|

कञ्चनपुर : कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गर्दै संघर्ष अघि बढाउने भएका छन्।

सुकुम्बासी, भूमिहीन, दलित, आरक्षपीडित, मुक्त कमैया, महिला तथा अव्यवस्थित बसोवासीहरू संगठित भएर जग्गामा स्वामित्वको माग गर्न थालेका हुन्।

सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई तत्काल काम अगाडि बढाउन दबाब दिन ७ सदस्यीय केन्द्रीय संघर्ष समितिसमेत गठन गरेका छन्।

संघर्ष समितिको संयोजकमा बहादुरसिंह महरा, सदस्यमा बलबहादुर डाँगी (सुकुम्बासी), गोविन्द नेपाली (आरक्ष पीडित), चम्फादेवी सार्की (भूमिहिन दलित) सिताकुमारी डगौरा (मुक्त कमलरी), लाहुरे डगौरा (मुक्त कमैया) र कर्णबहादुर बानिया (अव्यवस्थित बसोवासी) छन्।

‘सुकुम्बासी, भूमिहीन, दलित, आरक्षपीडित, मुक्त कमैया महिला तथा अव्यवस्थित बसोवासीका नाममा पटक पटक आयोग, कार्यदल बन्ने र काम नगरिकनै विघटन गर्ने मात्र दोहोरिन मात्र थालेका छन्,’ संयोजक महराले भने, ‘वर्षौंदेखि भूमिको समस्यालाई ज्यूँका त्यूँ राखिने गरिएको छ। पीडितहरुलाई निर्वाचनका बेला गुलिया आश्वासन दिएर समस्यालाई बल्झाउने काम मात्र हुँदै आएको छ।’

समस्या समाधानका लागि दबाब दिन र शान्तिपूर्ण संघर्षका कार्यक्रम अगाडि बढाउन संघर्ष समिति गठन गरिएको उनले बताए। पीडितहरूको बृहत भेला गरी संघर्ष समिति गठन गरिएको उनको भनाइ छ।

राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर संघर्षका कार्यक्रम निरन्तर अघि बढाइने उनले बताए।

भूमि समस्या समाधान नगरिए चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने उनीहरूले बताएका छन्।

कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी छन् भने ३ हजार १ सय ५१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.