|

डडेल्धुरा : अष्ट्रेलियाली क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड अहिले चर्चाको शिखरमा छन्।

युएईमा जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा पाकिस्तानविरुद्ध आक्रामक ब्याटिङ गरेकाले उनको चर्चा चुलिएको हो।

उनले आक्रामक ब्याटिङ गर्दै टिमलाई फाइनलमा पुर्‍याए।

हारको संघारमा पुगेको अष्ट्रेलियालाई फाइनलमा पुर्‍याउन उनको भूमिका अहम् रह्यो।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका ३३ वर्षीय वेडले मात्र १७ बलमा ४ छक्का र २ चौकासहित नटआउट ४१ रनको उत्कृष्ट पारी खेले। उनी ‘म्यान अफ द म्याच’ समेत बने।

उनले १९औँ ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का हिर्काउँदै अष्ट्रेलियालाई उपाधिनजिक पुर्‍याए।

अष्ट्रेलियालाई अब पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्ने अवसर छ। उसले ६ वटा संस्करण सकिँदासम्म उपाधि उचाल्न सकेको छैन।

सन् २०१० मा पहिलो पटक फाइनलमा पुगेको अष्ट्रेलिया इंग्ल्यान्डसँग हारेको थियो। इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।

फुटबल खेलाडी

वेडको जन्म २५ डिसेम्बर १९८७ मा अष्ट्रेलियाको होबर्टमा भएको थियो।

उनी अस्ट्रेलियाली फुटबलर स्कट वेडका छोरा हुन्। उनका बुवाले तस्मानियाको फुटबल लिगमा क्लेरेन्स र होबार्टको लागि भिक्टोरियाको फुटबल लिगमा हथर्नका लागि खेले। एएफएल तस्मानियाको सिइओको रूपमा काम पनि गरे।

उनका हजुरबुबा माइकल वेडले होबार्ट फुटबल क्लबको अध्यक्षको रूपमा काम गरे। वेड कलिङवुड फुटबल क्लबका डिफेन्डर जेरेमी होवेका भाइ हुन्।

वेडले जुनियर क्रिकेट र जुनियर फुटबलमा तस्मानियाको प्रतिनिधित्व गरे।

टिएसी कपमा टासी मारिनर्सको उपकप्तान बने। जहाँ उनले भविष्यका अस्ट्रेलियाली फुटबल लिग खेलाडीहरू साम लोनरगन, ग्रान्ट बिरचल र ज्याक रिवोल्डसँग खेले। 

क्यान्सर र क्रिकेट

१६ वर्षको उमेरमा फुटबल खेल्ने क्रममा उनको कम्मरमा चोट लागेको थियो। त्यो सानो चोट जस्तो देखिन्थ्यो।

वेडले तत्काल कुनै स्वास्थ्य परीक्षण गराएनन्। दिन बित्दै जाँदा केही सुन्निएपछि उनी उपचारका लागि डाक्टरकहाँ गए।

चेकअपका क्रममा डाक्टरले ट्युमर भएको पत्ता लगाए। उनलाई टेस्टिकुलर क्यान्सर भएको परीक्षणबाट देखियो।

क्यान्सर पराजित गर्न दुई चरणमा केमोथेरापी गर्नु आवश्यक थियो।

केमोथेरापीको २ चरण पार गरेपछि रोगमुक्त भएका उनले कहिल्यै हरेश खाएनन्।

त्यसपछि फुटबल खेल्ने छाडेर उनले क्रिकेटमात्र खेलिरहे। उनले सन् २००६ को आइसिसी अन्डर–१९ क्रिकेट विश्वकपमा अष्ट्रेलियाको प्रतिनिधित्व गरे।

अन्तरराष्ट्रिय क्रिकेटमा प्रदर्शन

घरेलु सीमित ओभरको क्रिकेटमा सफलतापछि वेडले अक्टोबर २०११ मा दक्षिण अफ्रिकाविरुद्ध टी–२० अन्तरराष्ट्रिय खेलमा डेब्यू गरे।

फेब्रुअरी सन् २०१२ मा उनले मेलबर्न क्रिकेट ग्राउन्डमा भारतविरुद्ध एकदिवसीय अन्तरराष्ट्रियमा डेब्यू गरे।

भारतविरुद्ध ६९ बलमा ६७ रन बनाएर डेब्यू खेलमै ‘म्यान अफ द म्याच’ बने।

शृंखलाको दौरान उनले अष्ट्रेलियाको सीमित ओभरमा पहिलो रोजाइको विकेटकीपरको रूपमा आफ्नो स्थान बनाए।

वेड २०११/१२ को वेस्ट इन्डिज भ्रमणका लागि सीमित ओभरको विकेटकिपरको रूपमा अष्ट्रेलियाली टोलीको हिस्सा थिए।

यद्यपि, टेस्ट विकेटकीपर ब्राड ह्याडिन टेस्ट म्याचअघि घर फर्केपछि उनको स्थानमा वेडलाई छनोट गरियो। 

उनले बार्बाडोसमा वेस्ट इन्डिजविरुद्ध ७ अप्रिलमा आफ्नो टेस्ट डेब्यू गरे।

रोसेउमा भएको तेस्रो टेस्टमा आफ्नो पहिलो टेस्ट शतक (१०६) बनाए। 

त्यसपछि वेडलाई नोभेम्बर २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाको टेस्ट शृंखलाका लागि चयन गरिएको थियो।

