ मा उनकै बाथरुममा एल्भिसको मृत शरीर भेटियो। सबैभन्दा पहिले उनको मृत्युको कारण हृदयाघात बताइयो। त्यसपछि उनको शरीरमा ठूलो मात्रामा ड्रग्स भेटिएको र मृत्युको कारण पनि त्यही रहेको बताइयो। अर्काथरी जो यी दुवै कुरा मान्न तयार थिएनन् उनीहरूले यसको पछाडि ठूलो षड्यन्त्र रहेको भन्दै फेरि अनुसन्धान गर्न माग गरे।

एल्भिसको मृत्युको १७ वर्षपछि उनको पोष्टमार्टम फाइल फेरि खोलियो र उनको मृत्युको करण हृदयाघात नै रहेको भनेर फाइल बन्द गरियो। तीबाहेक पनि एल्भिसको मृत्युका बारेमा अनेक अडकल काटियो। तर, उनको मृत्युको वास्तविक कारण के थियो भनेर आजसम्म पनि थाहा लाग्न सकेको छैन।

सांगीतिक करिअर उत्कर्षमा रहँदा रहँदै एल्भिस प्रिज्ले, 'किङ अफ रक एण्ड रोल'को ४२ वर्षको उमेरमै निधन भयो।

भौतिक रूपमा एल्भिसले संसार छोडेर गए पनि उनका भनाइहरू आज पनि उत्तिकै चर्चित छन्। उनी भन्ने गर्थे, 'तिमीले  नचिनेको, नबुझेको मान्छेको आलोचना कहिल्यै नगर। किनकि तिमी उसको जुत्ता लगाएर कहिल्यै हिँडेका छैनौ।' 

झण्डै २५ वर्षको सांगीतिक करिअरमा उनले ७ सयभन्दा बढी गीत रेकर्ड गराए। जसमध्ये सबैभन्दा बढी बिक्री भएको गीत 'कान्ट हेल्प फलिङ इन लभ' हो। 
उक्त गीतमा एल्भिसले भनेका छन्,

विद्वान् भन्छन्
हतार हुन्छ केवल मूर्खलाई
तर, तिमीसँग प्रेम नगर्न मैले सकिनँ
म जाउँ कि बसौँ
यो पाप हो कि पुण्य थाहा छैन
तर, जति प्रयास गरे पनि तिमीसँग प्रेम नगरिरहन सकिनँ

एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.