उनले श्रीलंकाविरुद्धको घरेलु शृंखला र भारतको भ्रमणमा टिममा आफ्नो स्थान पक्का बनाइसकेका थिए।

उनले सिड्नीमा श्रीलंकाविरुद्ध तेस्रो टेस्टमा आफ्नो दोस्रो टेष्ट शतक बनाएका थिए।

राष्ट्रिय टोलीमा 'ओहोरदोहोर'

यद्यपि, सन् २०१३ को एशेज शृंखलामा वेड टिममा परेनन्। उनको स्थान ब्राड ह्याडिनले लिए।

उनले केही समयका लागि वनडे विकेटकीपरको रूपमा आफ्नो स्थान कायम राखे।

पछि ह्याडिन अष्ट्रेलियाको सन् २०१५ क्रिकेट विश्वकप टोलीबाट बाहिरिए।

२०१४/१५ को अन्त्यमा ह्याडिनको सन्यासपछि वेडलाई सन् २०१५ मा इंग्ल्याण्डविरुद्ध टी–२० र वानडे शृंखलाका लागि टोलीमा फिर्ता बोलाइएको थियो। 

पिटर नेभिलले टेस्ट विकेटकिपिङको जिम्मेवारी गुमाएसँगै साढे ३ वर्षपछि वेड टेस्ट टोलीमा फर्किए। 

१३ जनवरी २०१७ मा ६ खेलको शृंखलाको पाकिस्तानविरुद्धको पहिलो एकदिवसीयमा वेडले आफ्नो पहिलो एकदिवसीय शतक बनाए।

अष्ट्रेलियाको इनिङ्सको अन्तिम बलमा उनले सय रन बनाएका थिए।

चोटले दिएको दुःख

२७ जनवरीमा उनलाई न्युजिल्यान्डविरुद्ध शृंखलाका लागि अष्ट्रेलियाको एकदिवसीय कप्तानको रूपमा जिम्मेवारी दिइयो।

नियमित कप्तान स्टिभ स्मिथ घाइते भएपछि उनले त्यतिबेला कप्तानी पाएका थिए।

तर, उनी पहिलो एकदिवसीय खेलका लागि फिट नभएकाले टोलीबाट बाहिरिए।

आरोन फिन्चलाई उक्त म्याचको लागि स्ट्यान्ड–इन कप्तान बनाइयो।

त्यो शृङ्खलाको दोस्रो एकदिवसीय खेलअघि वेड ढाडको चोटका कारण सिरिजबाट बाहिरिएका थिए। बाँकी खेलमा फिन्चले कप्तानी जारी राखेका थिए।

जुलाई २०१९ मा गोलीगाँठाको चोटका कारण प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएका उस्मान ख्वाजाको कभरको रूपमा वेडलाई सन् २०१९ क्रिकेट विश्वकपको लागि अष्ट्रेलियाको टोलीमा थपियो।

एशेजमा शतक

जुलाई २०१९ मा उनलाई इंग्ल्याण्डमा भएको एशेज सिरिजका लागि अष्ट्रेलियाको टोलीमा राखिएको थियो। वेडले सबै ५ खेलमा खेले।

१० इनिङमा ३३ दशमलव ७० औसतमा ३ सय ३७ रन बनाए। जसमा २ शतक थिए। शृंखला २–२ को बराबरी सकिएको थियो। 

अप्रिल २०२० मा क्रिकेट अष्ट्रेलियाले २०२०/२१ सिजन अगावै वेडसँग सम्झौता गरेको थियो।

१६ जुलाई २०२० मा वेडलाई २०२०/२१ महामारीपछि इंग्ल्याण्डको सम्भावित भ्रमणअघि प्रशिक्षणमा २६ सदस्यीय प्रारम्भिक टोलीमा राखिएको थियो।

६ डिसेम्बर २०२० मा वेडले पहिलो पटक अष्ट्रेलिया टी–२० टिमको कप्तानी गरे। आरोन फिन्च चोटले खेलबाट बाहिरिएपछि भारतविरुद्ध टोलीको नेतृत्व गरे। 

अगस्ट २०२१ मा उनलाई बंगलादेशविरुद्ध ५ खेलको टी–२० शृंखलाका लागि अष्ट्रेलियाको कप्तान नियुक्त गरियो।

सोही महिनापछि वेडलाई सन् २०२१ आइसिसी पुरुष टी–२० विश्वकपको लागि अष्ट्रेलियाको टोलीमा विकेटकिपरको रूपमा मौका पाएका थिए। र, उनले त्यो जिम्मेवारी पूरा गरिरहेका छन्।

वेडले बनाएको रन

वेडले अष्ट्रेलियाका लागि हालसम्म ३६ टेष्ट, ९७ वनडे र ५४ टी–२० म्याच खेलेका छन्।

उनले टेष्ट क्रिकेटमा ५ अर्धशतक र ४ शतकसहित १ हजार ६ सय १३ रन बनाएका छन्।

यस्तै, उनले वनडेमा ११ अर्धशतक र १ शतकको मद्दतमा १ हजार ८ सय ६७ रन जोडेका छन्।

वेडले टी–२० मा अष्ट्रेलियाका लागि ७ सय २९ रन बनाएका छन्। जसमा ३ अर्धशतक समावेश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.